🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
¬© SanghuNews पात्रो sanghunews.com
—
—

नक्कली प्लेटमा ‘घुमिरहेका’ सवारी : चार गाडी प्रहरी फन्दामा पर्दा सीमावर्ती नेटवर्कमाथि शंका

इटहरी । कोशी प्रदेशमा नक्कली नम्बर प्लेट जडान गरेर सवारी सञ्चालन गर्ने प्रवृत्ति अझै सक्रिय रहेको संकेत दिँदै इटहरी क्षेत्रमा चार वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त चेकिङ अभियानमा ती सवारीहरू विभिन्न स्थानबाट फेला परेका हुन् ।

विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा टाटा पन्च, महेन्द्रा बोलेरो पिकअप, हुण्डाईको निजी कार र भारतीय मारुती सुजुकी कार बरामद गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक जाँचमै ती सवारीमा आवश्यक कागजात अभावसँगै नक्कली नेपाली नम्बर प्लेट प्रयोग गरिएको पुष्टि भएपछि थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रहरीका अनुसार एउटा गाडी इटहरी चौकबाट भेटिएको हो भने अर्को लौकही क्षेत्रबाट बरामद गरिएको थियो । त्यस्तै, बिर्तामोड र चन्द्रगढी क्षेत्रबाट समेत सवारी फेला परेका छन् । सबै गाडी परित्यक्त जस्तो अवस्थामा भेटिएकाले चालक वा धनीको पहिचान हुन सकेको छैन ।

ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले यस्ता सवारी भारतबाट अवैध रूपमा भित्र्याइएका वा चोरीका हुन सक्ने आशंका रहेको बताए । उनका अनुसार नक्कली प्लेट जडान गरेर खुला रूपमा सञ्चालन गर्ने शैलीले संगठित गिरोहको संलग्नता देखाउँछ ।

प्रहरीले पछिल्लो समय सीमावर्ती नाकाबाट सवारी तस्करी गरी नेपाल भित्र्याउने र त्यसपछि नक्कली नम्बर प्लेट राखेर प्रयोग गर्ने प्रवृत्ति बढेको जनाएको छ । यसले सवारी चोरी, कर छली र आपराधिक गतिविधिलाई सहज बनाउने जोखिम रहेको अधिकारीहरूको भनाइ छ ।

ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार अब भन्सारमार्फत गाडीको वास्तविक स्वामित्व, उत्पत्ति र कागजातको प्रामाणिकता जाँच गरी कानुनी प्रक्रिया अघि बढाइनेछ ।

प्रहरीले नागरिकलाई सवारी किनबेच गर्दा कागजातको यकिन गर्न र शंकास्पद सवारी देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *