• सोमबार-मङ्सिर-१०-२०८१

चाइना कार्ड प्रकरणले विवादमा प्रचण्ड

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठवीच प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको विषयलाई लिएर विवाद भएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमण गरेर चाइना कार्ड खेल्न खोजेको भन्दै भारतीय सञ्चारमाध्यम द हिन्दुमा अन्तर्वार्ता दिएपछि विवाद बढेको हो । कान्तिपुुर कन्क्लेभका लागि नेपाल आएकी हिन्दुको कूटनीतिक सम्पादक हैदारसँग कुराकानी गर्दै प्रचण्डले उक्त धारणा राखेका थिए । प्रचण्डले आफूलाई अतिभारतवादी देखाएर प्रधानमन्त्री ओलीको चीन भ्रमणको आलोचना गरेपछि उपाध्यक्ष श्रेष्ठले पार्टीमा प्रश्न उठाएका थिए । 


प्रधानमन्त्रीको विदेश भ्रमणलाई विवादित बनाउने र भारतवादी हुन के सम्म बोलेको भन्दै श्रेष्ठले विरोध गरेका हुन् । प्रचण्डकै सामुन्ने उक्त धारणा राखेको माओवादी नेताहरुले बताएका छन् । माओवादीभित्र नै प्रचण्डको उक्त धारणाको आलोचना भएपछि प्रचण्डले आफ्नो धारणामा रफ्फु भर्न खोजेका छन् । आफूले द हिन्दुमा भनेका कुरालाई सच्याउने प्रयास गर्दै आफ्नो भनाइको स्पष्टीकरण पनि दिन थालेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट हटाएको भन्दै ओलीसँग रिस पोखिरहेका छन् । त्यही रिस पोख्ने क्रममा चीन भ्रमणलाई चाइना कार्ड भनेर प्रचण्डले आलोचना गरेका हुन् । यसअघि प्रचण्डले चीनसँग बीआरआई परियोजना कार्यान्वयन योजना सम्झौता पनि प्रचण्डले रोकेका थिए । गत बर्षको असोजाा भएको चीन भ्रमणमा प्रचण्डले कांग्रेसलाई देखाएर योजना सम्झौता टारेका थिए । त्यतिबेला कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको थियो । काठमाडौं फर्केपछि कांग्रेसलाई मनाएर सम्झौता गर्ने प्रचण्डको भनाइ रहेको थियो । तर, प्रचण्डले काठमाडौमा आएपछि झन्डै बर्षदिनसम्म पनि सहमति जुटाएको देखाएनन् । 


गत असारमा चिनियाँ टोली काठमाडौै आएको थियो । त्यतिबेला उक्त योजनामा सम्झौता गर्ने तयारी भएको थियो । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान भ्रमणमा गएपछि प्रचण्डले यता सम्झौता भाँडेका थिए । तिनै प्रचण्ड अहिले ओलीको चीन भ्रमणलाई चाइना कार्ड भनिरहेका छन् । त्यसैले, माओवादीभित्र उनको भनाइप्रति असहमति जनाएर नेताहरुले विमति राखेका हुन् । उक्त सहमतिपछि प्रचण्डले आफ्नो भनाइको प्रष्टीकरण दिन थालेका हुन् । त्यसो त, प्रचण्डले प्रधानमन्त्री ओलीलाई बीआरआई परियोजना कार्यान्वयन योजनामा सम्झौता गर्न ग्रिनसिग्नल दिएको पनि एमालेभित्र चर्चा भइरहेको छ । त्यसैले अहिले प्रचण्ड आन्तरिक र बाह्य दुवै पक्षबाट अविश्वासिलो नेताको रुपमा चित्रित भइरहेका हुन् ।

 

‘चिनिया कार्ड’ अभिव्यक्तिबारे प्रचण्डको प्रष्टीकरण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिव्यक्तिको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका बारेमा बोलाएको बैठकमा अध्यक्ष प्रचण्डले सो प्रष्टीकरण दिएका हुन् । 

 

‘आफू (प्रचण्ड)ले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै चीन कार्ड खेल्न खोजेको भन्ने आसयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गर्नुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ। प्रचण्डले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । (साँघु साप्ताहिक, २०८१ मंसिर १०)

प्रतिकृया दिनुहोस