काठमाडौं । नेपाली कांग्रेस सत्ताबाट बाहिरिएर प्रतिपक्षको भूमिकामा पुगेपछि प्रतिनिधिसभामा निकै चर्को रुपमा प्रस्तुत भइरहेको छ । उस्तै परे नयाँ समीकरणको वाम गठबन्धन सरकार ढाल्नेसम्मको प्रयासमा लागेको छ । कांग्रेसले विरोधको खास तारो भने गृहमन्त्री रवि लामिछानेलाई बनाएको छ । नेपाली कांग्रेसले गृह मन्त्री लामिछानेको नैतिकतामाथि गम्भीर प्रश्न उठाएर राजीनामा निरन्तर मागिरहेको छ । यस घटनाले कांग्रेसभित्रकै नैतिकताको प्रश्न पनि उठाएको छ । तर, गृहमन्त्री लामिछानेको स्टन्टबाज शैलीको पनि स्वभाविक आलोचना भइरहेको छ ।
त्यसैले, प्रतिनिधिसभामा लामिछानेमाथि जे प्रश्न उठेका छन्, त्यसको जवाफ कसरी दिन्छन् वा कुन तहमा पुगेपछि सहमति हुन्छ ? भन्न सकिने अवस्था छैन् । तर, गृह मन्त्री लामिछाने भने विवादस्पद र भ्रष्टाचारका विभिन्न काण्डमा नाम जोडिएका भिआईपीहरुमाथि निगरानी मात्रै होइन कारवाही नै अघि बढाइ हाल्ने प्रयासमा देखिन्छन् । विगतका विवादास्पद घटनामा संलग्नहरु भनिएका शक्ति केन्द्रका व्यक्तिहरुलाई कारवाही प्रक्रियामा ल्याएर जेल समेत हाल्ने र राजनीतिकर्मीलगायतका भिआईपीहरुको सात्तो लिने खेलमा देखिन्छन् ।
विगतमा एक हदसम्म सल्टिसकेको बाँसबारी छालाजुत्ता कारखाना जग्गा प्रकरणमा गृह मन्त्रालयमा छिरेलगत्तै उछाले र विनोद चौधरीसँग प्रहरीले वयान लिने स्थिति बन्यो । लामिछानेको अहम् र मैंले गरेर देखाएँ नि भन्ने मनसायसँग जोडिएको यो परिघटनासँगै नक्कली भुटानी शरणार्थी प्रकरणलाई पनि नयाँ शिराबाट फाइल खोल्ने प्रयासमा रहेको गृह स्रोतको भनाइ छ । सुरक्षा स्रोतहरुको भनाइमा कांग्रेस नेताहरुलाई थप दबाबमा राख्ने गरी गृह मन्त्री लामिछाने नक्कली भुटानी शरणार्थी प्रकरण, टेरामक्स खरिद प्रकरणलगायतका भ्रष्टाचारका विषयलाई उछाल्ने कोशिसमा देखिएका छन् ।
राजनीतिक वृत्तमा चलेको चर्चा अनुसार, गृह मन्त्री लामिछाने अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणहरुलाई पनि वयान लिने कोशिसमा रहेका छन् । गृहका अधिकारी र प्रहरीलाई त्यसैअनुसार निर्देशन दिएको पनि स्रोतहरुको दावी छ । स्रोतका अनुसार, आरजु राणा २०८० चैत ८ गते काठमाडौं फर्किने कार्यक्रम रहेको थियो । तर, खतरा परिस्थितिको हाल आंकलन गर्दै उनी दिल्लीमै रोकिइएकी छिन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राणा, खाणको नाम मुछिएको थियो र उनीहरुकै दबाबमा एआईजीपी श्याम ज्ञवालीलाई रानीपोखरीबाट, प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी दान वहादुर कार्की र उपत्यका अपराध अनुसन्धानका प्रमुख एसएसपी मनोज केसीलाई ६ महिना पनि नपुग्दै नक्कली भुटानी शरणार्थी प्रकरण्ण्मा दह्रो कदम चाल्ने प्रहरीको टीमलाई नै सरुवा गरी प्रहरीको केन्द्रीय कार्यालयमा थन्क्याइएको थियो । अहिले तिनै कांग्रेस पीडित एआईजीपी ज्ञवालीलाई साथ लिएर गृह मन्त्री लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरोमा ल्याएका छन् । त्यसैले, लामिछाने र ज्ञवाली मिलेर यो प्रकरणलाई नयाँ शिराबाट उठाउने प्रयास गर्ने चर्चा छ ।
त्यसैकारण आरजु देउवा गिरफ्तारी पर्न सक्नेसम्मको चर्चा चलाइएको छ । आरजु यतिबेला भारतमा बसिरहेकी छिन् । पारिवारिक कामले भारतमा रहेकी आरजु नेपाल नआएको कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा बयान र पक्राउ पर्ने डरले भन्दै केही हल्ला पनि गराइएको छ । राजनीतिक स्टन्टका लागि उक्त हल्ला चलाइएको चर्चा पनि हुने गरेको छ । गृह मन्त्री रवि लामिछानेले आम मानिसलाई विशेष सन्देश दिन अनेक प्रयास गरिरहेको महसुस सुरक्षा निकायले गरेको स्रोत बताउछ ।
नक्कली भुटानी प्रकरणमा आरजुको कारवाही प्रक्रिया उठेमा टेरामक्स खरिद प्रकरण पनि उठ्ने संभावना रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको टेरामक्स प्रकरणमा भीआइपीहरु कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत र सरकारका मुख्यसचिव बैकुण्ठ अर्याललगायतका वरिष्ठ कर्मचारीहरु समेत मुछिएका छन् । उनीहरुलाई आयोगले बयानसमेत लिइसकेको छ । त्यसैले, उनीहरु मुद्दा दर्ता हुने वित्तिकै कांग्रेस थप लफडामा पर्ने देखिएको छ ।
स्टन्टबाजीमा रमाउने स्वभाव र शैलीका गृह मन्त्री रवि लामिछानेले पहिलो चरणमा नक्कली भुटानी प्रकरणमा संलग्नहरु कारवाहीमा पर्ने भएका छन् । दोस्रो, तेस्रो चरणमा भ्रष्टाचारलगायत विभिन्न अपराध र काण्डमा संलग्न शक्ति केन्द्रका शक्तिशाली व्यक्तिहरु, सुरक्षा निकायका जिम्मेवार अधिकारी, सुन काण्ड, कर छली प्रकरण, लागू औषध कारोवारका नाइके, डलर र हुण्डी कारोवारीका नाइकेहरुलाई चरण चरणमा क्रमश गिरफ्तारी र कारवाही गर्दै अघि बढ्न गुप्त योजना बनाएर हिजोका फाइलको अनुसन्धान र कारवाहीका लागि विशेष गृह कार्यको थालनी गरेको स्रोत बताउछ । (साँघु साप्ताहिक, २०८० चैत १२)



