• शनिबार-असोज-५-२०८१

पवित्र शहरः तानसेनमा नेवाःको आगमन र बसोबास : व्यावसायिक, धार्मिक, सांस्कृतिक पक्षः केही विवेचना–(४)

 

हाम्रो थर सिंह र वैद्य बारेमा  हालको परिवेशमा विगतलाई फर्केर हेर्दा हाम्रो पुर्खा खास गरी भक्तपुरबाट गएको आनन्द नरसिंह र उनका छोरा बुद्धिनर सिंह र शिव नरसिंहले धेरै मेहनत, कठिन परिश्रम, लगनशीलता र अवसरको खोजीको सिलसिलामा विभिन्न ठाउँमा बसाई सराई गर्दै आफ्नो जीविका र जीवनस्तर उठाउन संघर्ष गरेको इतिहास हाम्रो पुर्खामा रहेको देखिन्छ । 

 

कुनै शान सौकतमा रहेर फुर्मासी खर्च  गरेर वा तत्कालीन अवस्थाका प्रशासनिक प्रमुखको आशीर्वाद, दया, मायाँ र निगाहले बक्सिसबाट जग्गा जमिन जोडेर प्रसस्त सम्पत्ति कमाएको अनुभूत हुँदैन । तर, पछि क्रमशः पुस्ताको विस्तार, नयाँ अवसरको प्राप्ति, बसाई सराई, उच्च शिक्षाको प्राप्तिका अवसर आदि कारणले अग्रगामी छलाङ्ग लगाई प्रगति र उन्नति गरेको अनुभूत र हालसम्मको इन्द्रमान सिंहको सन्नतिको अध्ययन गर्दा देखिन्छ ।

 
सिंह परिवार वा उझाँनथाचेहरुको पुर्खाको लेख, पुरातात्विक वस्तु तथा अग्रजहरुको कथन अनुसार वर्तमान नेपालमा पहिले अनेकौं राज्यहरु थिए । ख्वःप (भक्तपुर) पनि एउटा राज्य थियो । त्यहाँ सम्पन्न, इज्जतदार, भारदार, बैद्य मध्ये एक उझाँनथाचे परिवार समेतको बसोबास गर्दथ्यो । यो समूह भारतका उज्जेनबाट आएको र भक्तपुरमा बसोबास गरेको भनिन्छ । राजा रणजीत मल्ल उझाँनथाचे खलकका ज्वाइँ हुनुहुन्थ्यो ।


पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानपछि ख्वःपबाट १८२७ मा धेरै नेवार पाल्पालगायत अन्य ठाउँमा गएको देखिन्छ । धेरैवर्ष निकै दुःख कष्ट सहेर कडा परिश्रम गरी तिनीहरुले श्रीसम्पत्ति आर्जन गरी आफ्नो बन्दोबस्त राम्रोसँग मिलाएर बस्न थाले ।


२०४६ सालमा सबै राजनैतिक पार्टी बीच एकता भई क्रान्ति गर्दा प्रजातन्त्र फेरि ल्याई सफल भएको हुँदा उझाँनथाचे जो पाल्पा तानसेन र बाग्लुङ्ग गएका थिए र पछि काठमाडौं आएर बसे ती परिवारमा पनि एकताको लहर आयो । त्यो लहरको प्रभावबाट उझाँनथाचे÷सिंह वा बैद्य परिवार पनि अलग रहन सकेनन् । यसरी जम्मा भै हरेक वर्षको अक्षय तृतीय पछिको पहिलो शनिवारको हप्ता सबै भेला भै हरिसिद्धिको पूजा गर्ने, थकालीबाट टीका लगाई दिने क्रम चलेको देखिन्छ । छोरी ज्वाइँ र तिनका सन्तान अरु समेत त्यस अवसरमा हुने भोजभतेरमा सामेल हुने गर्दछन् । यो एक साल हरिसिद्धि र अर्को साल भक्तपुरको भैरव (न्यातपोल) मन्दिरमा सभक्ति, भावपूर्ण पूजा, आराधन गर्ने गरिन्छ । 


