• मंगलबार-असोज-२२-२०८१

पार्टी बचाउन माधवको जीहजुरी  

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धन भत्काउन आफू भन्दा पनि अरुलाई परिचलान गरेका छन् । गठबन्धन भत्काउने रणनीतिमा लागेका प्रचण्डले आफै अग्रसर भइहाल्ने संकेत भने देखाएका छैनन् । मुख्यगरी एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपाललाई अगाडि सारेर गठबन्धन भत्काउन खोजेका हुन् । भारतीयहरुको विश्वासमा रहेका र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सम्झाउन सक्ने नेता भएका कारण माधव नेपाललाई अगाडि सारेको अनुमान गरिएको छ । माधव नेपाल भने निरन्तर सम्पर्कमा रहेर देउवासँग छलफल अगाडि बढाएका छन् । 


स्रोतहरुका अनुसार, उनीहरु नयाँ गठबन्धन बनाउने प्रस्तावमा भन्दा पनि विश्वासको वातावरण बनाउने र परिस्थिति निर्माणको चरणमा रहेका छन् । निरन्तरत छलफलमा रहेका नेपालले देउवालाई पार्टी विभाजनमा सहयोग नगर्न गरिएको आग्रहसँग जोडिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली एसलाई विभाजित गराईदिने पक्षमा रहेका छन् । स्रोत भन्छ, पीएम ओली राजजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर भएपनि फुटाउने खेलमा रहेका छन् । तर, त्यसलाई रोक्ने क्षमता देउवासँगमात्रै रहेको छ ।

 

सोहीकारण माधव नेपालले आफ्नो पार्टी बचाउन देउवालाई निरन्तर भेट गरिरहेका छन् । अध्यादेश ल्याउन रोक्नका लागि मनाउने प्रयासमा नेपालले बुढानीलकण्ठमा पुगेर देउवालाई भेटेर जीहजुरी गरिरहेका छन् । अध्यादेश रोक्न सकिए पार्टी जोगिने बुझाइमा माधव नेपाल रहेका छन् । त्यसका लागि देउवा नै सबैभन्दा बलियो र प्रमुख खम्बा हुन् । त्यसैले,  भोलिका दिनमा जे पनि हुनसक्ने र ओलीको विकल्प खोज्नुपर्ने बेलामा आफ्नो पार्टी चाहिन सक्ने भन्दै नेपालले देउवालाई मनाउने प्रयास गरिरहेका छन् । देउवाकै कारण गठन भएको पार्टी देउवाकै कारण विभाजित नहोस् भन्ने सन्देश लिएर  नेपाल जाने गरेका छन् । 


त्यसमा प्रचण्डको सन्देश पनि साथै लैजाने गरेका छन् । प्रचण्डले पनि नेपाललाई नै देउवालाई मनाउने जिम्मा दिएका छन् । प्रचण्डलाइ सहजै सीधासीधा देउवाले विश्वास गर्ने अवस्था नभएका कारणले नेपाल दूतको रुपमा रहेका हुन् । प्रचण्डको जिम्मा लिने भन्दै नेपालले पनि देउवालाई विश्वासमा लिने प्रयास भने जारी राखेका छन् । त्यसो त, पछिल्ला दिनमा अहिलेको गठबन्धनप्रति भारतीय सरकारको सकारात्मक सहयोग नरहेका कारण पनि देउवालाई मनाउन प्रचण्डले नेपाललाई प्रयोग गरेको बताइन्छ । 


 यता प्रधानमन्त्री ओली पनि देउवालाई विश्वासमा लिने प्रयासमा रहेका छन् । देउवा र उनकी पत्नी आरजु राणाले जे भने पनि स्वीकार गर्ने रणनीतिमा रहेका छन् । त्यसैले, आरजुको डिजाइनमा सरकार चलाउने ओली नीति देखिएको चर्चा पनि सिंहदरबारमा भइरहेको छ । आरजुलाई मनाउन सके गठबन्धन टिक्ने पनि ओलीको बुझाइ देखिन्छ । 


एस विभाजनको लागि अन्तिम तयारीमा रहेको छ । अध्यादेशको पखाईमा रहेका एसका नेताहरुले भने ओलीलाई दबाब दिइरहेका छन् । तर, यता नेपाल भने पार्टी विभाजन रोक्न अध्यादेशश रोक्न देउवालाई दबाब दिइरहेका छन् । त्यसैले अहिले देउवा दोहोरो चेपुवामा रहेको चर्चा भइरहेको छ । (साँघु साप्ताहिक, २०८१ असोज २१) 

प्रतिकृया दिनुहोस