काठमाडौं । नेपाली कांग्रेसले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदको पहिलो बैठकमा समेत दलको नेता चयन हुन नसक्दा प्रतिनिधिलाई बोल्न पठाउनुपरेको अवस्था बन्यो । कांग्रेसबाहेक अन्य सबै दलले आफ्ना संसदीय दलका नेता टुंग्याइसकेका छन् ।
विगतमा शेरबहादुर देउवाको नेतृत्वका कारण यस्ता निर्णय ढिला हुने भन्दै आलोचना गर्ने गगन थापा अहिले स्वयं दलको नेता चयन गर्न नसकेको आरोपको घेरामा परेका छन् । चुनावी पराजयपछि उनी बाहिर धेरै बोल्न सकेका छैनन् । पार्टीलाई सहज रूपमा चलाउनेभन्दा पुरानै शैलीतर्फ फर्किएको आरोप पनि उनीमाथि लाग्न थालेको छ ।
कांग्रेसमा पुरानै रोग भए पनि संसदीय दलको नेता चयनमा यति धेरै ढिलाइ भने कमै हुने गरेको थियो । प्रायः दलको नेता चाँडै चयन हुन्थ्यो, पछि उपनेता, प्रमुख सचेतक र सचेतक चयनमा विवाद देखिन्थ्यो । यसपटक भने प्रारम्भिक चरणमै कांग्रेस अल्झिएको छ ।
थापाले आफ्ना ससुरा अर्जुननरसिंह केसीलाई संसदीय दलको नेता बनाउन चाहेको चर्चा छ । संवैधानिक परिषदमा सदस्य हुने भएकाले पनि उनी आफू निकट व्यक्तिलाई दलको नेता बनाउन चाहेको बुझाइ छ । तर परिस्थिति केसीको पक्षमा सहज छैन । उनी ससुरा भएका कारण मात्र होइन, उमेर र पुस्तान्तरणको प्रश्नका कारण पनि आलोचनामा छन् ।
थापाले केसीप्रति चाहना देखाएपछि विपक्षी समूहले भीष्म आङ्देम्बे र विष्णु खड्का लगायतका नाम अघि सार्ने तयारी गरेको बताइन्छ । विपक्षी सांसदहरूको संख्या बलियो रहेकाले थापा दबाबमा परेका छन् । यदि मतदानबाट टुंगो लगाउने अवस्था आयो र हार भयो भने त्यो थप अप्ठ्यारो बन्ने बुझाइ थापामा देखिन्छ । देउवा पक्षका सांसदहरूको संख्याले पनि उनलाई सजिलो छाडेको छैन ।
अर्कातिर, थापाकै समूहभित्र नयाँ अनुहारलाई संसदीय दलको नेता बनाउनुपर्ने मत उठिरहेको छ । वासना थापा र निष्कल राईसम्मका नाम चर्चामा छन् । तर थापा नयाँ पुस्तालाई नेतृत्व दिन इच्छुक नदेखिएको चर्चा छ । यही कारण अहिले थापा स्वयं अप्ठ्यारोमा पर्दा दललाई बन्धक बनाएर बसेको आरोप उठ्न थालेको छ । विगतमा अरूमाथि गर्ने आलोचना अहिले उनैमाथि फर्किएको छ ।




