काठमाडौं, चैत ३० । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार आयोजित एक कार्यक्रममा ३३ वटा मोटरसाइकल र १७ वटा स्कुटर सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उक्त सवारी साधनहरू सम्बन्धित मालिकलाई हस्तान्तरण गर्नुभएको हो। ट्राफिक प्रहरी कार्यालयमा परेको निवेदन तथा अन्य विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा ती सवारी साधन उपत्यकाका विभिन्न स्थानबाट फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केही सवारी साधन वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला परेका थिए। ती सवारी साधनहरू भिमढुंगा, स्वयम्भू, नेपालटार, चमती, कपन, थली, बौद्ध, साँखु, नयाँबस्ती, गोकर्ण, माछापोखरी, महाराजगञ्ज, सुकेधारा, पुल्चोक, साङ्ला, फस्कु, चापागाउँ, गठ्ठाघर, एयरपोर्ट, कमलबिनायक, मालिगाउँ, काँडाघारी, जनसेवा, जम्बुडाँडा, मण्डिकाटार र चुनदेवी लगायतका स्थानबाट फेला पारिएको जनाइएको छ।
आज हस्तान्तरण गरिएका ५० वटा सवारी साधनसहित गत साउनयता ३ सय ९४ वटा सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ। त्यसक्रममा चोरीका २२ वटा दुईपाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको पनि प्रहरीले जनाएको छ।
सवारी साधन फिर्ता पाएपछि सवारीधनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई सामूहिक रूपमा धन्यवाद दिएका थिए।
यस अवसरमा कार्यालय प्रमुख एसएसपी अधिकारीले सवारी साधन चोरी वा हराउनबाट जोगिन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्यान्डिल लक, डिस्क लक, सुरक्षा साइरन तथा जीपीएस जडान गर्न र मानिसहरूको आवतजावत नहुने सुनसान स्थानमा सवारी साधन पार्किङ नगर्न अनुरोध गर्नुभएको छ।
उहाँले सवारी साधन हराएमा तत्काल ट्राफिक प्रहरी हटलाइन १०३, नेपाल प्रहरी हटलाइन १०० मा फोन गर्न वा नजिकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने जानकारी दिनुभयो।




