• बुधबार-माघ-३०-२०८१

माधवलाई पार्टी बचाउन धौःधौ किन पर्‍यो ? 

 

काठमाडौं । एकीकृत समाजवादी (एस)ले आफ्नो राजनीतिक अस्तित्वको साथै सांगठनिक अस्तित्व कसरी कायम राख्ने भन्ने समस्याको डीलमा पुगेको छ । महाधिवेशन गरेर सबै समस्याको हल गर्नुपर्नेमा समस्यालाई थुन्सेमा थुनेर निस्केको छ । प्रज्ञाभवनमा थुन्सेभित्र समस्यालाई थुनेर बाहिर सन्देश दिएको भएपनि एकपछि अर्को समस्या थपिन थालेको स्रोत बताउँछ । 


आफ्नो निकट व्यक्तिहरु जो संगठनमा पकड नभएका छन्, उनीहरु पराजित हुने डरले एसले महाधिवेशनमा चुनाव गराएन । तर, त्यही चुनाव नगराएका कारण असन्तुष्टिहरु भुसको आगोझै सल्किन थालेको छ । असन्तुष्टि बढ्दै गएको एसका नेताहरु बताउछन् ।


त्यसले पार्टीलाई विभाजनतिर लैजान सक्ने ठुलो खतरा पनि देखिन थालेको एसका नेताहरु बताउँछन् । उनीहरुको भनाइमा त सांसददेखि केन्द्रीय नेतासम्म असन्तुष्ट छन्, त्यो असन्तुष्टिलाई केन्द्रीय तहमा कसले नेतृत्व गर्छ ? भन्नेमात्रै चासोको विषय बनेको छ । कतियप नेताहरु एमाले प्रवेशका लागि तयार भएर बसेका छन्, तर एमालेबाट ग्रिनसिग्नल आईसकेको छैन र रोकिएका छन् । त्यसो त, सांसद प्रेम आलेले औपचारिक रुपमै पार्टीमा  नबस्ने बताउन थालेका छन् । सांसद आले पार्टीका कुनै पनि बैठकहरुमा सहभागी हुन छाडेको एसका एक नेताले बताए ।


 महाविशेनको बेलामा भारतमा घुम्न गएका आलेले संसदीय दलको बैठक पनि बहिस्कार गर्न थालेका छन् । उनलाई साथ दिइरहेका छन् धनबहादुर बुढाले । सांसद बुढाले पनि आलेकै साथ लागेर बैठकहरुमा भाग नलिन थालेका छन् । त्यसैले, अहिले यी दुईजनाको जोडी जुनसुकै बेला एमालेमा जाने तयारीमा छन् । तर, एमालेबाट उनीहरुलाई भित्र्याउने गरी निर्णय नभएकै कारण रोकिएका हुन् । एमाले ठूलै संख्यामा सांसद भित्र्याउने चाहनामा रहेको छ । आले र बुढामात्र होइन, सांसदकै रुपमा कृष्णकुमार श्रेष्ठ, अम्मरबहादुर थापा, शेरबहादुर कुँवर र भानुभक्त जैसी पनि असन्तुष्ट रहेका छन् । दुईजना सांसद मात्र होइन राजनीतिक भविष्य भएकाहरुको ठुलै संख्या मातृ घरमा फर्किने तयारीमा रहेका छन् । 


उनीहरुले भने पार्टी छोडिहाल्ने र बैठक बहिस्कार गर्नेसम्ममा पुगेका छैनन् । तर, माधव नेपालको व्यवहारकै कारण उनीहरु असन्तुष्ट बनेको बताइन्छ । उनीहरु पहिलादेखि नै माधव नेपालका खास मान्छेको रुपमा मानिन्थे । जैसी त एमालेबाट पछि एसमा आएका हुन् । जैसीले एसमा अवसर पनि पाइरहेका छन् । संसदीय समितिको सभापति रहेका जैसीलाई मन्त्री बनाएर नेपालले अर्को अवसर दिएका थिए । जैसीलाई मन्त्री बनाएर श्रेष्ठलाई नबनाएको विषय चर्चाको विषय पनि बनेको थियो । 


पार्टी कार्यालयको भाडा तिरिदिने नाममा बुढालाई मालदार मन्त्रालय मानिएको शहरी विकास मन्त्री बनाइएको थियो । महाधिवेशनको खर्च समेत नदिएका बुढाले पार्टी कार्यालयको भाडा पनि तिरिदिन छोडेको चर्चा एसमा हुन थालेको छ । बुढा र आलेबाट कार्यालयको भाडा नआएपछि कृष्णकुमार श्रेष्ठबाट चलाउने गरिएको छ । त्यसैले माधव नेपालसँग पार्टी कार्यालय चलाउने खर्च जुटाउन पनि सीमित व्यक्तिभन्दा बाहिर जान सक्ने अवस्था नभएको देखिएको छ । त्यसरी पार्टीलाई खर्च दिनेहरु नै असन्तुष्ट भएपछि माधव नेपालको पार्टी चाहिँ कसरी चल्छ भन्ने चर्चा पनि हुन थालेको छ । 


यता, महाधिवेशन सकिएको केही साता बितिसकेको छ । तर, माधव नेपालले पदाधिकारी चयन गर्न सकेका छैनन् । अध्यक्ष, सम्मानित नेता र महासचिव महाधिवेशनकै हलबाट टुंगो लगाएपनि अन्य पदाधिकारी टुंगो लागेको छैन । ९३ जना केन्द्रीय सदस्य हलबाट पारित गरेका छन् । तिनै ९३ जनाको सूचीबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटव्युरो बनाउने संभावना रहेको छ । तर, नेपालले पदाधिकारी बनाउन नै सकिरहेका छैनन् । हिजोका दिनमा महासचिव दाबी गर्ने जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, प्रकाश ज्वालालाई कहाँ सेट गर्ने भन्नेमा समस्या भइरहेको छ । अनि, उपाध्यक्षहरुमध्ये केहीलाई विदा गर्नुपर्ने खालका छन्, त्यो कसरी गर्ने ? भन्ने पनि समस्या देखिएको छ । 


त्यसैगरी, उपाध्यक्ष हुन खोजेकी रामकुमार झांक्रीलाई कहाँ सेट गर्ने भन्ने पनि अध्यक्ष नेपालले समस्या भोगिरहेका छन् । पार्टीका केन्द्रीय नेताहरु र सांसदहरु नै असन्तुष्ट बन्दै गएपछि नेपालको नेतृत्वमा प्रश्नमात्र होइन, पार्टी छोड्नेहरुको लर्को नै लाग्ने खतरा रहेको एसका नेताहरुले नै टिप्पणी गर्न थालेका छन् । एसमा भविष्य नदेख्नेहरु एमालेतिर लाग्ने र केही माओवादीतिर जान सक्ने पनि विश्लेषण भइरहेको छ । त्यसैले माधव नेपाल निकै तनावमा रहेको देखिन्छन् । केही दिनअघिको सचिवालय बैठकमा पनि माधव नेपालले पार्टीविरुद्ध षडयन्त्र भइरहेकोले चनाखो हुनुपर्ने बताएका थिए । (साँघु साप्ताहिक, २०८१ साउन १४) 
 

प्रतिकृया दिनुहोस