काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिको तेस्रो ठूलो चन्द्रमा आईओमा ज्वालामुखी विस्फोटको भिडियो जारी गरेको छ ।
यो भिडियो नासाले आफ्नो जुनो मिसनको अन्तरिक्ष यानबाट यो ज्वालामुखी बिष्फोटको रेकर्ड गरेको हो । उक्त भिडियो अन्तरिक्ष एजेन्सीले सामाजिक सञ्जालमा राखेको छ ।
यस भिडियोमा चन्द्रमाको सतहबाट लाभा बाहिर निस्किरहेको देखिन्छ । आईओमालाई हाम्रो सौर्यमण्डलमा सबैभन्दा सक्रिय ज्वालामुखी चन्द्रमा मानिन्छ। यसको सतहमा ४०० भन्दा बढी सक्रिय ज्वालामुखीहरू छन्, जसमा लगातार विस्फोट भइरहन्छ र लाभा निस्कि रहन्छ ।
नासाको जुनो मिसनले गरेको अनुसन्धानले आइओमा ज्वालामुखी गतिविधिको ४४ वर्ष पुरानो रहस्य बुझ्न मद्दत गरेको छ । आईओमामा ज्वालामुखी विस्फोटको पहिलो तस्बिर १९७९ मा लिइएको थियो, यहाँ धेरै ज्वालामुखीका पोखरीहरू छन्, जसमा पग्लिएको लाभा रहेको छ ।
बृहस्पतिको चन्द्रमा आईओमा विस्फोट हुने ज्वालामुखी लाभा म्याग्माका महासागरहरू भन्दा पनि म्याग्मा कक्षहरूबाट आउँछ । नेचर डटकमका अनुसार यसको सतहमा ज्वालामुखी विस्फोट हुँदा यसको आकार परिवर्तन भइ रहन्छ ।
आइओलाइ पहिलो पटक वैज्ञानिक ग्यालिलियो ग्यालिलीले १६१० मा पत्ता लगाएका थिए तर, ज्वालामुखी सक्रिय भएको पत्ता लगाउने कार्य वैज्ञानिक मोराबिटो लिन्डा एले १९७९ मा गरेका थिए । जुनो मिसनका प्रमुख अनुसन्धानकर्ता स्कट बोल्टनले लिन्डाको खोजी भएदेखि नै वैज्ञानिकहरू आइओको सतहबाट लाभा कसरी बाहिर निस्किरहेको छ भन्ने कुरामा उत्सुक रहेको बताए ।
चन्द्रमा आइओमा ज्वालामुखीबाट लाभा विस्फोट भएको पहिलो तस्बिर १९७९ मा नासाको भोइजर १ अन्तरिक्ष यानद्वारा लिइएको थियो । चन्द्रमा आईओमाले बृहस्पतिको वरिपरि अण्डाकार कक्षमा घुम्छ । बृहस्पतिको गुरुत्वाकर्षणले यसमा दबाब दिन्छ, जसले गर्दा यो आकारमा संकुचित हुन्छ । संकुचनका कारण यसको भित्र तातो बढ्छ र भित्री तहहरूमा दबाब बढ्छ, जसका कारण भित्री चट्टान पग्लिएर लाभा बन्छ । यो लाभा ज्वालामुखीको रूपमा सतहमा निस्कन्छ ।
२०२३–२४ मा नासाको जुनो मिसनले डप्लर विधिमार्फत गुरुत्वाकर्षणसँग सम्बन्धित सही डाटा सङ्कलन गरेको थियो । यसले खुलासा गर्यो कि आईओमा म्याग्मा महासागरमा नभई कक्षहरूमा अवस्थित रहेको छ ।



