काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा सेटिङ गरी खाडीमुलुक, मलेसियालगायत जापान, दक्षिण कोरिया, अफ्रिका, रूस र युरोपियन मुलुकमा नेपाली कामदार पठाउने गिरोह सक्रिय हुँदै आएको छ ।
यी घटनाको पुष्टि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीको अवैध र अनैतिक कार्यले पनि गरिसकेको छ । ०८१ कार्तिक १४ गते उनले खोटाङका दाबा शेर्पा, जनक राई, रसुवाका कञ्चन देवकोटा र अन्य तीनजना कामदारहरूलाई भिजिट भिसामै हङकङ हुँदै जापान लिएर गएका थिए ।
तर, जापानको अध्यागमन कार्यालयले टोकियो विमानस्थलबाटै उनीहरूलाई एकदिन राखेर हङकङ हुँदै फर्काइ दिएपछि सो घटना यतिखेर सनसनीपूर्ण बनेको छ । जसका कारण सिङ्गो मुलुक र कोशी प्रदेश सरकारको अन्तर्राष्ट्रिय रूपमा ठुलो बेइज्जती हुन पुगेको छ । अधिकारीले मन्त्रीबाट राजीनामा दिए र उनीसँगै जापान गएका तीन जना व्यक्तिलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले भिजिट भिसाको राम्रोसँग चेकजाँच नगरेको भन्दै कमजोरी छताछुल्ल हुन पुगेको छ ।
कर्मचारीले राम्रोसँग कागजपत्र चेकजाँच गरेको भए प्रदेश मन्त्रीबाहेक शेर्पा, राई, देवकोटा र तीनैजना व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काउन सकिने स्रोत बताउछ । त्यति मात्र होइन, भिजिट भिसामा मानव तस्करी हुन पाउने थिएन र नेपालको अन्तर्राष्ट्रियस्तरमासमेत बेइज्जती हुने थिएन । गिरोहलाई सहयोग गरेबापत अतिरिक्त आम्दानी गर्न पल्किएका केही शाखा अधिकृतहरूलाई यस्तै प्रयोजनका लागि गएको हप्ता दोहो¥याएर, तेहे¥याएर र चौथो पटक समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमा कार्यालयमा सरुवा गरिएको छ । सरुवा गरिएका अधिकांश अधिकृतहरुले गृहमन्त्रालय र मातहत निकायअन्तर्गत रहँदा पटक–पटक अवसर लिइसकेका हुन् ।
तरपनि गृह मन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी, मन्त्रीका निजी सचिव बद्री तिवारी, कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृत गणेश ओझा, मन्त्रीको स्वकीय सचिवालयमा कार्यरत कर्मचारीको जोडबलमा उनीहरु यो पटक पनि सरुवा हुन सफल भएको गृह स्रोत बताउछ । अध्यागमन विभागका महानिर्देशक गोविन्द प्रसाद रिजालले पनि अवसरवादी अधिकृतहरुलाई पुन अवसर दिएको भन्दै मन्त्रालयमा कार्यरत कर्मचारीले असन्तुष्टि जनाएको बुिझएको छ ।
केही हप्ता आगाडि मात्र मन्त्रालयले ३३ जना अधिृकतहरुलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटाउने उद्देश्यकासाथ सरुवा गरी पठाएको थियो । मन्त्रालयका केही हर्ताकर्ता कर्मचारीले सेटिङ गरी विवादस्पद अधिकृतलाई खटाउन लागेकोमा अध्यागमन कार्यालय एयरपोर्टका सहसचिव एवंम प्रमुख तीर्थराज भट्टराई पनि तीनछक परेको गृह स्रोतले दावी गरेको छ । उनले एकपटक कार्यालयमा बसिसकेका अधिकृतलाई दोहो¥याएर भित्र्याउने चाहना नराख्दा नराख्दै पनि यतिखेर झण्डै तीन दर्जन अधिकृतहरु भित्रिएका छन् । यीमध्ये कतिपय अधिकृत भित्रिसकेको र केही भने भित्रिने तयारीमा रहेको बुझिएको छ ।
कतिपय अधिृकतहरु तेश्रो पटकसमेत त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सेटिङ मिलाएर जान सफल भएको चर्चा छ । सरुवा भएका केही अधिकृतहरूको सिधा कनेक्सन भिजिट भिसामा अवैध ढंगले वैदेशिक रोजगारका लागि पठाउने मेनपावर कम्पनी, मानव तस्कर, एजेन्ट, ट्राभल एजेन्सी र विदेशी एयरलाइन्सहरूसँग रहँदैको बताइन्छ । यस्ता मानव तस्करहरूसँग सेटिङ गरेर अध्यागमनका अधिकृतहरूले प्रति व्यक्ति २० देखि २५ हजार असुलेर खाडी मुलुक र मलेसियालगायतका मुलुकहरूमा कामदार पठाउदै आएको आरोप विगतदेखि नै लाग्दै आएको छ । जापान, दक्षिण कोरिया, अफ्रिका, रूस र युरोपपियनलगायत मुलुकमा भिजिट भिसामा सेटिङ गरी कामदार पठाउँदा प्रति कामदार ५० देखि ६० हजारसम्म अतिरिक्त रकम लिने गरेको स्रोतले दावी गरेको छ ।
