• मंगलबार-असोज-१-२०८१

व्यवसायीको मनोबल किन गिर्‍यो ?

 

प्रधानमन्त्री ओली र अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि शेयर मार्केटका लगानीकर्ता हर्षित भएका छन् । तीनको मनोबल ह्वात्तै बढ्यो । उता कोरोनाकालदेखि खस्केको व्यापार—व्यवसाय चाहिँ उठ्नै सकेन । शहर–बजारमा ‘टु लेट’, ‘पसल बिक्रीमा’, ‘सटर भाडामा’, ‘अफिस भाडामा’ जस्ता बोर्ड यत्रतत्र देखिन्छन् । राजधानीका ‘प्राइम’ ठाउँमै वर्षाैंदेखि ‘टु लेट’ झुन्डिएका छन् । किन गि¥यो होला नेपालका व्यवसायीको मनोबल ?


निर्माणको भुक्तानी रोक्नु 
राज्यको लगानी हुने ठूला आयोजना (मेघा प्रोजेक्ट) निर्माणको कार्य प्रचण्ड सरकारका पालामा ठप्पप्रायः भयो । निर्माण गरिएका ठूला आयोजनाका भुक्तानी पनि प्रचण्ड सरकारले दिएन, रोक्यो । अरबौँ अरब राज्यको ढुकुटीमा ‘ढुँसी परेर थन्कने’ तर आयोजनाका ठेकेदारले भुक्तानी नपाउने अवस्थाले बजारमा नगद प्रवाहको न्यूनता आएको हो । निरन्तरको प्रक्रिया र अभियानको रूपमा हुनुपर्ने विकास निर्माणका कार्यमा राज्यको तर्फबाट लापरवाही र अवरोध भएकाले त्यसको असर साना पेशा र व्यापार समेतमा पर्दै आयो ।

 

विकास कहिल्यै नटुङ्गिने सामाजिक–मानवीय कार्य र गति भए पनि असक्षम सरकार वा नेतृत्वकर्ताको कारण निर्माण ठप्प बनाइए, भए ।  यसर्थ विकास र समृद्धिको विषय नै अहिलेको जरुरी र प्राथमिक मुद्दा भएकाले पेशा, व्यवसायीको मनोवल उकास्ने काम तत्कालै गर्नु पर्ने देखिन्छ । प्रधानमन्त्री ओलीले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई कार्यरुप दिन पनि साना पेशाकर्मी र व्यवसायीको गिरेको मनोबल उकास्न अत्यावश्यक भएको छ ।

 

पेशा, व्यापार र व्यवसाय धरमरायो भने त्यसको असर राजनीतिक, सामाजिक, आर्थिक, रोजगारी र समग्र क्षेत्रमा पर्ने हुन्छ । मुलुकमा अत्यावश्यक पूर्वाधारका ठूला आयोजना, सडक—यातायात, अस्पताल, ठूला कलेज, ठूला उद्योग, कलकारखाना बन्न सकेनन् । त्यो सोच र दृष्टि प्रचण्ड सरकारमा रहेको थिएन । निजी लगानीमा खुलेका र खुल्ने पेशा, व्यापार र व्यवसायमा रहेकाहरूको मनोबल गिरेको कारण शैक्षिक वेरोजगारी वृद्धि, युवामा निराशा र नेपालबाट विदेशिने प्रवृत्ति व्यापक ढंगले बढेको होे । 

 


