• बुधबार-मङ्सिर-१९-२०८१

काँग्रेसमा आन्तरिक समीकरणको हलचल : देउवाको उत्तराधिकारी बन्ने दौडमा को को ?


काठमाडौं । नेपाली कांग्रेस सत्तामा जानुभन्दा अघिसम्म आन्तरिक समीकरणबारेका निकै चर्चा हुने गरेको थियो । झन्डै दुुई बर्ष समय बाँकी हुँदै आउँदो महाधिवेशन लक्षित नेताहरुको गुटउपगुटबारे छलफल र चर्चा हुन गरेका थिए । मुख्यगरी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी को हुनसक्छ रु भनेर चियाचर्चा भइरहेका थिए । कांग्रेसको एउटा पंक्ति र कांग्रेसभन्दा बाहिरको एउटा पंक्ति देउवाको उत्तराधिकारीबारे शेखर कोइराला, शंशका कोइराला, कृष्णप्रसाद सिटौलादेखि गगन थापासम्ममा अनुमान लगाइरहेका छन् । 


यी चिया चर्चाबारे कांग्रेसभित्र ठूलो तरंग त आइसकेको छैन्, देउवालाई मनाउने लाइनमा भने नेताहरु केन्द्रीत हुन थालेका छन् । पार्टी सत्ताको विपक्षमा उभिएर राजनीतिक छवि बनाएका गगन थापासमेत केही महिना यता पार्टीभित्रको विषमा मौन देखिन थालेका छन् । अनि, सभापति देउवाको निर्णय र भूमिकामाथि प्रश्न उठाउन छाडेका छन् । बरु, पछिल्ला दिनमा देउवाको विश्वास आर्जनको प्रयासमा लागेका छन् र देउवाले पनि सत्ता गठबन्धनको बैठकदेखि विभिन्न कार्यदलमा पनि थापालाई अघि सार्न थालेका छन् ।


 महामन्त्री थापाले आफ्नो भूमिका बढाएर देउवासँग विश्वास आर्जनको प्रयास गर्दा अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने सतहमा देखिएका छैनन् । थापाको बुढानिलकण्ठसँग बढ्दो हिचमिचभन्दा पहिलादेखि नै समूहका नेता शेखर कोइरालासँग भने थापाको दूरी बढेको देखिन्छ । थापा संसदीय दलको नेता बन्ने बेलादेखि नै दूरी बढ्न थालेको अनुमान गरिन्छ । अनि, मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गराउन कोइरालाले भूमिका निर्वाह गरेपछि थापा रुष्ट बन्न थालेका हुन् ।

 

रिजाल र थापाको पछिल्ला दिनमा सम्बन्ध विग्रिएको थियो ।  त्यो महाधिवेशनमा बेलामा देखिएकै थियो । रिजालको बुझाइमा त महामन्त्रीमा थापाले नै हराएको दाबी रहेको छ ।  त्यसैले, कोइरालालाई थापाविरुद्ध केन्द्रीत गर्न उपसभापति धनराज गुरुङ र मिनेन्द्र रिजालले भूमिका खेलेको चर्चा हुने गरेको थियो । कोइरालाको रणनीतिकारको भूमिकामा रिजाल नै रहेका कारणले पनि थापासँग दूरी बढ्न थालेको थियो । कोइरालासँग दूरी बढ्ने अर्कोतिर कोइरालासँग देउवाको पनि सम्बन्ध सुधार नभएको संकेत बुझेपछि थापा बुढानिलकण्ठतिर लागेको बताइन्छ । कोइरालाले आफ्नै कारणले गर्दा नै देउवासँग सम्बन्ध नजिक नभएको पनि बताइन्छ । 


