गण्डकी, ३० चैत : मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित गरिएको छ । दुई स्थानबीच विसं २०४७ मा सांस्कृतिक आदानप्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो । तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वय अभावले दुई दशकयता टुकुचे र तोगा सिटीबीच सम्बन्ध निष्क्रिय बनेको थियो ।
राज्यको पुनःसंरचनापछि तत्कालीन टुकुचे गाविस थासाङ गाउँपालिकामा परेको थियो भने तोगासमेत नाम्तोमा गाभिएका कारणले बीचमा समन्वय टुटेको थियो । सुरूआतका केही वर्ष भने सम्बन्ध राम्रो विकास भएको स्थानीयवासीको भनाइ छ । टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाको पहलमा पुनः सम्बन्ध सुदृढ गर्ने सहमति भएको हो ।
पुनःस्थापित सम्बन्धमार्फत पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, शिक्षा तथा स्थानीय विकासका क्षेत्रमा सहकार्य गर्ने योजना बनाइएको छ । स्थानीयवासीले यसले टुकुचेको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । टुकुचे गाउँ र जापानको नाम्तो सिटीको तागोकाबीचमा मितेरी सम्बन्धको सांस्कृतिक मिलन उत्सव आइतबार सुरु भएर आज सम्पन्न भएको छ ।
टुकुचेमा एक भव्य कार्यक्रमका बीच सुरू कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको हो । टुकुचे गाउँ सुधार समितिले कार्यक्रम समन्वय गरेको थियो । कार्यक्रममा सहभागी हुन जापानको तोयामाका प्रेफ्रेक्चर सभामुख सिनिचि ताकेदा, नाम्तो सिटीका मेयर मिकियो तानाका सहितको १८ सदस्यीय टोली टुकुचे आएको छ । टुकुचे र तोगाका बीचमा ३५ वर्षअघि मितेरी सम्बन्ध गाँसिएको थियो । त्यसपछि डेढ दशकसम्म दुई पक्षबीचमा सहयोग आदानप्रदानलगायतका सहकार्य र भ्रमण भए पनि त्यसपछि लामो समय सहकार्य हुन सकेको थिएन ।
लामो प्रयासपछि पुनः सम्बन्ध स्थापित भएको उपलक्ष्यमा सांस्कृतिक उत्सव मनाइएको स्थानीय समाजजेवी तथा टुकेचे–तोका मितेरी कार्यसमितिका अध्यक्ष पवन तुलाचनले बताउनुभयो । “धेरै मेहनतपछि सम्बन्ध नवीकरण भएको छ । बीचमा विभिन्न कारणले सम्पर्क टुटेको थियो । अब दुई गाउँ बिचको प्रगाढ सम्बन्धले समग्र देशको समृद्धिमा सघाउ पुग्नेछ”, तुलाचनले भन्नुभयो ।
मितेरी सम्बन्धपछि टुकुचेका ७५ भन्दा बढी युवाले जापानमा गएर सीप सिक्ने मौका पाएको वडाध्यक्ष सुरेश थकालीले बताउनुभयो । यसका साथै टुकुचेको कृषि विकास र पूर्वाधार विकासमा समेत सहयोग पुगेको उहाँको भनाइ छ । रोकिएको सहकार्य पुनः अघि बढ्ने वडाध्यक्ष थकालीले बताउनुभयो । नाम्तोका मेयर मिकियो तानाकाले आगामी दिनमा सम्बन्ध अझ विस्तार हुने र दुईपक्षबीच सहयोग आदानप्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । कार्यक्रममा मितेरी सम्बन्ध स्थापना गर्नुहुने समाजसेवी अर्जुनसिंह तुलाचन र नाम्तोका मेयर मिकियोलाई सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा समाजसेवी पवन तुलाचन र वडाध्यक्षलाई समेत धवलागिरि महिला बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान गरेको थियो ।
जापानी पाहुना टोलीलाई मुस्ताङको सीमा क्षेत्र घासामा गाउँपालिका अध्यक्ष प्रदीप गौतमलगायतले स्वागत गर्नुभएको थियो । उत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, तारो हान्ने खेल, विद्यार्थीहरूको नृत्य प्रदर्शन तथा टुकुचेका विभिन्न गाउँहरूको भ्रमण गरिएको थियो । नाम्तोको टोलीले टुकेचेका विभिन्न विद्यालय, गुम्बा तथा गाउँपालिका भवनको समेत अवलोकन गरेको थियो । —