 लगानीकर्ताको मनोबल गिरेको कारण नै नेपालमा केही पनि हुँदैन भन्ने सोच सर्वत्र रहेको छ । आफ्नै लगानीमा खुलेका उद्योग, व्यापार, पेशा र स्वरोजगारका क्षेत्रमा हामी सक्दछौँ, नेपालमा नै केही गर्न सकिन्छ, यहाँ हुन्छ भन्ने भावनाको विकास गरी मनोबल नउकास्ने हो भने त्यसको चौतर्फी असर हुने देखिन्छ । निवर्तमान प्रचण्ड सरकारको अदूरदर्शी नीति, दृष्टिकोणविहीन कार्यशैली र राजनीतिक अस्थिरताका करण सर्वत्र निराशा, नकारात्मकता र हिन भावना बढेकोले मनोबल पूरै गिरेको हो । मनोबल गिरेको कारण भएका र गर्दै गरेका पेशा, व्यापार र व्यवसायबाट हात झिक्ने प्रवृत्ति शहरमा बढी भएको देखिन्छ । युवा र लगानीकर्तामा रहेको निराशाजनक अवस्थालाई चिर्दै ओली सरकारले मनोबल उकास्ने गरी कार्य गर्न अत्यावश्यक छ । मनोबल गिरेकोले नै शहरमा भाडामा, बिक्रीमा, ‘टु—लेट’ जस्ता सूचना यत्रतत्र देखिन थालेका छन् । 

 

विश्वासको कमी कि संकट 
‘भिजनलेस’ सरकारका कारण सरकारी र सार्वजनिक सेवाका क्षेत्र अलपत्र र अस्तव्यस्त भएका हुन् । राज्य सत्तामा रहेका सरकारी प्रशासन हाँक्ने कर्मचारीमा ‘न कारवाहीको डर भयो, न पुरस्कारको आश भयो’ । त्यही भएर प्रशासन बेकामे भएको हो । नागरिकले सुशासन भएको महसुस त्यतिबेला गर्न सक्दछन्, जतिबेला सामान्य नागरिकका आधारभूत सेवा, रोजगार, न्यूनतम सुविधा, सुरक्षा, हित र सार्वजनिक काम विधिको शासनको मान्यता अनुसार विनारोकतोक हुन्छन् । नागरिकले अनुभूति गर्न सक्ने तहमा सुशासन प्राप्त गर्न नसक्दा निराशा बढेका अवस्था छ । 

 


 जहिल्यै नागरिकले गुनासो गर्दै आएका सेवा प्रवाहमा तात्विक सुधार भएको छैन । यस्ता काम र तालले पेशाकर्मीको मनोबल थप गिर्दछ । एउटा सवारीको लाइसेन्स लिन वर्षाैँ कुनुपर्ने अवस्था अहिले पनि छ । यातायातका समस्या, र पीडा उस्तै छन् । पासपोर्ट बनाउन खेप्नु पर्ने दुःख दूर हुन सकेको छैन । अर्थात, सरकारी र सार्वजनिक सेवा र सुविधामा अनेकौँ प्रश्न उठ्ने गरेको छ । राष्ट्रिय परिचय पत्र बनाउनको लागि नागरिकले भोगेको कठिनाइ चर्काे छ । बाढी पहिरोका कारण यातायात क्षेत्र पीडापूर्ण र सकसपूर्ण भएको छ । काठमाडौँमा नै बाढीले मानिस मर्दैछन् भने ग्रामीण जिल्लाको हालत के होला ? यस्तायस्ता अनेकौँ कारणले साना वा ठुला कारोवारी र व्यवसायीको मनोबल उठ्नै सकेन । 

 


सहकारीमा ठालुहरुको लुट
शहरका पेशा, व्यवसायीको दैनिक चिया, चुरोट, चाउचाउ, बदाम, तरकारी आदि बेचेको सानासाना बचतको पैसा लुटाहा, फटाहा र अपराधी सोचका ठग सहकारी सञ्चालकले पचाएको कारण पनि लगानीकर्ता र व्यवसायीको मनोबल ह्वात्तै गिरेको देखिन्छ । खाइनखाइ बचत गरेको अर्काेले मोज ग¥यो । त्यसको जिम्मा पनि कसैले लिँदैन । सञ्चालकहरू फरार हुने, कार्यालयमा ताला लगाउने र मोवाइल ‘स्वीच अफ’ गर्ने भएपछि शहरका साना व्यवसायीको हालत के होला ? समस्या गम्भीर बनेको छ । बचतका नाममा सामान्य नागरिक र आम जनताका श्रम गरी जम्मा भएका बचत चप्काउने र ठग्ने प्रवृत्तिका कारण पूरै सहकारी क्षेत्र ध्वस्त बन्ने खतरा बढेको छ ।

