🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

टीकापुर, २१ साउन (रासस) : बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ ।

    हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन् ।  बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन् । बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन् । विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन् ।

    भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गर्नुभएको थियो । कात्तिक २ गते आएको बाढीले हरिबहादुरको दुई बिघा काटेर खेतमै थुपारेको धान बाढीमा मिसियो । “गत वर्ष धानको दाना देख्न पाइएन, त्यसैले यस वर्ष दुई बिघा जमिन बाँझो राखेको छु”, हरिबहादुर भन्नुहुन्छ, “ममात्र होइन मेरा छिमेकीले पनि यस वर्ष धान रोपेनन्, हामीले चैते धान खेतीमात्र ग¥यौँ, विगतमा दुई पटक धान रोप्ने गरिन्थ्यो ।”

खेती गर्दा बढी खर्च लाग्ने तर उत्पादन पाउने ठेगान नभएको र सरकारले समेत क्षतिपूर्ति थोरै दिने भएकाले खेती नगरेको किसान मानबहादुर साउँद बताउनुहुन्छ । “मेहनत र लगानी चाहिन्छ । एक बिघामा धान खेती गर्न रु ५० हजारसम्म खर्च हुन्छ तर बाढीले उत्पादन पाउने ठेगान नभएपछि यस वर्ष धेरैले खेत बाँझो राखे”, उहाँले भन्नुभयो, “यस वर्ष करिब एक हजार बिघा जमिन बाँझो देखिन्छ । यहाँका किसानलाई जग्गा भएर पनि समस्या छ । खेती लगाउन पाए पो उत्पादन हुन्छ, उत्पादन भए पो पेट पाल्न, खर्च चलाउन सहज हुन्छ ।”

भजनीकै बलबहादुर बुढा पनि बाढीका कारण खेती स्याहार्न नमिल्ने भएकाले यहाँका किसानले खेत बाँझै राखेको बताउनुहुन्छ । “हुलाकी सडक आसपासका किसानले खेतमा पस्ने आँट गरेनन्”, बलबहादुरले भन्नुभयो, “अहिले भजनीका अधिकांश किसानका खेत तलाउजस्तै देखिन्छन् । विगतमा खेती गर्न मिल्ने जमिन पनि यस वर्ष बाँझै राखिएका छन् ।”

भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी डुबान क्षेत्रमा खेत बाँझो राख्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “यहाँ कति जमिन बाँझो राखिएको भन्ने तथ्याङ्क हामीले राखिसकेका छैनौँ, तर अधिकांशका जमिन बाँझो छन्”, चौधरीले भन्नुभयो, “पानी बढी जम्ने र डुबान हुने जोखिम रहेका जमिनमा धान रोपिएको छैन । विकल्पका रुपमा यहाँका किसानले चैते धान खेती गर्छन् ।”

 चौधरी भजनीमा किसानलाई सघाउने विभिन्न कार्यक्रम भएको बताउँदै खल्ला खेत ( पानी बढी हुने ) का लागि पालिकाले चैते धानलाई प्रोत्साहन गर्ने गरेको बताउनुहुन्छ । “यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुख्यमन्त्री कार्यक्रम, ब्लक प्रदर्शन, कृषि औजार सहयोगजस्ता कार्यक्रम गरिरहेका छौँ”, चौधरी भन्नुहुन्छ, “त्यसैले हामीले पनि चैते धानलाई बढी प्रोत्साहन गर्छौं । यहाँका धेरै किसानले चैते धान खेती गर्नुहुन्छ ।” भजनीमा गत वर्ष आएको बाढीले तीन हजार हेक्टरमा लगाएको धान बाली बगाएको कृषि शाखाले जनाएको छ ।

(तस्बिर :  कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा डुङ्गाको सहायतामा नदी वारपार गर्दै स्थानीय । एघार वर्षदेखि निर्माणाधीन पक्की पुल नबन्दा स्थानीयहरु नदीमा जोखिम मोलेर डुङ्गामै सवार गर्न बाध्य छन् । तस्बिर : झलनाथ खनाल/रासस)