• सोमबार-मङ्सिर-१०-२०८१

उपरथी प्रदीपजंग केसीको रथीमा पदोन्नति 

 

काठमाडौं । नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन । जंगीअड्डाको सिफारिसमा केसीलाई ०८१ मंसिर ७ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएपछि ०८१ भदौदेखि रथी पद रिक्त रहेको थियो । नेपाली सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । जसमा निर्मलकुमार थापा मात्रै कार्यरत थिए । दुई महिना भन्दा बढी समयदेखि रिक्त रहेको सो पदमा सिनियर उपरथी केसीलाई बढुवा गर्न सिफारिस गरिएको थियो ।


केसीविरूद्व कुनै उजुरी भए दत्र्ताका लागि यसअघि सात दिने सूचना जारी गरिएको थियो । तर, उनीबिरुद्द कुनै उजूरी नपरेपछि बढुवा सिफारिस समितिले रक्षा मन्त्रालयमा फाइल पठाएको थियो । केसी यसअघि मध्य पृतना हेटौँडाका पृतनापति रहेका थिए । रथीमा बढुवा भएसँगै केसी २०८३ मंसिर १५ गतेसम्म सैनिक सेवामा रहने भएका छन । त्यसपछि उनी रथीको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुने सैनिक स्रोतले जानकारी दिएको छ । उनी २०२५ मंसिर १६ गते काठमाडौँमा जन्मिएको र २०४४ असोजमा नेपाली सेनामा भर्ना भएको बताइन्छ ।


यसअघि २०७८ पुस ८ गते उपरथीमा बढुवा भएका उनी उपरथीको कार्यकाल सकिनै लाग्दा रथीमा बढुवा हुन सफल भएका छन । ३५ वर्षको सैनिक करियरमा उनले विभिन्न मुलकबाट सैन्य तालिमहरू लिएका छन । केसी विभिन्न समयमा ५ पटक राष्ट्रसंघीय मिसनमा पनि सहभागी भइसकेका छन । उनले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलमा प्लाटुन, कम्पनी कमाण्डर र सेक्टर हेडक्वाटरमा वरिष्ठ योजना अधिकारीको रुपमासमेत काम गरिसकेको बताइन्छ । यसबीचमा अन्य सैनिक पदहरूसमेत सम्हालेका केसी सन २०१४ देखि २०१७ सम्म बेलायतको रक्षा सहचारीको रुपमा नियुक्त भएर काम गरेका थिए ।


विभिन्न पदकबाट सम्मानित भइसकेका केसीले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन । केसीपछिको वरियतामा उपरथी प्रेमध्वज अधिकारी रहेका छन् । उनलाई सरकारले यसअघि नै रथीमा बढुवा गरेर राष्ट्रसंघको सैनिक सल्लाहकारका लागि उम्मेदवार बनाएको थियो । यसको नतिजा भने आइसकेको छैन। अधिकारी बलाधिकृत रथी निर्मल कुमार थापाको अवकासपछि रथीमा बढुवा हुने लाइनमा रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)

प्रतिकृया दिनुहोस