बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको टोलीले २०८२ चैत २५ गते राति करिब १० बजे विभिन्न क्यासिनोमा गरिएको चेकजाँचका क्रममा उक्त क्यासिनोमा छापा मारेको हो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा क्यासिनोभित्र नेपाली नागरिकहरू जुवा खेलिरहेको र जुवा खेलाउने कार्यसमेत भइरहेको फेला परेपछि संलग्न व्यक्तिहरूलाई नगद र विभिन्न दाउ सामग्रीसहित नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीले जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा सर्लाही बरहथवा नगरपालिका–८ निवासी ३१ वर्षीय मुकेश कुमार श्रेष्ठ र ललितपुर गोदावरी नगरपालिका–१५ निवासी ४१ वर्षीय अजय केसीलाई नियन्त्रणमा लिएको छ।
यस्तै, जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–१२ निवासी ३५ वर्षीय गोबिन्द शर्मा, बुटवल–९ निवासी ३५ वर्षीय बासुदेव गौतम, सोही स्थानका ३५ वर्षीय कृष्ण गौतम र बुटवल–११ निवासी ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
प्रहरीले उक्त स्थानबाट नेपाली नगद २ लाख १७ हजार ३९० रुपैयाँ, भारतीय नगद ३ हजार ५०० रुपैयाँ, क्यासिनो क्वाइन १ लाख २५ हजार रुपैयाँ (आईसी), विभिन्न कम्पनीका ६ थान मोबाइल सेट र ७ गड्डी तास बरामद गरेको छ।
रुपन्देही प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न मनोरञ्जनस्थल, क्यासिनो तथा होटलहरूमा अवैध गतिविधि नियन्त्रण गर्न निगरानी र चेकजाँच कडा बनाएको जनाएको छ। सोही अभियानअन्तर्गत सीएमजी क्लब क्यासिनोमा गरिएको अपरेसनमा जुवाखेलसम्बन्धी गतिविधि फेला परेको हो।
प्रहरी स्रोतका अनुसार बरामद नगद, क्यासिनो क्वाइन र अन्य सामग्रीको मुचुल्का उठाइ कानुनी प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेकामाथि जुवा ऐन तथा प्रचलित कानुनअनुसार थप अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने भएको छ।
स्थानीय स्तरमा क्यासिनो तथा क्लबको आवरणमा जुवाखेल सञ्चालन भइरहेका गुनासाहरू बेलाबेलामा उठ्दै आएका बेला रुपन्देही प्रहरीको यो कारबाहीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि आकस्मिक अनुगमन र सूचनाका आधारमा छापा अभियान जारी रहने संकेत पनि दिएको छ।




