• शनिबार-असोज-५-२०८१

पद त्याग्न दबाब बढेपछि तनावमा प्रचण्ड 

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देशव्यापी कार्यकर्ता भेट्ने अभियान एकचरण सकिएको छ । प्रदेश कमिटीहरुको प्रशिक्षण कार्यक्रममार्फत कार्यकर्ता तहमा भेटघाट गरेर सुझावहरु संकलन गर्न प्रचण्डसहितका पदाधिकारी तहका नेताहरुका देश दौडहमा निस्केका थिए ।


माओवादीले बनाएका ७ वटा भौगोलिक एउटा गैरभौगोलिकसहित ८ वटा प्रदेशका ती कार्यक्रम सकिएका छन् । र प्रचण्ड केन्द्रीय कमिटीको बैठकको तयारीमा रहेका छन् । ती ८ वटा प्रदेश कमिटीको बैठकले पनि प्रचण्डलाई थप तनाव दिएको छ । अध्यक्ष प्रचण्डले कमिटीमा उठेका कुराहरु जति सुनेका छन्, ती धेरै चाहिँ आफ्नै विरुद्ध केन्द्रित थिए । 


माओवादी नेताहरुको भनाइमा सबैजसो प्रदेशको साझा मत चाहिँ अध्यक्ष प्रचण्डसहित माथिल्लो तहका नेताहरुबाट पार्टी बिग्रिएको भन्ने रहेको छ । पार्टी सुधार गर्ने हो भने तल होइन, माथि सुध्रिनुपर्ने भन्दै उनीहरुको साझा मत प्रकट भएको थियो । त्यो साझा मतमा सबैभन्दा बढी चाहिँ प्रचण्डप्रति केन्द्रित थियो । प्रचण्डले पार्टीको संगठन र वैचारिकी दुवै अवस्थालाई कमजोर बनाएकोक प्रदेशका नेताहरुको भनाइ छ । उनीहरुले दिएका सुझावलाई आधार मान्ने हो भने प्रचण्डले अहिले नै नेतृत्व त्याग्नुपर्ने अवस्था देखिएको पनि माओवादी नेताहरुको भनाइ छ ।

 

ती नेताहरुको भनाइ अनुसार, ३६ वर्षदेखि निरन्तर नेतृत्व गर्दै आएका प्रचण्डले आफूलाई रुपान्तरण गर्ने हरेकजसो बैठकमा भन्दै आएका छन् । आफू जीवनको उत्तराद्र्धमा रहेका कारण  ०८४ को चुनावमा केही गरेर देखाउने भन्दै हिंडेका छन् । प्रदेशका नेताहरुलाई पनि त्यही कुरा विश्वास दिलाउने प्रयास गरेका छन् । नेतृत्व हस्तान्तरण त गर्ने तर कसलाई गर्ने कोही पनि नेता भएर आएको छैन भन्दै प्रचण्डले बैठकहरु पनि आफ्नो विकल्प नभएको घुमाउरो जवाफ पनि फर्काएका छन् । पछिल्ला दिनमा उपमहासचिव जनार्दन शर्मालाई प्रचण्डमाथि व्यवस्थित र चर्को रुपमा प्रश्न उठाएका छन् । 


शर्माभन्दा पहिला अर्थात् २०७९ को चुनावको आसपासमा उपमहासचिव हरिबोल गजुरेलले प्रश्न उठाएका थिए । त्यतिबेला गजुरेलले पार्टीमा बुझाएको लिखित पत्रमा पनि प्रचण्डले अबकोे राजनीतिक, वैचारिक र सांगठनिक रुपमै नेतृत्व गर्ने क्षमता नभएको उल्लेख गरेका थिए । र, उक्त पत्रमा प्रचण्डको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका थिए । गजुरेलको उक्त पत्रलाई अहिलेसम्म गुपचुप राखिएको छ । 


गजुरेलले नै पार्टीको पदाधिकारी बैठकमा छलफल गराउनुपर्ने माग राखेका थिए तर उक्त माग छोडेपछि पत्र नै गायब भयो । अहिले शर्माले गजुरेलको त्यही दोस्रो संस्करणमात्र भएको  पार्टीका नेताहरु बताउँछन् । तर, शर्माले १४ लामो त्यो पत्र सञ्चारमाध्याममार्फत सार्वजनिक गराए । त्यसले गर्दा बढी चर्चा भएको पनि बताइन्छ । तर, शर्मा र गजुरेलले उठाएकोजस्तै विचार प्रदेश तहका नेताहरुले पनि उठाएपछि भने माओवादी अध्यक्ष प्रचण्ड तनावमा परेको टिप्पणी हुन थालेको छ । 


हुन त प्रदेश अध्यक्ष पनि गण्डकी प्रदेश अध्यक्षबाहेक अध्यक्ष भने बर्षमान पुन र जनार्दन शर्मानिकटमात्रै रहेका छन् । सोही कारण पनि यस्तो अभिव्यक्ति आएको हुनसक्ने टिप्पणी भइरहेको छ ।तर, पार्टीकिो अध्यक्ष र महासचिवले सर्कुलर गरेको निर्देशन नै कार्यान्वयन नहुने अवस्था पनि माओवादीमा देखिन थालेको छ । कुनै बेला फलामे अनुशासन हुने माओवादीमा अहिले अध्यक्ष प्रचण्डको निर्देशन नै कार्यान्वयन हुन छाडेको छ । त्यसको गतिलो उदाहारण चाहिँ सुदूरपश्चिमको संसदीय दलको नेता फेर्ने कुरामा देखिएको छ । प्रचण्डले संसदीय दलको नेता खगराज भट्टलाई बनाउन निर्देशन दिएपछि त्यहाँका ५ जना सांसदले मानेका छैनन् ।
 

प्रतिकृया दिनुहोस