• बिहीबार-असोज-३-२०८१

पवित्र शहरः तानसेनमा नेवाःको आगमन र बसोबास

व्यावसायिक, धार्मिक, सांस्कृतिक पक्षः केही विवेचना–(३)

 

तानसेनमा विभिन्न जातिले आआफ्ना धार्मिक आस्था, मूल्य मान्यता र आवश्यकता परिपूर्तिका लागि टोलटोलमा देवीदेवताको स्थापना, मठ, मन्दिरको निर्माण, मनोरञ्जन र सांस्कृतिक क्रियाकलापको आयोजनाका लागि खुला चोक र पोखरीको व्यवस्थापन गरेको देखिन्छ  । तानसेनका बौद्धमार्गीहरूको  महत्त्वपूर्ण सांस्कृतिक पर्वोत्सव अष्टमी व्रत हो । चैत्य र विहारहरूमा गरिने पूजाआजा र उपासना अष्टमीमा गरिन्छ । 


मुख्य आकर्षकहरुमाः
तानसेनमा  सांस्कृतिक सम्पदाहरू चिनारी तथा वैभवताका प्रतीक हुन्  । मुख्य आकर्षकहरुमाः  पाल्पा दरबार, एसियाकै ठूलो ढोका मानिने मूलढोका, रणउजीरेश्वरी भगवती मन्दिर, नेपालको एक प्रसिद्ध धाम मानिने रूरू रिडी धाम (ऋषिकेश धाम), प्रेमको प्रतीक मानिने खड्ग शमशेरद्वारा निर्मित रानीमहल, भैरवस्थान, परम्परागत पाल्पाली शिल्प करुवा र पाल्पाली ढाका टोपी, अमरनारायण मन्दिर, आनन्द विहार तथा अर्गेली दरबार आदि प्रमुख हुन्  । 


पाल्पालाई चिनाउने प्रसिद्ध धरोहर हुन् यी । यी धरोहरकोे संरक्षण, मर्मतसम्भार, जीर्णोद्धार तथा व्यवस्थापनको कार्यमा पनि हाम्रो ध्यान पुग्नु पर्छ । स्मारक र स्मारक क्षेत्रको ऐतिहासिकता, मौलिकता, संवेदनशीलता, आधिकारिकता र प्रामाणिकतालाई अक्षुण्ण राखी भावीपुस्तामा हस्तान्तरण गर्नु नेवा गुठीः तानसेनद्वारा तानसेन नगरपालिका भित्रका १४ वटै वडाभित्र रहेका नेवार समुदायका गुठी, खल, समितिका अध्यक्ष एवं प्रतिनिधिहरू भेला गराई  ‘‘तानसेनमा नेवाः संस्कृति र हालको अवस्था’’ बारे भएका र हुने गरेका अन्तरक्रिया कार्यक्र को आयोजना गरिएको स्मरणीय र महत्वपूर्ण छ । 


तानसेनको नेवा समुदायमा भाषाको प्रयोगमा कमी हुँदै जानु खास गरि बोलचाल र लेखनमा , नेवारहरू तानसेन छोडी बाहिरी जिल्लामा र विदेशमा राम्रो अवसरको खोजीको लागी जानु, नेवारी समुदायहरूमा चलि आएको नेवारी संस्कृति परम्पराहरूमा रुचि कम हुँदै जानु आदि विभिन्न कारणले तानसेनमा नेवारहरूको कला संस्कृति साथै नेवारहरूको आफ्नो पहिचान घुमाउने त होइन भन्ने विषयमा सबैको चिन्ता र चासो हो । 


नेवा भाषा संस्कृति बचाउन सबै एकजुट भई लाग्नु पर्नेमा कुनै विमति छैन । तानसेनमा नेवा समुदायका सन्हा गुठीहरू, पाल्पाली नेवा धिमेबाजा, जात्रा समितिहरु, चुडाकर्म समिति, पाल्पाली नाट्य कला केन्द्रलगायत संस्थाहरु अहिले पनि सक्रिय छन् । 


केही सान्दर्भिक तर्कहरूमा :
नेवार शब्दको उत्पत्ति र विकाश सन्दर्भ मा विभिन्न तर्कहरु रहेको देखिन्छ ।  दक्षिण भारतको नायर (तत्कालीन  देश) निवासी हरु नेपाल उपत्यका विस्थापन र पुनःस्थापनमा तानसेनका नेवार हरु समेत रहेको देखिन्छ ।  नेवार जातिको प्राचीन अवस्थासम्बन्धमा विभिन्न स्वदेशी तथा विदेशी विद्वान्हरूले गरेका खोज तथा व्यक्त विचारका आधारमा नेवारहरू नेपालमा प्राचीनकालदेखि नै बसोबास गर्दै आएको तथ्य पुष्टि हुन्छ । 


हेमिल्टनको अध्ययनअनुसार भाषा वंशावलीको अध्ययनबाट नेपाल आवाद गर्ने मञ्जुश्री बोधिसत्त्व स्वयम् महाचीनबाट आफ्ना थुप्रै शिष्यका साथ आएका थिए । नेवारहरूको भाषा, शारीरिक सुगठन, कलाको मिलान आदिले गर्दा नेवार जाति विशुद्ध मंगोल हुन् । नेवार सभ्यताको ऐतिहासिक र भौगोलिक केन्द्र पहाडी उब्जाउ जमिन काठमाडौं उपत्यका नै हो ।


