🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो sanghunews.com
—
—

‘चन्द्र घण्टी’को सम्झना : सिंहदरबार सुध्रेला ?

नवगठित सरकारले आफ्नो सक्रियता देखाउने सिलसिलामा सिंहदरबारमा निकै चहलपहल सुरु भएको छ । खासगरी १० बजे कार्यालय खुल्ने र ५ बजे बन्द हुने समयतालिका रहे तापनि नयाँ सरकार बनेपछि मन्त्री र कर्मचारीहरू साढे ९ बजेदेखि नै हतारहतार गर्दै सिंहदरबारभित्रका कार्यालय पुग्ने र बेलुका अबेरसम्म बस्ने देखिन थालेका छन् । यो राम्रो सुरुवात हो । यस्ता सक्रियता हरेक सरकार बनेको केही समयसम्म रहन्छन्, तर तिनलाई निरन्तरता दिन सक्नुपर्दछ र त्यो व्यावहारिक पनि हुनुपर्दछ ।

सिंहदरबारको कर्मचारी अनुशासनलाई थितिमा राख्ने प्रयास नेपालका पहिलो मुख्य सचिव तथा पहिलो महालेखा परीक्षक चन्द्रबहादुर थापाले गर्नुभएको थियो । सुशासन र अनुशासनका हिमायती थापाले कर्मचारीहरू समयमै उपस्थित होऊन् र कार्यसम्पादनमा ढिलासुस्ती नहोस् भन्ने उद्देश्यले ‘चन्द्र घण्टी’ पद्धति बसाल्नुभएको थियो ।

कार्यालय समय सुरु हुनासाथ बज्ने त्यो घण्टीले कर्मचारीहरूलाई आ–आफ्नो कार्यकक्षमा पुगेर काम सुरु गर्ने सङ्केत गर्दथ्यो । यो केवल घण्टी मात्र नभई प्रशासनमा समयपालन र नियमितता भन्ने मान्यता स्थापित गर्ने प्रभावकारी औजार थियो ।

थापा आफैं घण्टी बज्नुअघि नै कार्यालय पुग्ने र ढिलो आउनेसँग तत्काल स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने प्रचलनले ढिलासुस्तीलाई निरुत्साहित गरेको थियो । आज पनि ‘चन्द्र घण्टी’लाई सिंहदरबारभित्र अनुशासन कायम गर्ने एउटा प्रतीकका रूपमा स्मरण गरिन्छ ।

यो पंक्तिकार सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्दाको प्रसङ्ग हो । एकपटक हिउँदको समयमा, कार्यालय समय सकिन १५ मिनेट बाँकी छँदै कर्मचारीहरू सिंहदरबारका ‘स्टाफ बस’ चढेर हिंडिसकेको सूचना पाएँ ।तत्कालै सबै गेटमा खबर गरी ४ बजेपछि मात्र बस बाहिर जान दिने व्यवस्था मिलाइयो । अर्को दिनदेखि नै १० बजेअगावै कर्मचारी आइपुग्ने र ४ बजेपछि मात्र बस छुट्ने नियम कडाइका साथ लागू भयो ।

अर्को प्रसङ्गमा, सिंहदरबारका कर्मचारीले पोशाक भत्ता लिने तर, तोकिएको पोशाक नलगाउने गुनासो प्राप्त भयो । त्यसको भोलिपल्टै सामान्य प्रशासन मन्त्रालयबाट गेटमा टोली खटाई पोशाक नलगाएकालाई प्रवेश निषेध गरियो । धेरै कर्मचारी फर्किए भने कतिपयले पोशाक बदलेर आए ।

यो क्रम दुई–तीन दिन चलाउँदा सबै कर्मचारी पोशाकमा आउने वातावरण बन्यो । यसमा पहिलो दिन मन्त्रीकै सचिवालयका कर्मचारीसमेत परेका थिए । यसले के पुष्टि गर्छ भने, साना सुधारलाई पनि निरन्तरता दिन सके प्रशासनमा सकारात्मक प्रभाव पर्छ ।