यसैगरी समयको महत्व, काठमाडौं उपत्यकामा नै विभिन्न ठाउँमा छरिएर रहेको परिवारमा दशैंको टीका लगाउने एकीकृत ठाउँमा गरी गर्दा छोरी वेटी, भान्जा÷भान्जी, नाति÷नातिनी समेतलाई सहज हुने ठानी बिजया–दशमीको टीका सिद्धिएको तृतीयाको दिनमा २०६७ सालदेखि यो परम्परा शुरु गरिएको छ । यसको प्रथम शुरुवात दशरथमान सिंहले टीका लगाई ललितपुरको मान भवनबाट शुरु भएको हो । यसको अन्य समुदायबाट समेत सह्राना भएको र यसको अनुकरण वा नक्कल वा भनौं सिको गर्न थालेका उदाहरणहरु पाइन्छन् । 


कुल घर केवल माटो र इँटाका मात्र संरचना होइन् त्यस स्थानमा हाम्रा पितापुर्खाका आस्था इच्छा, आकाँक्षा, सम्वृद्धि तथा आशा र संस्मरण पनि समाविष्ट भएको हुन्छ । यसैले कुल पूजा, कुल घर र इष्ट देवताको रक्षा तथा यसका परम्परालाई कायम गरी राख्न हामी सबैले उझाँनथाछेें÷बैद्य वा सिंह परिवार र ईन्द्रमान सिंहका सन्ततिहरुको परम्कर्तव्य र दायित्व पनि हो भन्ने कुराको अनुभूति सबै सम्बन्धितले गर्नुपर्छ भन्नेमा कसैको विमत्ति नहोला । 


पाल्पामा सेनकालदेखि नै नेवारहरूको उपस्थिति रहेको सन्दर्भमा महादत्तसेनले आफ्नो शासनकालमा श्रीनगर शहर (हालको तानसेन) स्थापना गरी सेनराज्यको राजधानी पाल्पा पूर्णाकोटबाट तानसेनमा सारेका थिए । सो शहर बसालेको उल्लेख भएको शिलालेख जुन हालको टँुडिखेलमुनि सेन माध्यमिक विद्यालयको बगलमा रहेको बटुक भैरव मन्दिरभित्र रहेको छ, त्यस शिलालेखमा केही नेवारहरूको नाम उत्कीर्ण गरिएको छ । यस कुराले पनि नेवारहरूको बसोबास पाल्पामा सेनकालदेखि भएको पुष्टि हुन्छ ।


यसरी हेर्दा, नेपाल सम्बत् ७८३ मा राजा प्रताप मल्लको पालामा शत्रुराज्यहरुद्वारा भक्तपुरमा नाकाबन्दी गरिदा मूल थलो भक्तपुर भएका केही नेवारहरु उपत्यका छोडी बाहिरिएका थिए भन्ने पनि भनाई छ  । नेपाल सम्वत् ८३९ मा काठमाडौं उपत्यका वा भनौ नेपाल खाल्डोमा महामारी फैलिंदा उपत्यकाका नेवारहरु अवसरको खोजीमा विभिन्न ठाउँमा गएर बस्दै आउने क्रममा पाल्पामा पनि सेनकालीन समयदेखिनै नेवारहरुको आगमन भएको हुनुपर्छ भन्ने अभिमत राख्नेहरु पनि छन् ।  तर, यस सम्बन्धमा ठोस आधार र प्रमाण नभएको हुँदा सुरुमा  कहिले र कहाँबाट नेवारहरु पाल्पा आएर बसोबास गरेको हो, छलफल, अध्ययन अनुसन्धानको विषय हुन सक्छ । यसमा त्रि विलगायत अन्य र नेवार समुदाय आफैले समेत गर्न सक्छन् । 