अध्यागमन कार्यालय एयरपोर्टमा अधिकृत सुवास शर्मा पौडेल दोश्रो पटक सरुवा मिलाएर जान सफल भएका छन् । महिला अधिकृत रेश्मा बुढा क्षेत्री यसअघि अध्यागमन कार्यालयमा कार्यरत रहँदा विवादमा परेपनि पुन दोहो¥यााएर जान सफल भएकी छिन ।
त्यस्तै, अधिकृत खगराज गौतम र महिला अधिकृत प्रभा अर्याल दोश्रो पटक उक्त कार्यालयमा सरुवा मिलाएर जान सफल भएको मन्त्रालय स्रोत बताउछ । शम्भु ठकुल्ला चौथो पटक सो कार्यालयमा सरुवा हुने भाग्यमानी अधिकृतमा दर्ज भएका छन ।
अधिकृतहरु दीपक पाण्डेय, हेमराज जोशी दोश्रोपटक र नरेन्द्र सिंह कुँवर भने तेश्रो पटक एयपोर्ट कार्यालयमा सरुवा मिलाएर जान सफल भएको बताइन्छ । महिला अधिकृतहरु बबिता मरासिनी, देवी चालिसे र सरोज खनाल पनि दोश्रो पटक सरुवा मिलाएर गएको जानकार स्रोतले बताएको छ । अधिकृत भोज बहादुर ऐडी चौथो पटक र केशव बस्याल दोश्रो पटक एयरपोर्ट अध्यागमनमा सरुवा हुन सफल भएको स्रोतले जनाएको छ ।
उक्त कार्यालयमा हाल एक सय २१ जना अध्यागमन अधिकृतहरुको दरवन्दी रहेको छ । ६ जना उपसचिवको दरवन्दी रहेको भएपनि हाल १० जना कार्यरत रहेको बताइन्छ । कार्यालयमा कार्यरत कर्मचारीहरूले आफ्नो डीयुटी परेको दिनको समयमा हवाई जहाजको टिकट खरिद गर्न लगाएर भिजिट भिसामा वैदेशिक रोजगारका कामदार सेटिङ गरी उडाउने र अतिरिक्त लाभ हात पार्ने गरेको सुरक्षा स्रोत बताउँछ । भिजिट भिसामा वैदेशिक रोजगारमा जाने कामदारले सहज रुपमा रोजगारी नपाउने, विदेशमा अलपत्र पर्ने, काम पाइहाले पनि तलव कम पाउने गुनासो बढेको छ । उनीहरुले नियमित तलव, बस्न र खाने सुविधा नपाउने, बीमा र औषधि उपचार सुविधाबाटसमेत बन्चित हुनुपर्ने अवस्था रहेको छ ।
आफैंले काम खोजेर पछि कामदार भिसाका लागि एप्लाई गर्नुपर्ने र अध्यागमन कानून उल्लंघनको आरोपमा जेल सजायसमेत भोगेका कयांै घटना बाहिर आएका छन् । जसले गर्दा स्वदेश फिर्ता हुन अनेकौं कानूनी जटिलता व्यहोर्नुपर्ने जस्ता समस्या भोग्दै आएका छन् । त्यसकारण पनि सरकारले भिजिट भिसामा विदेशमा कामदार पठाउने प्रवृत्तिलाई पुरै नियन्त्रणका लागि इमान्दार र सदाचार आचरण भएका कर्मचारीलाई मात्र खटाउनुपर्ने माग हुँदै आएको छ । तर, यी माग विपरीत अध्यागमन कार्यालयमा एक पटक अवसर पाइसकेका कर्मचारीहरूलाई पुन दोश्रो, तेश्रो र चौथो पटक खटाउनुले गृह मन्त्रालय र विभागको नेतृत्वमाथि नै प्रश्न उठ्दै आएको छ ।
यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा दुई, तीनपटक अवसर पाइसकेका कर्मचारीहरू पुन चौथो पटक केका र कस्को स्वार्थपूर्तिका लागि खटाइयो भन्ने प्रश्न उठ्ने गरेको छ । सरुवा भएका केही अधिकृतहरूको पहुँच र साँठगाँठ मानव तस्करहरूसँग रहेको बुझिएको छ । जसले गर्दा वैदेशिक रोजगारका मानव तस्करहरूले हवाई कम्पनी, ट्राभल एजेन्सी, मेनपावर कम्पनी र तिनका एजेन्टहरूसँग मिलेमतो गरी भिजिट भिसामा कामदार पठाएर रातारात राम्रै आम्दानी गर्न सफल भइरहेको चर्चा हुँदै आएको छ ।
यस्ता बेतिथि र अनियमित कार्यालयलाई रोक्नको लागि नेतृत्वले नियन्त्रण गर्न प्रयास गरेपनि बद्नाम र अवसरबादी केही कर्मचारीहरूका कारण संभव हुन नसकिरहेको जानकारस्रोत बताउँछ । जसले गर्दा कार्यालय प्रमुखले चाहेर पनि भिजिट भिसाबाट हुने मानव तस्करी नियन्त्रणमा आउन नसकिरहेको सुरक्षा स्रोत बताउछ । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण व्युरो, अध्यागमन विभाग, गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगाउत निकायले यस्ता विषयमा विशेष ध्यान दिनुपर्ने स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६)



