• मंगलबार-असोज-१-२०८१

पवित्र शहरः तानसेनमा नेवाःको आगमन र बसोबास 

व्यावसायिक, धार्मिक, सांस्कृतिक पक्षः केही विवेचना–(२)

 

प्रसिद्ध पाल्पाको तानसेनको टक्सार टोल र यो क्षेत्र यसको वास्तुकलाको लागि महत्त्वपूर्ण छ । सम्पदा, सांस्कृतिक इतिहास र परम्परागत नेवारी शिल्पकलाका लागि समेत ख्याति प्राप्त छ । टक्सारले परम्परागत नेवारी वास्तुकला प्रदर्शन गर्दछ, जुन एक अद्वितीय छ नेपाली संस्कृतिको पक्ष यी भवनहरूको संरक्षणले मर्मत गर्न मद्दत गर्दछ । यो क्षेत्रको सांस्कृतिक पहिचान र सम्पदाको लागि समेत आवश्यक छ । पाल्पाली ढाकाको प्रख्यातिलाई समेत जोगाई राख्नु जरुरी छ । 


यसको ऐतिहासिकता छ एक व्यापार केन्द्र र विभिन्न संस्कृतिहरुको एक पित्तल र काँसको भाँडाको रूपमा समेत महत्व बढी छ । वास्तु सम्पदाको संरक्षणले पर्यटन प्रवद्र्धन गर्न, इतिहासमा रुची राख्ने आगन्तुकहरूलाई आकर्षित गर्न, संस्कृति, र परम्परागत शिल्प कौशल, जसले स्थानीय अर्थव्यवस्थामा योगदान गर्न सक्छ । टक्सारको वास्तुकलाको अखण्डतालाई जोगाउन मद्दत गर्दछ । समुदायको पहिचान र परम्परागत नेवारी वास्तुकलाको लागि त्यहाँका बासिन्दाहरूमा गर्वको भावना बढाउँछ ।


सिद्धार्थ राजमार्ग बने पछि र अर्घाखाँचीलाई बुटवलसंग जोडिने अर्को बाटो बने पछि तानसेनको आर्थिक क्रियाकलाप उल्लेखनीय रुपमा घट्न गयो र पछि शिक्षा, पर्यटन र स्वास्थ्यको विकाशको रटान लगाएको भएपनि जबसम्म आर्थिक क्रियाकलाप हुन्न तब मानिस राम्रो अवसर र विकाशको खोजीको लागि अर्को ठाउँमा बसाई सर्ने र विदेशमा समेत पलायनलाई रोक्न सकिन्न । 
अहिले भनिन्छ केवल ३५–४० मात्र नेवारका घर होलान धेरैले बिक्री गरि बुटवल, भैरहवा, काठमाडौँ र कति त विदेशमा नै गइ सके । राणाले तानसेन चम्काएका थिए  तत्कालीन  दरबारबाट पश्चिम नेपालमा शासन चलाएका थिए । आजको दिनमा ती सबै इतिहास भए  ।


भनिन्छ इतिहास थाहा भएन भने त्यो जति बुढो भए पनि बच्चा हो  । एउटा उमेरले बुढो हुन्छ अर्को ज्ञानले बुढो हुन्छ मानिस । त्यसो भएको हुनाले आफ्नो जन्म थलो, कर्मथलो  र ज्ञान राख्ने इछुकको बारेमा केही ज्ञान राख्नु पर्छ भन्ने आम धारणा रहेको बस्तुनिष्ठ यथार्थ छ ।


तानसेन कै सन्दर्भमा भन्ने हो भने, मुलुकमा २००७ सालको क्रान्तिपछि केही समय चहलपहल थिएन । २०१५ सालमा तत्कालीन राजा महेन्द्रको आदेशमा साविक नगरपालिका, जिविस, प्रशासन, अदालत, मालपोत सबै कार्यालय दरबारबाट सञ्चालन भए ।  अहिले भवनमा पाल्पा दरबार संग्रहालय  बनाईएको छ । भवनभित्र ऐतिहासिक र पुरातात्त्विक वस्तुको संग्रह गर्नुपर्नेमा त्यस्तो नभएको स्थानीयबासी  भन्छन् । विस्तारै यसमा प्रगति होला ।


२०६२ माघमा तत्कालीन विद्रोही माओवादीको आक्रमणबाट दरबारध्वस्त भएको थियो । तत्पश्यात अहिले दरबार पुनःनिर्माण गरिएको छ ।  तत्कालीन माओवादी आक्रमणबाट ध्वस्त दरबारका पुरातात्त्विक, ऐतिहासिकता र कलाकौशललाई कतै नबिगारीकन पुनःनिर्माण गरिएको छ । काठैकाठ र इँटाबाट निर्माणाधीन दरबारलाई पुरानै स्वरूपमा ढालिएको छ ।


यो प्रदेशको नमुना संग्रहालय बनाउने योजना छ तर इजिप्टको जस्तो संग्राहलय जहाँ लाखौ पर्यटक त्यो इतिहास हेर्न आउछन्, त्यस्तै हेर्न आउलान, इजिप्टको पिरामिड वा आगराको ताज महल  जस्तो हेर्न रानी महल कति आकर्षक होला त्यो सकारात्मक दृष्टिबाट हेर्नु पर्ने हुन्छ । 


करिब साढे ६ करोड रुपैयाँ खर्च गरेर पुनः निर्माण गरिएको हो । चुना, सुर्की र गिट्टी मिसाएर ढलान गरिएको छ । पुराना इँटा पिसिएको सुर्की र चुना मिसाएर जडान गरिएको उनले बताए । दरबार चार तले छ । ६३ वटा कोठा, दुईवटा बुर्जा र दुईवटा बैठक हल रहेका छन् ।


प्रतापशमशेरले विक्रम संवत् १९८१ मा तानसेन दरबारको पुनःनिर्माण गरेका थिए । त्यसअघि बद्रीनरसिंहले निर्माण गरे पनि अलपत्र थियो । त्यसबेलामा यसको वरपर रणउजीरेश्वरी भगवती मन्दिरबाहेक संरचना थिएन । ०१५ सालसम्म पनि यस्तै अवस्था थियो । त्यसपछि वरपर संरचना थपिन थाले । तानसेनको मुख्य बजारमा बहुसंख्यक नेवार समुदायका बसोबास भए पनि पाल्पा जिल्लाभरि मगर समुदाय देशकै सबभन्दा बढी जनसंख्या भएको क्षेत्र हो । त्यसैले यो पाल्पालाई उहिलेदेखि नै ‘मगरात’ भन्ने गरिएको छ ।


ब्यापारिक , धार्मिक एवम्
सांस्कृतिक शहर : तानसेन

रुद्र सेनद्वारा मध्यकालदेखि स्थापित तानसेन सहर एउटा व्यवस्थित शहर थियो । हिन्दु तथा बौद्धधर्मको केन्द्रका रूपमा रहेको यो शहरभित्र तत्धर्म र सम्प्रदायसँग सम्बन्धित देवदेवी र स्मारक एवं कलाकृतिहरूको अभूतपूर्व भण्डार छ । र, यो धर्मप्रति आस्था र निष्ठा रहेको छ ।  त्यसमा पनि शहरकै पहिचानका रूपमा रहेको अमरनारायण मन्दिर र भगवती मन्दिरको विशिष्ट महत्त्व छ । तानसेन नगरको चर्चा गर्दा, हिन्दु धर्मका अतिरिक्त बौद्धधर्मका दृष्टिकोणले पनि उत्तिकै  महत्त्वपूर्ण छ र विगत केही वर्षदेखि क्रिस्चियन र मुस्लिम धर्मका व्यक्ति पनि तानसेनमा छन्  । यस शहरमा रहेका चैत्य, विहार, स्तूपले बौद्ध धर्म र कलाको सुन्दरतम प्रतिनिधित्व गरेका छन् ।


