काठमाडौं । नेपाल सरकारको २०८२ चैत २२ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी पदम बहादुर बुढा (पिएच.डी.) र सहायक रथी पवन खत्रीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
जंगी अड्डामा २०८२ चैत २७ गते आयोजित विशेष समारोहबीच प्रधान सेनापतिले दुवै अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा उहाँले नेपाली सेनाको संगठनात्मक सुदृढीकरण, व्यावसायिक दक्षता र राष्ट्रप्रतिको समर्पणलाई अझ मजबुत बनाउँदै अघि बढ्न नवपदोन्नति अधिकृतहरूलाई निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा बलाधिकृत, विभिन्न विभागका रथीवृन्द, वरिष्ठ अधिकृतहरू तथा पदोन्नति हुनुभएका अधिकृतका परिवारजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । समारोह सैन्य परम्परा अनुरूप मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।
पदोन्नति प्राप्त दुवै अधिकृत नेपाली सेनामा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी र दक्ष अधिकृतका रूपमा चिनिन्छन् । उनीहरूको पदोन्नतिले संगठनभित्र नेतृत्व विकास, अनुभवको सदुपयोग तथा भावी रणनीतिक नेतृत्व निर्माणमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।




