काठमाडौँ, २७ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार र आइतबार सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन सबै निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले आज मिति २०८२ चैत २७ गते जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रिपरिषद्को निर्णयअनुसार लागू गरिएको दुईदिने सार्वजनिक बिदाको व्यवस्थालाई मध्यनजर गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सेवा नियमित र प्रभावकारी बनाइराख्न आग्रह गरिएको छ।
विज्ञप्तिअनुसार अस्पतालहरूले आफ्ना कार्यभार र जनशक्ति हेरेर आइतबारसमेत ओपिडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ। यसका लागि कर्मचारीहरूलाई सातामा शनिबारबाहेक अर्को एक दिन बिदा दिने गरी पालो प्रणाली लागू गर्न भनिएको छ। यदि यस्तो व्यवस्था गर्न सम्भव नभएमा आवश्यकताअनुसार सट्टा बिदा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।
त्यस्तै, प्रादेशिक अस्पतालहरूमा समेत यही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्यसम्बन्धी मन्त्रालयलाई अनुरोध गरिएको छ।
मन्त्रालयले सार्वजनिक बिदाका कारण स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको जनाएको छ ।





