• शुक्रबार-पौष-१२-२०८१

सिधा कुराका पत्रकार दोहोरो मुद्दाको चेपुवामा : सर्वोच्च अदालत कडा ‘एक्सन’को तयारीमा ?

 

काठमाडौं । ‘सीधा कुरा डटकम’ विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा कारबाहीका लागि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा पेश गर्न आदेश भइसकेको अवस्थामा यता काठमाडौं जिल्ला अदालतमा समेत साइबर अपराधको अभियोगमा मुद्दा चलाइएको छ । 


काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका व्यक्ति राजकुमार तिमल्सिनाविरुद्ध अघिल्लो साता नै अभियोग पत्र दायर गरिसकेको छ । तीनै जना पत्रकारलाई फरार प्रतिवादी बनाएर अभियोग दायर गरिएको छ । सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीश, ठूला मिडिया हाउसका मालिक, कानूनव्यवसायी, पत्रकार समेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो । 


त्यसपछि सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा पत्रकारसहित सबै प्रतिवादीको बयान सकिएर अन्तिम सुनुवाईको मुखमा साइबर अपराधमा मद्दा चलाइएको छ । सर्वोच्चले प्रमाण भनिएको अडिओबारे छानबिन गर्न प्रहरीलाई आदेश दिएपछि अनुसन्धान प्रतिवेदन समेत पेश भइसकेको छ । अनुसन्धानका क्रममा प्रहरीले सर्वोच्चकै आदेश वमोजिम सूचनादाता भनिएका तिमल्सिना, कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया, एसपी सन्जयसिंह थापा, अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, पत्रकार सुरेन्द्र काफ्ले, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीलगायतसँग सोधपुछ गरेको थियो ।


  अनुसनधानका क्रममा तिमल्सिनाले सिधा कुराले दावी गरे अनुरुपका व्यक्तिहरू डिलमा संलग्न भएको बताएका थिए । काठमाडौं अदालतमा दायर भएको अभियोगपत्रमा भनिएको छ, ‘आरोपीले सम्मानित सर्वोच्च अदालत र माननीय न्यायाधीशज्यूको मान प्रतिष्ठा समेतमा आँच पु¥याइ, सम्मानित अदालतप्रतिको आम धारणा समेतमा भ्रम उत्पन्न गराई, घृणा वा द्वेष फैलाउने कार्य गरी विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर र सम्मानित सर्वोच्च अदालत र सो अदालतका न्यायाधीश तथा अन्य व्यक्ति र निकायप्रति समेत अदालतको मुद्दामा हुने कार्यविधि तथा सुनुवाइ र फैसलासँग जोडी गलत भिडियो क्लिप तयार पारी प्रशारण समेत गरी अपमानजनक कार्य समेतको कसुर गरेको वारदातबाट स्थापित हुन आयो ।’ 


जिल्लामा अभियोगपत्र जानुअघि सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासबाट दुई साता अघि यो मुद्दालाई बढी न्यायाधीश सम्मिलित इजलासबाट निरुपण गर्नु उचित हुने बताउँदै पेशी व्यवस्थापन निर्देशक समिति समक्ष प्रस्तुत गर्न आदेश दिइसकेको छ । आदेशको भाषाशैली हेर्दा सर्वोच्च स्वयम् उक्त मुद्दामा कठोर हुने देखिन्छ । सिधा कुरा अवहेलना प्रकरणलाई लिएर सर्वोच्चले अदालतको अवहेलना मुद्दामा यसअघि स्थापित नजिरमै पुनरवलोकन गर्न सक्ने गरी बृहत् पूर्ण इजलासबाट सीमा तोक्न उपयुक्त हुने राय समेत लेखिएको अवस्था छ । सर्वोच्चको आदेशमा भनिएको छ, ‘मान प्रतिष्ठामा गम्भीर आँच पु¥याउने गरी हुनसक्ने कार्य वा प्रकाशन वा प्रशारण एवं विचार अभिव्यक्तिको सम्भावित दण्ड सजाय क्षतिपूर्ति समेतको समूचित सम्बोधन हुन अत्यावश्यक देखिन आयो ।’ 


अवहेलना मुद्दामा यसअघिका सबै नजिर पुनरवलोकन गर्न सक्ने गरी बृहत् पूर्ण इजलासमा पेस गर्न संयुक्त इजलासले आदेशमै उल्लेख गरेका कारण सिधा कुरा प्रकरणमा सर्वोच्चमा चलेको मुद्दाले नयाँ मोड लिने संकेत देखिएको छ । यता, सिधाकुराका पत्रकारद्वय युवराज कँडेल र नवीन ढुंगानाले विवादित अडिओ तिमिल्सिनाले उपलब्ध गराएको भन्दै बयानमा सनाखत गरिदिएका छन् । बयानमा जे जस्तो दावी गरे पनि अडियो नै ‘फेक’ सावित भएपछि सर्वोच्च माफी वा क्षमायाचना भन्दा अघि बढेर ‘एक्सन’ मै जाने अनुमान गरिएको छ । (साँघु साप्ताहिक, २०८१ असार २४)
 

प्रतिकृया दिनुहोस