• शनिबार-माघ-१२-२०८१

सुदूरपश्चिम र एपीएफ प्रधानमन्त्री कपको फाइनलमा भिड्दै



फाप्ला (कैलाली), ११ माघ : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब भिड्ने भएका छन् । आज सम्पन्न सुपर फोरको अन्तिम  खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो । 

 

सुदूरपश्चिमको जितमा रितु कनौजियाले अलराउन्ड प्रदर्शन गरिन् । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १२ रन बनायो । जसमा रितुले अविजित ३४ र मनिषा बोहराले १६ रन जोडिन् । 

 

सुदूरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा बागमतीका लागि मनिषा उपाध्याय र सोनु खड्काले तीन–तीन  र विपिशा शाहीले एक विकेट हात पारिन् ।  जितका लागि पाएको एक सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमा अलआउट भयो ।

 

बागमतीका यशोदा विष्टले ३० र हिलिसा गुरुङले २३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका कविता कुँवर र करिष्मा थापाले दुई–दुई र रितु कनौजिया र आशिका महराले एक–एक विकेट हात पारिन् । रितु प्लेयर अफ द म्याच चुनिइन् । 

 

आजको हारसँगै बागमती प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा पुगेको सुदूरपश्चिमले एपिएफसँग फाइनलमा भिड्ने छ । यसअघि आजै भएको अर्को सुपर फोरको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले  हराएर फाइनलमा पुगेको छ । उपाधि भिडन्त शनिबार बिहान १० बजे हुनेछ । 

 

यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

 

प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५–२५ हजार पुरस्कार प्राप्त गर्नेछन् । 
---

 

 

प्रतिकृया दिनुहोस