• बुधबार-कार्तिक-७-२०८१

रित्तो सिट उड्दैमा जहाज खाली हुँदैन 

 

जहाजमा भार व्यवस्थापन एकदमै महत्वपूर्ण हुन्छ । यसले उडान सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छ
 

काठमाडौं । कहिलेकाँही जहाजमा खाली सिट देखेर तपार्इं अचम्ममा पर्नुहोला । तपार्इंलाई लाग्नसक्छ–यात्रुले टिकट नकाटेर वा जहाज चढ्नेहरु कम भएर सिट खाली भइरहेको छ । तपाईं सही हुन पनि सक्नुहुन्छ, तर सँधैं यात्रु नपाएर जहाज खाली सिट उडेको भने हुँदैन । वास्तवमै व्यावसायिक जहाजहरु खाली सिट उड्न चाहँदैनन् । खाली सिट उड्नु भनेको आम्दानी घट्नु हो भने सबै सिटमा यात्रु बोकेर उड्नु भनेको आम्दानी बढ्नु । जानि–जानि व्यावसायिक कम्पनीले सिट खाली राखेर जहाज किन उडाउँछन् होला र ?


जत्ति नै व्यावसायिक भएपनि, कहिलेकाँही जहाजले आम्दानीको त्याग गर्नुपर्ने हुन्छ–आफ्ना यात्रुको सुरक्षाका लागि । जहाजका सिट यात्रुले भरिनु अघि विमान कम्पनी र यसका कर्मचारीले भार व्यवस्थापन (लोड म्यानेजमेन्ट) गर्न व्यापक तयारी गरेका हुन्छन् । यात्रु र सामानको तौलको अनुपात मिलाएर जहाज उडान र अवतरणको व्यवस्था मिलाइएको हुन्छ । तौलको अनुपात मिलाएर भार व्यवस्थापन गर्ने कार्य बुद्ध एयरको सुरक्षा प्रणालीको एक महत्वपूण हिस्सा हो ।


 भार व्यवस्थापनका लागि जहाजको प्राविधिक सीमितता (टेक्निकल लिमिटेसन) बुझ्नु आवश्यक हुन्छ । ‘हरेक जहाजका आफ्नै सीमितता हुन्छन्, जहाजले उसको क्षमता अनुसार मात्र नै तौल बोक्न सक्छ,’ बुद्ध एयरका प्रमुख उडान सञ्चालन इन्जिनियर उदयकृष्ण श्रेष्ठ भन्छन्, ‘वरिपरि पहाडले घेरिएको काठमाडौं जस्तो स्थानमा उडान र अवतरण गराउनका लागि तौलको अनुपात मिलाउने कार्य एकदमै चुनौतीपूर्ण हुन्छ ।’


हरेक विमान निर्माता कम्पनीहरुले उडान र अवतरण समयमा जहाजको तौल अधिकतम् कतिसम्म हुनसक्छ भनेर सीमा निर्धारण गरेका हुन्छन् । यसैका आधारमा उडान कम्पनीहरुले जहाजलाई सुरक्षित गर्न भार व्यवस्थापन गर्छन् । ‘वास्तविक तौल कम्पनीले तोकेको अधिकतम् उडान तौलभन्दा कम भए, जहाज सुरक्षित हुन्छ,’ बुद्ध एयरका कनिष्ठ उडान सञ्चालन इन्जिनियर विकल्प बम्जन भन्छन्, ‘त्यस्तो छैन भने जहाज सुरक्षित हँुदैन ।’


जहाजको संरचनागत सीमितता बाहेक अरु धेरै कुराका आधारमा भार व्यवस्थापन गर्नुपर्छ । ‘भार व्यवस्थापनका लागि लोकेसन, एयरपोर्टको अवस्था, धावनमार्गको लम्बाई, उडान गर्नुपर्ने उचाई, मौसमको अवस्थालगायत धेरै कुरामा ध्यान दिनुपर्छ’ बम्जन भन्छन्, ‘यी सबै कुराले अधिकतम् उडान र अवतरण तौलको निर्धारण गर्छन् ।’


जहाजको उडान तौललाई विशेषगरि दुईवटा कुराले निर्धारण गर्छ । पहिलो, जहाज सञ्चालन तौल (अपरेसन वेट), जस अन्तर्गत जहाजको न्यूनतम् तौल, जहाज खालि हुँदाको तौल, कर्मचारी (क्रिउ)को तौल र आवश्यक इन्धनको तौल पर्छन् । इन्धनको मौज्दात जहाज उड्नु पर्ने गन्तव्य अनुसार फरक हुने भएकाले यसको तोलमा घटिबढी भइरहेको हुन्छ । दोस्रो, जहाज उडान तौल र सञ्चालन तौल बिचको फरक, जसलाई ‘पेलोड’ भनिन्छ । ‘जुन तौल बोक्नका लागि पैसा तिरिएको हुन्छ त्यसैलाई ‘पेलोड’ भनिन्छ,’ श्रेष्ठले भने । ‘पेलोड’ अन्तर्गत कार्गो, यात्रु र तिनीहरुको लगेज पर्छन् । त्यसमा कम्पनीले यात्रुलाई पहिलो प्रँथमिकतामा राख्ने गर्छन् । यात्रु र तिनले बोक्ने सामान अनुसार ‘पेलोड’ फरक पर्नसक्छ । त्यसैले गर्दा हरेक उडानका लागि यो तौलको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ, भार व्यवस्थापनका लागि कुनै सिट खाली राख्नुपर्न भएपनि त्यसका लागि पनि तयार रहनुपर्छ ।


बुद्ध एयरले ‘पेलोड’को गणना गर्न दक्ष जनशक्ति व्यवस्थापन गरेको छ । उनीहरु जहाज उडानको तौल व्यवस्थ्यापनका लागि उच्च दक्ष प्रँविधिकद्वारा तयार पारिएको विशेष सफ्टवेयरमार्फत तौलको गणना गर्छन् । ‘बीएचए लोड एन्ड ट्रिम सिट सफ्टवेयर’ बुद्ध एयर आफैले उच्च दक्ष र अनुभवी उडान इन्जिनियरहरुको सहायतामा बनाएको हो । ‘यस्तो तौलको गणना मानिसले गर्दा तौलको सही विवरण नआउन सक्छ किनकि लोकेसनलगायतका विभिन्न विवरण समेटेर जहाजको भार व्यवस्थापन गर्नुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘हामी दक्ष जनशक्तिद्वारा सफ्टवेयर प्रयोग गरि भार व्यवस्थापन गर्छाैं ।’


तौलसम्बन्धी सम्पूर्ण विवरण तयार भएपछि ‘ग्राउन्ड ह्यान्डलिङ’ शाखा र ‘लोडमास्टर’लाई पठाइन्छ । त्यहाँ उनीहरुले उडान भर्ने यात्रु र जहाजमा लगिने कार्गोको विवरण गणना गर्छन् । उनीहरु हरेक चरणमा तौलको प्रमाणित गरेर सुरक्षा प्रबन्ध मिलाउन सहयोग गर्छन् । बुद्ध एयर हरेकको उडान सुरक्षाका लागि कुनै पनि सम्झौता गर्दैन र श्रेष्ठ तथा उनको समूह सँधैं उडान सुरक्षाका लागि तयार रहेको छ । तपाईंले पनि उडान समयमा कुनै सिट खालि देख्नु भयो भने सम्झनुस्–तपाईं आफ्नै उडान सुरक्षित बनाउँदै हुनुहुन्छ । (प्रायोजित)  (साँघु साप्ताहिक, २०८१ जेठ २८)
 

प्रतिकृया दिनुहोस