यसै सन्दर्भमा, वि. सं. १८३४ अर्थात् नेपाल सम्बत ८९८ मा नेपालका राजा प्रतापसिंह शाहको पालामा लिखित एक ऐतिहासिक पत्रमा तानसेनमा जय नरसिंह नेवारको नाम उल्लेख भएकाले पनि नेवारहरुको  बस्ति रहेको भन्ने कुरा सिद्ध हुन आउछ ।  यसैले पनि कम्तीमा २४७ वर्ष अघिदेखि नै राजा मुकुन्द सेन द्वितीयको पालामा तानसेन पाल्पामा नेवारहरु थिए भन्ने आधिकारिक प्रमाणित हुन्छ भन्नुमा अतियुक्ति नहोला । 


यी नेवारहरु हिन्दू नेवार थिए । वि. सं १८६१ अर्थात् नेपाल सम्बत ९२५ मा  पाल्पा राज्यमा रहेको तानसेन  नेपालमा गाभिए पछि पाल्पा गौडामा प्रथम तैनाथवाला जनरल अमरसिंह थापासंगै पाटन र भक्तपुरका शाक्य र बज्राचार्य मूल  बौद्ध सम्प्रदायका नेवारहरुको समेत तानसेनमा आगमन भएको सहजै अनुमान गर्न सकिन्छ ।  


काठमाडौंबाट पृथ्वीपाल सेनले मिति फसली सन् १२११ (वि.सं. १८६०)मा  पाल्पा सामाकोट टक्सारका विष्णु महाजन र बौझगरी महाजनलाई टक्सार चलाउनु भनी लेखेको पत्रले टक्सार चलाउने कार्य नेवारबाट हुने र सो ठाउँमा नेवारहरूको बसोबास रहेको देखिन्छ  । सोही गा.वि.स.मा रहेको भीमसेन मन्दिरको घण्टमा लेखिएको यी हरफहरू ‘स्वस्ति श्री सम्वत् १८६४ साल मिति पौष बदि १३ रोज ७ दथु टोलको भजन गर्ने भाइले यो घण्ट श्री ५ भीमसेन प्रति समर्पण थामी शुभम् ।।’ ले पाल्पामा नेवारहरूको आगमन सम्बत् १८६४ साल भन्दा पहिलेदेखि नै भएको देखिन्छ भन्ने इतिहासकारहरुको भनाई छ  ।


यसैगरी पाल्पामा बसिआएका नेवारहरूको गुठीका ढड्डाहरूमा उल्लिखित मितिहरूले सेनकाल र राज्यविस्तारका क्रममा सरकारी सेवा र व्यापारको सिलसिलामा पाल्पामा नेवारहरूको आगमन भएको देखिन्छ । सहश्ररामका सन्तान सेठहरू प्रधानहरूको वंशावलीमा यिनीहरू पाल्पा आएको वि.सं. १८७२ साल उल्लेख छ । पाल्पाराज्य नेपाल अधिराज्यमा विलय भएपछि हालको तानसेन पाल्पाको प्रशासनिक केन्द्रका रूपमा विकसित हुन गयो । 


वि.सं. १८८६ साल मिति आश्विन सुदि ४ रोज ६ को बख्तावरसिंह थापाको पालामा चौधरी अमालीले घर पजनी नगर्न, आफ्नो षातिमसंग पक्का घर बनाई फिंगटी लगाई बजार गुल्जार गर्नु भन्ने तानसेनका महाजन व्यापारी नेवारहरू मणिराज, मेहखान, साधुराम, मनिरत्न, तेजनारायण, चुकढीदेवी, नरसिंह (समर नरसिंह) आदिको नाममा भएको लालमोहरले नेवारहरूको स्थायी बसोबासको थालनी हुन गएको देखिन्छ ।
 

प्रतिकृया दिनुहोस