काठमाडौं । इतिहास बोकेको त्रि–चन्द्र क्याम्पसको व्यापारिक दृष्टिले अत्यन्तै मूल्यवान जग्गा हटप्नेतिर भूमाफियाहरुले विभिन्न प्रकारको चलखेल गरिराखेका छन् । भूमाफियाको यही चलखेलको कारण २०७२ सालमा आएको बिनाशकारी भूकम्पबाट ठूलो क्षति भएको त्रि–चन्द्र क्याम्पसको घण्टाघरसँगैको मूल भवन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन ।
जबकि यो भवनमा पुगेको क्षतिको आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अत्यन्त खतराको सूचीमा राखेर यो भवनमा रातो स्टिकर टाँस गरेको थियो । तर, यसरी आफैंले भूकम्पबाट ठूलो क्षति पुगेको भन्दै पुनर्निर्माण जरुरी भएको भन्दै तत्काल उपयोग गर्न अयोग्य हुने स्पष्ट संकेत गर्दै रातो स्टिकर टाँसेको उक्त भवनको पुनर्निर्माण नै नगरी लगभग १ वर्ष अगाडि नै प्राधिकरण विघटन भएको छ ।
पुनर्निर्माण प्राधिकरणले भूमाफियाको प्रभावमा आएर त्रि–चन्द्र क्याम्पसको ऐतिहासिक भवन पुनर्निर्माण गरेन भने भारत सरकारले यो भवन पुनर्निर्माण गरिदिने प्रस्ताव गर्दा पनि भूमाफियाकै चलखेलको कारण नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयले उक्त भवनको पुनर्निर्माण गर्नेतिर चासो नदेखाएको स्रोत बताउछ । भूकम्पले खतरनाक स्थितिमा पु¥याएको र उपयोग गर्नै नहुने अवस्थामा पुगेको यो भवनमा केही कक्षा कोठाको अभाव हुन गएपछि त्रि–चन्द्र क्याम्पस प्रशानसले खतरा मोल्दै पठनपाठन सञ्चालन गर्दै आएको छ । भूकम्पको कारण रातो स्टिकर टाँस भएर खतरनाक अवस्थामा पुगेको उक्त भवनमा पठनपाठन हुँदा एकसाथ विद्यार्थी र शिक्षकहरुले समेत दैनिक नै ज्यान जोखिममा राखेर पढ्ने पढाउने गरेका छन् ।
स्रोतका अनुसार, २०७२ साल वैशाखमा महाभूकम्प जानु अगाडिबाट नै व्यापारिक दृष्टिले अत्यन्त मूल्यवान त्रिचन्द्र क्याम्पसले ओगटेको जग्गा कब्जा गर्ने कसरत भूमाफियाहरुले गरेका थिए र उनीहरुले शहरको मुटुमा रहेको त्रिचन्द्र क्याम्पसलाई चक्रपथ बाहिर स्थान्तरण गरेर उक्त मूल्यवान जग्गा कब्जा गर्ने षड्यन्त्र राजनीतिक क्षेत्रको संरक्षणमा नै अगाडि बढाएका थिए । तर २०७२ सालमा गएको भूकम्पले भूमाफियाको यो योजनामा केही समयका लागि धक्का लागेको भएपनि पछिल्लो दिनमा भूमाफिया यो मूल्यवान जग्गा कब्जा गर्ने षड्यन्त्रमा फेरि सक्रिय भएको खबर छ । यही कारणले गर्दा नै रातो स्टिकर टाँसेर पुनर्निर्माण गर्नुपर्ने सूचीमा आफैले राखेको यो भवनको पुनर्निर्माणतिर चासो नै नदिई पुनर्निमाण प्राधिकरण विघटन भएको छ ।
यसैगरी भारत सरकारले गरेको यो भवन पुनर्निर्माण गरिदिने भारत सरकारको प्रस्ताव पनि नेपाल सरकार र त्रिभुवन विश्वविद्यालयले भूमाफियाको प्रभावमा आएर अहिलेसम्म चासो देखाएका छैनन् । भुकम्पको कारण खतरनाक अवस्थाबाट गुज्रिराखेको यो ऐतिहासिक भवन पुनर्निर्माण भएमा त्रिचन्द्र क्याम्पसलाई त्यहाँबाट विस्थापित गर्न कठिन हुने र त्रिचन्द्र क्याम्पसले चर्चेको त्यो मूल्यवान जग्गा हडप्न कठिन हुने निष्कर्ष भूमाफियाहरुले निकालेको कारण उक्त भवनको पुनर्निर्माण हुन नसकेको र विद्यार्थीहरुले अत्यन्तै जोखिम मोलेर अध्ययन गर्नुपर्ने अवस्थाबाट गुज्रिनुपरेको हो भनिन्छ ।



