• शनिबार-माघ-१२-२०८१

बराहपोखरीले सुरु गर्‍यो आफ्नै प्रशासनिक भवनबाट सेवा

 

खोटाङ, ११ माघ : बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट सुरुआत गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधासम्पन्न चारतले प्रशासनिक भवन निर्माण गरी सेवा सुरु गरिएको हो ।

 

गाउँपालिका र सङ्घीय सरकारको रु छ करोड १० लाख लगानीमा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाडौँले ठेक्कामार्फत प्रशासनिक भवन निर्माण गरेको पालिका कार्यालयले जनाएको छ । पालिकाको ५५ प्रतिशत र सङ्घीय सरकारको ४५ प्रतिशत लगानीमा प्रशासनिक भवन निर्माणको काम सम्पन्न गरिएको हो ।

 

सङ्घीय सरकारले ६० र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाएको गाउँपालिकाका प्रमुख शालिकराज बञ्जराले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले भने जति रकम उपलब्ध गराउन नसक्दा भवन निर्माण केही समय ढिलाइ भएको थियो । “निर्माण सुरु गरिएको भवन अलपत्र हुने अवस्था आएपछि गाउँपालिकाबाट १५ प्रतिशत लगानी थप गरेर काम सम्पन्न गर्‍यौँ”, उहाँले भन्नुभयो । 

 

भवनको भुइँतला र पहिलो तलामा छ–छ कोठा, दोस्रो तलामा सात कोठा र तेस्रो तलामा सभाहलसहित तीन कोठा रहेका गाउँपालिकाका इञ्जिनियर हिमाल कार्कीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/७८ मा बोलपत्र आह्वान भएर विसं २०७८ कात्तिक ७ गते गाउँपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो । 

 

नवनिर्मित भवनको औपचारिक रूपमा आज कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृति झाँकी पनि प्रस्तुत गरिएको थियो । 

 

दश स्थानीय तह रहेको जिल्लाका अन्य पालिकाले पनि प्रशासनिक भवन निर्माणलाई तीव्रता दिएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन सम्पन्न भइसेको छभने रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपलिका र जन्तेढुङ्गा गाउँपालिकाले यसअघि प्रशासनिक भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेका छन् ।
---

 

प्रतिकृया दिनुहोस