 

अधिकाँश ठूला सहकारीमा भएका, गरिएका ठगी, विकृति, आर्थिक अपचलन र आर्थिक पीडा भनिसाध्य छैनन् । सहकारी ठगीमा पूर्वगृहमन्त्री रवि प्रत्यक्ष रूपमा नै संलग्न भएको देखिएके छ । दुई दर्जनभन्दा बढी ठूला अरबौँ अरब बचत संकलन गर्दै आएका सहकारीहरूले शहरमा सबैजसो बचतकर्ता र पेशाकर्मीको पैसा चप्काएकोले उनीहरू पेशामा बस्न सक्ने अवस्था रहेन । यस्ता लुटाहा सहकारी ठगहरूलाई तत्कालै समाएर कानुनी कारबाही गर्न प्रधानमन्त्री ओली नेतृत्वको सरकार खरो र कठोर भएर उत्रनु आवश्यक छ । 

 

नवहिटलरी शैली
गाउँमा पुगेको भनिएको सिँहदरबाररुपी पालिका वा महानगर, नगरका मेयर र अध्यक्षहरूका हैकम, फूर्ति र दमन हेरिसाध्य तथा भनिसाध्य छैनन् । सस्तो लोकप्रिय हुने नाममा र युट्युबलाई ‘विजनेश’ दिन शहरका जताततै डोजर ठोक्ने, डन्डा बर्साउने, सवारी राख्नै नदिने, हान्ने, ठोक्ने, कोच्ने, गोद्ने र व्यवसायीलाई ‘पिना पेलेजस्तो’ गरी सबैतिरबाट ठोक्ने प्रवृत्तिको कारण पेशाबाट हात झिक्ने संख्या ह्वात्तै बढेको छ । काठमाडौँ उपत्यका लगायतका ठूला शहरमा त्यस्तो प्रवृत्ति देखिन्छ ।

 

अर्काेतर्फ कर, राजश्व र जरिबानाका अनेकौँ किस्साले व्यवसायीको ‘टुपीबाट धुँवा निस्कने’ अवस्था छ । भएका व्यापार, पेशा धान्न धौँ धौँ परेको स्थिति भए पनि राज्य, पालिकाहरू र अन्य क्षेत्रबाट त्यै पेशाकर्मी र व्यापारीवर्गलाई दवाउन खोज्ने सोचका कारण सर्वत्र मनोबल पूरै गिरेको हो । यस्तो अवस्था निरन्तर जारी रहेको खण्डमा मुुलुकमा खासगरी शहरिया समाजमा आर्थिक, सामाजिक, राजनीतिक र अन्य खालका द्वन्द्व ‘भुसको आगो’ जसरी फैलिने अवस्था देखिन्छ ।

 

यसर्थ सर्वत्र आशा र अपेक्षा गरिएका प्रधानमन्त्री ओलीबाट निजी लगानीमा सञ्चालित पेशाकर्मीहरूको मनोबल उकास्न पाइला चाल्न आवश्यक छ । बालेन जस्ता अराजक र गैरकानुनी हर्कत गर्दै आएका मेयरलाई नागरिक स्तरबाटै नियन्त्रण गर्नु अनिवार्य देखिन्छ । अराजकता, निरंकुशता र शासनको नाममा कानुन हातमा लिने प्रवृत्तिलाई ‘हाइहाइ’ होइन ‘बाइबाइ’ नै गर्नुपर्दछ । (साँघु साप्ताहिक, २०८१ साउन २८) 
 

प्रतिकृया दिनुहोस