प्राचीनकालको अन्त्य र मध्यकालको इतिहास केलाउँदा तत्कालीन नेपाल उपत्यकाको पूर्वतर्फ र पश्चिमतर्फ गरी क्रमशः साना–साना बाइसी र चौबिसे राज्यहरूमा विभक्त रहेको देखिन्छ भने नेपालको वर्तमान भौगोलिक, सामाजिक र राजनीतिक स्वरूपबाट यो एक सानो राष्ट्र हुनुका साथसाथै एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र रहिआएको प्रमाणित हुन्छ । विश्वमै अलग जातीय विशिष्टता कायम गरेको यो देशमा कुनै पनि जातिको बाहुल्य छैन । यो नेपालको आफ्नै  मौलिक पक्ष हो । 


भाषा वंशावलीअनुसार नेवार ब्रम्हपुत्र क्षेत्री हुन् । यिनको आदि निवासस्थल दक्षिण भारतको नायर प्रदेश हो । १२औं शताब्दीमा नेपाल आई आफ्नो राज्य कायम गर्ने कर्नाटवंशी राजा नान्यदेवको साथमा नेवारहरू नेपाल आएका हुन् भन्ने भनाई पनि रहेको पाइन्छ । कर्कप्याट्रिकको विचारमा नेवार स्वतन्त्र जाति हो । नेवार शब्दको व्युत्पत्ति यस जातिको मूल निवासस्थल नेपालमा भएको हो । डा. डिल्लीरमण रेग्मीका अनुसार क्राइस्ट जन्मिनुभन्दा ६ सय वर्षअगाडि नेवारहरू देखा परेका छन् । नेवारी र अंगेजी साहित्यका ज्ञाता डा. कमलप्रकाश मल्ल भन्नुहुन्छ, नेवारहरू जति पुराना छन् ‘नेपालभाषा’ पनि त्यति नै पुराना छन् । विद्वानहरूको भनाइ यो पनि छ कि प्राग्–ऐतिहासिककालमा तत्कालीन नेपाल खाल्डो (वर्तमानमा काठमाडौं उपत्यका) मा ग्वाला÷गोपालीहरू (मधेस÷तराईको शब्दमा आभीर÷आहिर÷यदुवंशी यादव) ले पहिलो बस्ती बसालेका थिए ।


नेवार भन्ने बित्तिकै मिलनसार, मेहनती र सरल मिजासका जातिको झझल्को मानसपटलमा आउने गर्छ । देख्दा फरासिला र हँसिला देखिने नेवारहरू मेहनती र मिलनसार पनि उत्ति नै हुन्छन् । यसरी हेर्दा, उन्नाइसौं शताब्दीको आधाआधीतिर बुटवल इन्ट्रो पट ट्रेडको रूपमा विकास भएसंगै तानसेन, पोखरा र बन्दीपुरजस्ता पहाडी शहरहरूमा नेवार व्यापारी र साना उद्योगीहरू काठमाडौं खाल्डाबाट आएको पाइन्छ ।


पाल्पामा नेवारहरूको आगमनको सन्दर्भमा काठमाडौं खाल्डोबाट नेवारहरू पाल्पामा आउने क्रम सेनकालदेखि नै भएको देखिन्छ । भाषा वंशावलीमा उल्लेख भए अनुसार नेपाल सम्वत् ६२२ तिर रत्न मल्लको पालामा कुकु नामका भोटे देवान आदि भोटेहरू धेरै आई दुःख दिंदा पाल्पाली सेन राजाका गुरु तिरौहतिया चार ब्राम्हणहरूलाई पाल्पा पठाई सेन राजाहरूसंग सैनिक सहयोग लिई भोटेहरूलाई मारेको उल्लेख छ, यस प्रसंगले काठमाडौं खाल्डाका मल्ल राजाहरू र पाल्पाली सेनराजाहरूको सम्बन्ध राम्रो भएको देखिन्छ । 


त्यति बेलादेखिनै नेवारहरू व्यापार, व्यवसाय र निर्माण कार्यका लागि पाल्पा आएका थिए भन्ने कुरा हालको पाल्पा जिल्लासाविकको भैरवस्थान कास्कीमा पनि १७५२ तिर काठमाडौंको छाँटको इंटको गा.वि.स. र सेरोफेरोमा देखिने नेवारी शैलीका घरका, घर बनाउन र व्यापारका लागि नेवारहरूलाई कास्कीमा याल, ढोका, थामहरूमा कुँदिएका काष्ठकलाका बेजोड नमुनाबाट पुष्टि हुन्छ भने पाल्पामा हालसम्म जीवन्त रहेको नेवारी संस्कृति, रीति–रिवाज, भेषभूषा, खानपानले पनि थप पुष्टि गर्छ । (साँघु साप्ताहिक, २०८१ भदौ २४)
 

प्रतिकृया दिनुहोस