• बिहीबार-पौष-११-२०८१

मन्त्रीहरूको स्वार्थ पूरा नहुँदा सचिव फेर्न दबाब

 

काठमाडौं । सचिव सरुवामा प्रधामन्त्री केपी ओलीको अरुची देखिंदा केही मन्त्रालयको कामकारबाही ठप्पजस्तै हुन पुगेको छ । आफूनिकट मन्त्रीहरुले गुनासो गर्नेबित्तिकै छोटो समयमै सचिव सरुवा गर्दैआएका प्रधानमन्त्री ओलीले कांग्रेसका केही मन्त्री र आफ्नै पार्टीका मन्त्रीहरुको गुनासोलाई समेत बेवास्ता गर्दैआएका छन् । जसका कारण ती मन्त्रालयमा मन्त्री र सचिवबीच द्वन्द्व बढ्दै जाँदा कामकारबाही नै ठप्प हुन पुगेको छ । 


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सो मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई सरुवा गरिदिन र अर्कोलाई पठाइदिन अनुरोध गरेको महिनौं भइसकेको स्रोत बताउछ । तर, गुप्ताको माग सम्बोधन भएको छैन  । एमालेका महासचिव शंकर पोखरेलका जिल्लाबासी सुवेदी उनैको जोडबलमा सामान्य प्रशासन मन्त्रालयको सचिव बनेका थिए । तर, सामान्यमा सरुवा भएदेखि नै मन्त्री र सचिवबीच कुरा नमिल्दा कर्मचारी सरुवामा करोडौ असुल्ने मन्त्रीको चाहना पूरा हुन नसकेको चर्चा छ । गुप्ताले जबर्जस्ती हस्तक्षेप गरेर २०८१ भदौमा गरेको १२ सय ५० कर्मचारीको सरुवा ठूलो विवादमा परेपछि पछिल्ला दिनमा सचिव र मन्त्रीको द्वन्द्व उत्कर्ष पुगेको छ । एकले अर्काको अस्तित्व नस्वीकार्दा मन्त्री–सचिवको द्वन्द छताछुल्ल हुन पुगेको छ ।


कांग्रेसका नेता अजयकुमार चौरसिया त कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाका कारण भयंकर तनावमा छन् । तेस्रो पटक कानून मन्त्रालयमा फर्किएका सापकोटाबाट मन्त्री चौरसियाले केही काम लिन सकेका छैनन् । हरेक मन्त्रालय र विभागका कानून अधिकृत र उपसचिवको सरुवामा सचिव सापकोटा हावी हुने गरेको मन्त्री किट स्रोत बताउछ ।

 

सचिव सापकोटालाई मन्त्री चौरसियाले केही काम गर्नका लागि भन्नेबित्तिकै शेरबहादुर दाइ, ज्ञानेन्द्र दाइ, गगनजी र उपप्रधानमन्त्री प्रकाशमान सिंहको नाम लिंदै उल्टै ‘डोमिनेट’ गर्दैआएको मन्त्री निकट स्रोत बताउछ । उपप्रधानमन्त्री सिंहको निर्वाचन क्षेत्रको मतदाता भएको तुजुक देखाउँदै मन्त्री चौरसियाको कानून मन्त्रालयमा गएपछि कमाउने उद्देश्यमा ब्रेक लागेको छ । स्रोत भन्छ, सरुवामा सचिवले कांग्रेसका शीर्ष नेताको सिफारिस भन्दै सेटिङमा सरुवा गर्दा मन्त्री चौरसिया भने टुलुटुलु हेर्न विवश छन् । 


मन्त्री गुप्ताले छोरा, भाइभतिजामार्फत् कर्मचारीहरुको सरुवा गर्न खोजे पनि सचिवले साथ नदिएपछि उनी पटक पटक अर्काे सचिव पठाइदिन माग गरिरहेका छन् । गुट्खाप्रेमी सचिवका रुपमा चिनिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल डेढ महिनाभित्रै अवकाशमा जाँदैछन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलेले पदबहालीका दिन सचिवलाई ‘रोशन दाइ’ भनेर सम्बोधन गरेर निकटता देखाएका थिए । तर, पार्टीकै नेतालाई जस्तो सम्बोधन गरेर निकटता देखाए पनि त्यो धेरै दिन टिक्न सकेन । 


सचिव पोखरेल र पौडेलको सम्बन्धमा पछिल्ला दिनमा दरार आएको स्रोत बताउछ । सो ठाउँमा सचिव बन्नका लागि कलम नै नचोब्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा निकै लागेको चर्चा छ । विभागमा गएपछि डा. देवकोटाको काम उनी अघिका महानिर्देशक डा. संगीता मिश्रका निर्णय उल्ट्याउनमै बित्ने गरेको कर्मचारीहरु बताउछन् ।  


सचिव बढुवा हुनासाथ गृहमन्त्रालयमा सरुवा हुने खेलमा लागेर राजस्व सचिवमा पदस्थापन हुने भाग्यमानी सचिव हुन् कृष्णहरि पुस्कर कर्ण । सत्ता र शक्तिको आडमा सधैं आकर्षक मन्त्रालयमै सरुवा हुँदैआएका कर्ण पछिल्ला दिनमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा थन्किएका छन् । उनी मन्त्रालय पाउनका लागि सत्ताधारी कांग्रेसका नेताहरुकोमा विन्तीभाउ गर्दै लागिरहेको कर्मचारीहरु बताउछन् । 


अख्तियारमा हुँदा लोकमानसिंहका कार्कीका प्रियपात्र उनले कोलकाताको महाबाणिज्यदूत हुन नपाएपछि वरिष्ठ सहसचिवहरुलाई आयोगमा बोलाएर हूर्मत लिने गरेका थिए । तिनै हूर्मत लिएका तत्कालीन सहसचिवहरुमध्ये हुन्, वर्तमान मुख्यसचिव  एकनारायण अर्याल पनि हुन् । अख्तियारमा हुँदा कर्णले भारतीय नाकाबन्दीको जटिल अवस्थामा इन्धन कालोबजारी गर्ने आयल निगमका तत्कालीन एमडी गोपाल खड्काको प्रतिरक्षा गर्र्दै लोकमानको चाकडीका लागि कालोबजारी नियन्त्रणमा लागेका त्यसबेलाका वरिष्ठ सहसचिवलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।


२०७२ फागुनमा ओली नै प्रधानमन्त्री भएको बेला भारतको कोलकातामा एकनारायण अर्याल, चीनको हङकङमा कमल भट्टराई र ल्हासाका लागि गोविन्द कार्की महावाणिज्यदूत नियुक्त भएका थिए । त्यो समयमा लोकमानसिंह कार्कीको कोटामा रोजेको ठाउँमा पुस्कर महाबाणिज्यदूत हुने कुरामा ढुक्क रहेका कर्णले नपाएपछि वरिष्ठ सहसचिवहरुलाई बोलाएर हूर्मत लिई प्रतिशोध साँध्ने गरेको चर्चा अहिले पनि गरिदैछ । (साँघु साप्ताहिक, २०८१ पुस ८)
 

प्रतिकृया दिनुहोस