तेस्रो प्रयास सामान्य प्रशासन मन्त्रालयमा सरुवा र काजका लागि कर्मचारीहरूको मेला जस्तै भीड लाग्ने अवस्थासँग सम्बन्धित थियो । वर्षभरिमा हजारौं कर्मचारी सरुवाका लागि आइरहने भएपछि यसको वैकल्पिक व्यवस्थाबारे छलफल गरियो । तत्समयमा सामान्य प्रशासनमन्त्री रेखा शर्मा हुनुहुन्थ्यो । उहाँ प्रशासन सुधार र सुशासनप्रति अत्यन्तै जागरुक र सकारात्मक हुनुहुन्थ्यो ।

मन्त्रीस“गको सल्लाहमा हामीले भीड हटाउने एउटा उपाय निकाल्यौ“–अधिकार प्रत्यायोजन गर्ने । सोहीअनुसार नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय गराइयो–जिल्लाभित्र एक कार्यालयबाट अर्को कार्यालयमा प्रमुख जिल्ला अधिकारीले सरुवा गर्ने र क्षेत्रभित्र एक कार्यालयबाट अर्को कार्यालयमा क्षेत्रीय प्रशासकले सरुवा गर्ने ।

यो निर्णयपश्चात् बिस्तारै सिंहदरबारमा कर्मचारी सरुवाको भीड हट्यो र यस निर्णयको प्रशंसा पनि भयो । त्यसैले सुधार ठूला मात्र गर्नुपर्छ भन्ने होइन, सानातिना दैनिक काममा सुधार गर्दा पनि राम्रो सन्देश जान्छ ।

सुधारका प्रयासहरू व्यावहारिक पनि हुनुपर्दछन् । हाम्रो सन्दर्भमा विदेशमा जस्तो बिहान ब्रेकफास्ट गरेर ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने र दिउ“सो लन्च खाने व्यवस्था छैन । हाम्रो चलन एकैपटक खाना खाएर १० बजे कार्यालय सञ्चालन गर्ने हो । समयभन्दा धेरै अगाडि कर्मचारी उपस्थित गराउँदा र अबेरसम्म बसाउ“दा लजिस्टिकको समस्या हुने महसुस गरिएको छ ।

अति आवश्यक कर्मचारी छिटो आउने र ढिलोसम्म बस्ने गर्दछन् नै । त्यसैले सुधारका एजेन्डाहरू व्यावहारिक हुनुपर्दछन् । मुख्य समस्या कर्मचारी ढिलो आउने, छिटो जाने र सेवाग्राहीप्रति जिम्मेवार नहुने प्रवृत्तिमा छ ।

ठूला नीतिगत सुधारका साथै कार्यालयमा समयपालन, काममा सक्रियता र मर्यादित व्यवहारजस्ता साना तर आधारभूत कुरामा थिति बसाल्न सके सरकारी कार्यसम्पादनमा ठूलो सुधार आउनेछ ।

अन्तर्राष्ट्रिय स्तरमा समयपालन र निर्धारित पोशाकलाई अनुशासनको कडी मानिन्छ । बेलायतमा समयको सटिकतालाई व्यावसायिक मर्यादाको प्रतीक मानिन्छ भने जापानमा एक मिनेटको ढिलाइलाई पनि गम्भीर रूपमा हेरिन्छ । अमेरिकामा समयलाई उत्पादकत्वसँग जोडिन्छ र दक्षिण कोरियामा निर्धारित समयभन्दा अगावै काम सक्ने संस्कृति छ ।

हाम्रो सन्दर्भमा सङ्घीय संसद्जस्ता उपल्ला निकायमा समेत समयपालनको कमजोरी सांसदहरूले रोस्ट्रमबाटै उठाएको देखिन्छ । हेर्दा सामान्य लागे पनि समयको नियमितता नै कार्यसम्पादन सुधारको पहिलो खुड्किलो हो, जसमा सुधार हुनु अत्यावश्यक छ ।
(शर्मा पूर्व महालेखापरीक्षक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *