• बिहीबार-असोज-३-२०८१

एघार भन्सार प्रमुखको सरूवाप्रति असन्तुष्टि !

 

काठमाडौं । अर्थले मन्त्रालयले दुईसाता ७७ जना उपसचिवको सरुवा गरेको थियो । जसमा ११ जना भन्सार कार्यालयहरुमा कार्यरत उपसचिव सरुवामा परेका थिए । राजस्व प्रशासन समूहको उपसचिवको सरुवा विशेष परिस्थितिबाहेक दुई वर्षको अवधिमा मात्र गर्ने कानूनी प्रावधान रहेको छ । तर, यस पटकको सरुवामा पनि अर्थ मन्त्रालयले व्यक्तिको छनौट अनुसार दोहोरो मापदण्ड लागू गरेको अर्थ स्रोतको दावी छ । 


राजस्व समूहको उपसचिवको सरुवामा सामान्यतया भन्सार वा राजस्वमा दुई वर्ष प्रमुख भएकाहरुलाई अर्थ मन्त्रालय, विभाग वा अन्य कम काम भएका कार्यालयहरूमा सरुवा गर्ने प्रचलन रहेको छ ।


तरपनि सो प्रावधानको बेवास्ता गर्दै मापदण्ड मिचेर मन्त्रालयले सरुवा गरेको भन्दै केही उपसचिवहरूले असन्तुष्टि जनाएका छन् । कसैलाई आन्तरिक राजस्व कार्यालयबाट भन्सार पठाइएको र केहीलाई भने एउटा भन्सार प्रमुखबाट अर्कोमा र प्रमुखको जिम्मेवारी दिएर खटाएको छ । जसले गर्दा केहीलाई भने अवसरको खातमाथि खात कसैको भने पुर्पुरोमा हात हुने गरी सरुवा गरिएको भन्दै असन्तुष्टि चुलिएको स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालयले व्यक्ति हेरेर मापदण्ड लागू गरेको गुनासो गरेका छन् । अझ कर्मचारी संगठनप्रति निकट रहेका उपसचिवले एकपछि अर्को गर्दै पटक पटक प्रमुख भन्सार अधिकृतको अवसर पाएको भन्दै असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।


विभागीय मन्त्री र सचिवले कतिपय कार्यालय प्रमुखलाई एकवर्ष अवधि नपुग्दै सरुवा गरेको गुनासो बाहिर आएको छ । अर्थले भैरहवा भन्सार प्रमुखमा कार्यरत उपसचिव नारदमणि गौतमलाई १० महिनामा फिर्ता गरी मेची भन्सार कार्र्यालयमा कार्यरत प्रमुख रामप्रसाद रेग्मीलाई खटाइएको छ । उपसचिव गौतमलाई भने भन्सार जाँच पास परीक्षण कार्यालय त्रिपुरेश्वर सरुवा गरिएको छ । रेग्मीले मेची भन्सारको नेतृत्व गरेको १५ महिनामा भैरहवा जस्तो नेपालको दोस्रो ठुलो भन्सारको प्रमुख हुने अवसर प्राप्त गरेर भाग्यमानी हुन पुगेका छन् ।


मेची भन्सार प्रमुखमा भने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा कार्यरत उपसचिव राजेन्द्र प्रसाद चुँडाललाई खटाइएको छ । चुँडालले भने मेची भन्सार नभएर विराटनगर ताकेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालगन्ज भन्सार कार्यलय प्रमुख ध्रुबराज विश्वकर्मा र कृष्णनगरका प्रमुख मानबहादुर पौडेललाई अवधि नपुग्दै १० महिनामै सरुवामा परेका छन् । कृष्णनगर भन्सार प्रमुखमा भने उपसचिव फणिन्द्र खतिवडाले बाजी मारेका छन् । उपसचिव विश्वकर्मालाई भने नेपालगन्जबाट व्यापारिक कारोबार नै नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सरुवा गरिएको छ ।


नेपालगन्ज भन्सारमा भने उपसचिव जनार्दन पौडेलले बाजी मारेका छन् । वार्षिक पाँच अर्बभन्दा बढी राजस्व संकलन हुने कृष्णनगर भन्सारबाट पौडेललाई दश महिनामै वार्षिक करिब ५० करोड राजस्व संकलन हुने जनकपुर भन्सार कार्यालयमा अपमानजनक रूपमा सरूवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । जलेश्वर भन्सारमा भने उपसचिव राजेन्द्र बस्नेतको सरूवा भएको छ । खास विवादमा नपरेका र लक्षभन्दा बढी राजश्व संकलन गर्न सफल रसुवा भन्सार प्रमुख रहेका रामप्रसाद पाठकलाई त्यहाँ भन्दा राम्रो मानिने वीरगञ्ज भन्सारमा सरुवा गरिएको छ ।


आकर्षक कार्यालयमा पाठक ?

