काठमाडौँ, जेष्ठ ४ गते। विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार, कानूनकर्मी तथा व्यवसायी समीक्षा बास्कोटालाई चयन गरेको छ।
३४ वर्षीय बास्कोटाले काठमाडौँ स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानून मैं स्नातकोत्तर गरेकी छिन् । स्नातकोत्तरपछि 'डिन्स फेलो' मनोनीत भएर केही समय अमेरिकामैं काम गरी “२०६७ सालमा नेपाल फर्किएकी बास्कोटाले त्यसपछिका वर्षहरू प्राध्यापन, कानूनी अभ्यास, पारिवारिक व्यवसाय तथा परोपकारी गतिविधिमा बिताएकी थिइन्।
पारिवारिक पृष्ठभूमिले गर्दा राजनीतिक माहौलमा हुर्किने अवसर पाएकी बास्कोटा राष्ट्रलाई बृहत्तररूपमा योगदान पुर्याउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति नै हो भन्नेमा विश्वास राख्छिन्।
गत निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं १ ‘क’ को प्रदेशसभाको उमेदवार बनेर २७ प्रतिशत मत ल्याएकी उनले सम्मानजनक तेस्रो स्थान हासिल गरेकी थिइन्।
एक जना सुशिक्षित, उद्यमी, क्षमतावान र उर्जावान महिलालाई प्रदेश नं ३ को संयोजक तथा केन्द्रीय सदस्यकारूपमा पार्टीमा स्वागत गर्न पाउँदा विवेकशील साझा पार्टीले गौरवको अनुभूति गरेको सो पार्टीका प्रवक्ता रमेश पौड्यालले बताएका छन् ।