आनन्द विहार तानसेन शहरकै सबैभन्दा पुरानो विहार मानिन्छ । यो विहारमा शाक्य र बज्राचार्य समुदायका नेवारको चूडाकर्म (व्रतबन्ध) गर्ने चलन छ । यस्तै धर्मचक्र महाविहार र होलाङदीको विहार पनि महत्त्वपूर्ण बौद्ध सम्पदा हो तथापी यो बिहार को निर्माण निकै पछि करिब २०३० को दसकमा भएको अनुमान गरिन्छ । समाजसेवी दशरथ मुनीलगायत अन्य साविको सहयोग र सम्भाब्य यो सम्भव भएको हुनु पर्छ ।


टक्सार टोलमा अवस्थित महाचैत्य विहार १९८५ सालमा तत्कालीन डिठ्ठा अमृतलाल बज्राचार्यको नेतृत्वमा स्थापित गरिएको हो । यो विहार शाक्य र बज्राचार्यहरूको चूडाकर्म गर्न स्थापना गरिएको हो । प्रत्येक साल बुद्ध जयन्तीका दिन रथमा भगवान बुद्धको मूर्ति राखी बजारमा  घुमाउने गरिन्छ । यसो गर्दा आनन्द  बिहार र महाचैत्य बिहार संयुक्त रुपमा गरिने भएबाट पनि दुई बीच को समन्वयलाई समेत यसले झल्काउदछ ।


इतिहासलाई सरसरी हेर्दा र स्थानीय लेखक एवम् इतिहासमा ज्ञान राख्ने निर्मल श्रेष्ठलगायत अन्य को को लेन हेर्दा मल्लकालदेखि नै काठमाडौँ उपत्यकाबाट बाहिरिन थालेका बौद्ध नेवारहरूको तानसेनमा पनि बाक्लो बस्ती रहेको उल्लेख छ  । तानसेन नगरका विभिन्न टोलमा विभिन्न किसिमका परम्परागत शैलीका निजी आवासहरू अद्यापि छन् । तानसेन बजारमा काठमाडौँ उपत्यकामा झैँ टोल र गल्लीहरूमा भीमसेनका मन्दिर छन् ।


काठमाडौँका टोलहरु कै नाम रहेका टोल झैँ यस शहरका उल्लेख्य टोलहरूमा नारायणटोल, असनटोल, भगवतीटोल, टक्सारटोल, मखनटोल, वडीज्ञानटोल, वसन्तपुर टोल, भीमसेन टोल आदि छन् । ती टोलहरूमा माटो, ढुङ्गा, सुर्की, चुनबाट निर्मित घरहरू छन् । आधुनिकीकरणले गर्दा पछिल्लो समय ढलान घरहरू पनि बन्ने क्रम जारी छ । यहाँका अधिकांश टोलका नाम काठमाडौँमा रहेका टोलसँग मिल्दाजुल्दा छन् ।


यसरी पुराना संस्कृतिहरु बिस्तारै हराउने क्रममा रहेकोमा तानसेन गुठी, कान्तिपुर इंजीनीरिंग कलेज, र तानसेन नगरपलिकाको संयुक्त सहयोगमामा पुराना संस्कृतिलाई जोगाउनको लागि निकै काम भएको सायद कन्सेप्ट पेपर र डिजाईन समेत तयार भएको अमूल्य कार्य कलेजका अर्किटेक्ट इन्जिनीयर सायद ४० जनाको समूहले बनाएकोमा केही समायोजन गरि लागु गर्नुपर्ने देखिन्छ । त्यसो भएमा नेवाः सभ्यता र संस्कृतिको समेत जगेर्ना हुने अपेक्षा गर्न सकिन्छ ।


विभिन्न सांस्कतिक परम्परा, जात्रापर्वहरूको खुला सङ्ग्रहालय नै मानिन्छ–तानसेन । यहाँका प्रत्येक टोल र गल्लीहरूले आ–आफ्नै विशिष्ट सांस्कृतिक परम्परा बोकेका छन् । तिब्बत जाने प्राचीन व्यापारिक पैदलमार्ग तानसेन हुँदै गएको छ । यो शहर मौलिक नेवारी परम्परा र रैथाने मगर संस्कृति तथा आर्यन संस्कारको सङ्गमका रूपमा स्थापित छ । (क्रमश) (साँघु साप्ताहिक, २०८१ भदौ १७)
 

 

प्रतिकृया दिनुहोस