पाठकले रसुवा भन्सारमा राम्रै काम गरेर १५ महिना बिताएका थिए । वीरगञ्जमा सहसचिवस्तरको प्रमुख भन्सार प्रशासकको दरबन्दी रहेको छ र हाल दीपक लामिछानेले नेतृत्व गरेका छन् । प्रमुख भन्सार प्रशासकको दरबन्दी भएको भन्सारमा जाँचकी चेकजाँचसहितको फिल्डको कामको निर्णायक भूमिका भने उपसचिवस्तरको रहन्छ । प्रमुख भन्सार प्रशासकले नीतिगत र उपसचिवले गर्न नसकेको निर्णय मात्र हेर्ने अधिकार रहेको बताइन्छ  । वीरगञ्जमा भने रिक्त रहेको प्रमुख भन्सार अधिकृत, उपसचिवको दरबन्दीमा पाठकले बाजी मारेको बताइन्छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका सहसचिव डीलाराम पन्थीको ०८१ साउन ३१ गते महालेखा नियन्त्रक कार्यालयमा सरूवा भएपछि उनको स्थानमा सहसचिव दीपक लामिछानेको पुगेका छन् । 


अर्थ मन्त्रालयले आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख तुलसी भट्टराईलाई रसुवा भन्सार कार्यालयमा सरूवा गरेको छ । पछिल्लो तीन वर्षयता रसुवा र तातोपानी भन्सार चिनियाँ सामान आयातको मुख्य नाकाको रुपमा रहेको छ । २०७२ वैशाख १२ को भूकम्पपछि गत वर्षबाट मात्र तातोपानी नाकाबाट चिनियाँ सामान राम्रोसँग आयात हुन थालेको छ । महाभूकम्पपछि चीनसँगको व्यापार समुद्रको बाटो भएर दक्षिणी नाकाबाट हुने गरेकोमा अहिले अधिकांश व्यापारिक सामान तातोपानी र रसुवागढी नाकाबाट आयात हँुदै आएको छ ।  

 

तातोपानी भन्सार कार्यालयबाट २०८१ भदौको पहिलो हप्तामा नै उपसचिव दयानन्द केसीलाई सरूवा गरी कमल कुमार भट्टराईलाई खटाइएको थियो । उक्त भन्सारमा करिब दुई वर्ष बसेका केसीले सोनाकाबाट आयातमा वृद्धि गराएर राजस्व निकै बढाएका थिए । भूकम्पपछि तातोपानी नाकाबाट करिब डेढ वर्षयता कै व्यापारिक कारोबारमा उल्लेख्य वृद्धि भएको दावी गरिएको थियो । अर्थ मन्त्रालयले उपसचिव उषा पोखरेललाई चोभार सुख्खाबन्दरगाह र उपसचिव अनन्त प्रसाद तिम्सिनालाई कैलाली भन्सार कार्यालय प्रमुखमा खटाएको छ ।


आन्तरिक राजस्व कार्यालय हेटौंडामा कार्यरत उपसचिव युक्तिप्रसाद सुवेदीलाई र आन्तरिक राजस्व कार्यालय जोरपाटी खटाएको छ । हेटौंडामा भने उपसचिव दिलिप केसीलाई सरूवा गरेको छ । आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा भने उपसचिव सुजित कुमार सिंह खटिएका छन् । आन्तरिक राजश्व कार्यालय जनकपुरमा भने उपसचिव आनन्द कुमार गुप्तालाई पठाइएको छ । आन्तरिक राजस्व कार्यालय दमौलीमा भने उपसचिव लाल बहादुर खत्रीको सरुवा भएको छ । 
 

प्रतिकृया दिनुहोस