• बिहीबार-असोज-३-२०८१

स्वार्थगत खेतीपातीमा ध्यान दिएपछि बद्री पाण्डेको मन्त्री पद नै धरापमा 

मन्त्री बद्री पाण्डे र क्यासिनो सञ्चालन अनुमति

 

काठमाडौं । नेपाल कांग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बद्री पाण्डेको कांग्रेसकै नेताहरुबाट आलोचना सुरु भएको छ । कांग्रेस सांसदहरुले चर्को रुपमा आलोचना सुरु गरेपछि मन्त्री पाण्डे दबाबमा पर्न थालेका छन् ।

 

मन्त्री पाण्डेले रोयल टाइगर रिक्रियसन, रुपन्देहीलाई क्यासिनो सञ्चालन अनुमति दिनेलगायत कतिपय अतिरिक्त आम्दानीका निर्णय तथा विवादित कामका कारण उनी कांग्रेसका सांसदहरुको आलोचनाको केन्द्रमा परेका हुन् । गुटको हिसाबले  पनि शेखर कोइराला समूहका नेताहरुले नै उनको आलोचना गर्न थालेका छन् ।

 

पाण्डे खासमा कोइराला समूहका हुन वा महामन्त्री गगन थापाको समूहका हुन भन्नेमा पनि अन्यौल भएको भन्दै कांग्रेसको इतर समूहमा पनि चर्चा हुन थालेको छ ।  अहिले कोइराला र थापा बाहिरबाट एउटै समूहदेखिए पनि भित्र चाहिँ दुईवटा समूह बनेका छन् ।

 

त्यसैले, पार्टीका नेताहरु पाण्डेलाई कुन समूहका हो भने प्रष्ट पार्न खोजिरहेका छन् । त्यसले पनि उनलाई विवादमा तानेको छ ।

 

अर्कातिर पार्टी सांसद राजेन्द्र बजगाईले त सार्वजनिक रुपमा मन्त्री पाण्डेको आलोचना गरेका छन् । सांसद बजगाईले पाण्डेमाथि केही गम्भीर प्रश्न उठाएका छन् ।

 

त्यसले पाण्डेको कर्मको समीक्षा गर्र्नुपर्ने अवस्था चाहिँ देखिएको भन्दै पर्यटन व्यवसायीहरु पनि बताउन थालेका छन् । मन्त्री पाण्डेले विवादास्पद व्यापारीको पुस्तक विमोचनमा गएर गुणगान गाएपछि पनि समस्या भएको छ ।

 

फेक रेस्क्युको नाममा बद्नामी कमाएका र तत्कालीन सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा भएको छानबिनले कारबाहीको सूचीमा राखेका रामप्रसाद सापकोटाको पुस्तक विमोचनमा गएर मन्त्री पाण्डेले गुणगान गाएको भन्दै सांसद बजगाईले प्रश्न उठाएका छन् । 

 


 त्यसैगरी, क्यानको डिजी प्रदीप अधिकारीलाई हटाउने कुरामा पनि पाण्डे ब्याक भएको, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधेर डिजी अधिकारीलाई हटाउने कुराको ध्यान अर्कातिर मोडेको पनि बताइन्छ । त्यसमा पनि कांग्रेस नेताहरुले प्रश्न उठाएका छन् । त्यतिमात्र होइन, नेपाल पर्यटन बोर्डको सीईओ छनौटमा पनि मन्त्री पाण्डेले अस्वभाविक चलखेल गरेको छ । 


सीईओमा दीपकराज जोशीलाई ल्याउने मन्त्री पाण्डेको रणनीति भएपनि कांग्रेस सभापति शेरबहादुर देउवासहितको कांग्रेसको टोली भने हिक्मत सिंह ऐरलाइ ल्याउने पक्षमा रहेका थिए ।

 

तर, मन्त्री पाण्डेको रणनीति अनुसार छनौट उपसमितिले ऐरलाई ३ जनाभित्रै नपारेपछि कांग्रेसको संस्थापन पक्ष पनि पाण्डेसँग आक्रोशित भएको छ । त्यसैले, अहिले कांग्रेसभित्र मन्त्री पाण्डेको जागिरको भविष्यमाथि नै चर्चा हुन थालेको छ ।

(साँघु साप्ताहिक, २०८१ भदौ २४)
 

प्रतिकृया दिनुहोस