हुन त कोशी प्रदेश सरकार बनाउने बेलामा कोइराला समूहले विद्रोह गर्ने बेलामा थापाको समूहले साथ दिएको थिएन । त्यतिबेला कोइराला एक्लै परेका थिए । त्यसले पनि अन्तिम समयमा थापाले कोइरालालाई साथ नदिएको देखिएका कारणले पनि थापाको रणनीति फरक थियो भन्ने अनुमान पहिलादेखि नै थियो । यद्यपि, प्रचण्ड नेतृत्वको सरकारको बेलामा थापा सभापतिपत्नी आरजु राणाको चर्को विरोधमा देखिएका थिए । त्यसले गर्दा बुढानिलकण्ठसँग दूरी कायम नै थियो । तर, रवि लामिछानेविरुद्धको लडाइमा भने थापा र आरजु एकै मोर्चामा आइपुगेका हुन् । त्यसले गर्दा बुढानिलकण्ठसँगको दूरी घटाउन भूमिका निर्वाह गरेको अनुमान भइरहेको छ । थापाको समूहले यसबीचमा कोइराला बुढानिलकण्ठनिकट भएको भन्दै चर्चा चलाएका थिए । कोइरालाको बारेमा त्यस्तो चर्चा चलाएर थापा नजिक हुन लागेको रणनीति रहेको पनि बताइन्छ । 


थापाको रणनीति नै अहिले देउवालाई रिझाउने र कोइरालालाई पनि नचिढ्याउने भन्ने देखिन्छ । देउवा समूहबाट सम्भावित सभापतिको उम्मेदवार गतिलो नदेखिएपछि थापाले उक्त आशा गरेका छन् । थापाले गरेको त्यही आशका कारणले सम्बन्ध सुधारका लागि भरमग्दुर प्रयास भइरहेको छ । तथापी, देउवाले सजिलै थापालाई उत्तराधिकारी दिने संभावना नरहेको पनि कांग्रेसभित्र चर्चा भइरहेको छ । कांग्रेसभित्र देउवाले शंशाक कोइराला र कृष्णप्रसाद सिटौलामध्ये एकजनालाई उम्मेदवार बनाउने संभावना रहेको चर्चा भइरहेको छ । त्यस्तो अवस्थामा आरजुलाई शक्तिशाली पदमा निर्वाचित गराउने अनि पार्टीको शक्ति राणाको हातमा सुम्पिने देउवाको रणनीति रहेको पनि विश्लेषण भइरहेको छ ।

 

आरजुलाई शक्तिशाली बनाउनका लागि सिटौला र शशांक कोइराला नै उपयुक्त पात्र हुने विश्लेषण रहेको छ । थापालाई सभापति बनाउँदा आरजुको शक्ति नहुने प्रष्टै देखिन्छ । शेखर कोइरालाले पनि आफूले शक्ति आर्जन गर्दा आरजुसँगको भूमिका कसरी निर्वाह गर्छन् प्रष्ट भन्न सक्ने अवस्था रहेको छैन । त्यसमाथि  बाह्य शक्तिकेन्द्रले पनि कांग्रेसभित्रको आन्तरिक समीकरणमा प्रभाव पार्न सक्ने अनुमान हुन्छ । ती शक्तिकेन्द्रको चासो पनि को सभापति हुने भन्ने निक्र्यौल गर्छ । तर, थापाको बुढानिलकण्ठमा भएको इन्ट्रीले भने कांग्रेसभित्र नयाँ तरंग सिर्जना गरेको छ । 


देउवा समूहकै एकथरी नेताहरु भने शेखर कोइरालालाई सभापति बनाउन सकिने लाइनमा रहेको बताइन्छ । बालकृष्ण खाँण, एनपी साउद, प्रकाशशरण महतदेखि आरजुकै लाइन पनि शेखरको लाइनमा रहेको चर्चा भइरहेको छ । साउद र रमेश लेखक दुई धारका नेता हुन् । लेखक अहिले देउवाको विश्वासपात्रको रुपमा रहेका कारणले पनि साउद उता लाग्ने संभावना रहेको टिप्पणी भइरहेको छ ।  त्यसैले, कांग्रेसभित्र सत्ता समीकरणदेखि आन्तरिक अभिव्यक्तिहरु आउँदो महाधिवेशन लक्षित हुन थालेका छन् । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)
 

प्रतिकृया दिनुहोस