• शनिबार-श्रावण-१२-२०८१

जहाज उडानमा पाइलटलाई साथ दिने हातहरु

 

काठमाडौं । जहाज उडाउने काममा पाइलटको भूमिका जति महत्वपूर्ण हुन्छ, त्यति नै उडान व्यवस्थापनका लागि अन्य सहयोगी टिमहरुको पनि रहेको हुन्छ । जहाज कसले उडाउछ ? उत्तर आउँछ, पाइलटले । तर, एउटा जहाज उडाउन पाइलटसँगै अरु धेरै कुराको संयोजन आवश्यक पर्छ । जहाजको रेखदेखदेखि चालक दलका अन्य सदस्यहरु र इन्धनको व्यवस्थापनसम्म, सुरक्षित र उचित उडान एवं अवतरणदेखि अरु सरोकारवालासँगको सूचना आदानप्रदानका लागि धेरै कामहरु गर्नुपर्छ । नियमित कार्यबाहेक उडान व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण र जरुरी हुन्छ । 


 मानौ आज साढे ११ बजे बुद्ध एयरको ‘बिचक्राफ्ट–१९००–डी’ धनगढी उडान गर्न लागेको छ । कप्तान रोनित शेरचन, को–पाइलट र दुईजना एयर होस्टेसले उडानको जिम्मेवारी पाएका छन् । उनीहरुलाई यसबारे अघिल्लो साँझ नै जानकारी दिइसकिएको छ । आफ्नो जिम्मेवारी सम्हाल्न विमानस्थल आएपछि रोनितले सुरुमा ‘ब्रेथ एनलाईजर’ परीक्षण गर्नुपर्छ । बुद्ध एयरको ‘अपरेसनल कन्ट्रोल टिम’ले उनलाई जहाजको कार्यावस्था, गन्तव्यको मौसम, इन्धन योजनालगायतको जानकारी दिन्छन् । ‘कन्ट्रोल रुम’मा यी सबै काम भइरहेका बेला पार्किङबाट इन्जिनियरहरुले जहाजलाई उडाउने स्थानतर्फ सार्छन् । उडान भर्नुपूर्व धावनमार्गको अवस्थाबारे पनि चनाखो भएर हेर्नु जरुरी हुन्छ । 


जहाज उडाउने काम पाइलटले गरेपनि उडान व्यवस्थापनका लागि ‘अपरेसनल कन्ट्रोल टिम’ पनि उत्तिकै जिम्मेवार हुन्छ । त्यसका लागि बुद्ध एयर उडान नियन्त्रण टोलीका कर्मचारीहरु उडान भर्न जाने पाइलटसँग समन्वय गर्न र सुरक्षित तरिकाले समयमै जहाज उडाउने कार्यमा खटिएका हुन्छन् ।  


‘नेक्स्ट जेनेरेसन’ले इन्धन खपतका लागि हावाको चाप निर्धारण, हावाको चापका आधारमा उडानको रुट र गन्तव्यमा पुग्ने समय एवं जहाजको उपयुक्त गति तय गर्न सहयोग गर्छ । ‘सिस्टम नोटप्याड’ले उडानका लागि पाइलट र विमानस्थल टावरबिच सूचना आदानप्रदान गर्न समन्वय गर्छ । ‘द डिस्प्याच लक’ले भविष्यको लागि यात्रु संख्या, इन्धन खपत, जहाजको गतिलगायतका अत्यावश्यक सूचनाको जानकारी राख्ने काम गर्छ । उडान नियन्त्रण समूहले उडान समयभर चालक दलका सदस्यसँग सम्पर्कमा रही समन्वय गर्दछ ।


अधिकांश योजना उडान भर्नका लागि भएपनि दिनभर ‘अपरेसन कन्ट्रोल टिम’को व्यवस्थापनमा धेरै  खटिनु पर्छ । ‘भिजिबिलिटी’, विमानस्थल बन्दलगायतका बाह्य कारणले उडान अर्कोतर्फ मोड्नुपर्ने अवस्थामा यस्तो काम चुनौतीपूर्ण बनिदिन्छ । उदाहरणका लागि ‘भिजिबिलिटी’ नभएर उडान स्थगन गर्नुप¥यो भने लोकेस र उनको समूहले उडान रद्द गर्ने वा सुरक्षित उडानका लागि कुर्ने भनी चुनौतीपूर्ण निर्णय गर्नुपर्ने हुन्छ । त्यसकारण धनगढीमा जहाज अवतरण हुन सकेन भने ‘बिचक्राफ्ट–१९००–डी’ र क्रिउलाई वैकल्पिकरुपमा प्रयोग गर्नुपर्छ । त्यत्ति हुँदाहँुदै पनि यात्रुलाई जानकारी दिन सोही सूचना ‘मार्केटिङ’ समूहलाई दिनुपर्छ । 


‘हाम्रँे मुख्य दायित्व भनेको समयमै भरपर्दो र सुरक्षित उडानको सुनिश्चितता दिनु हो,’ ‘अपरेसन कन्ट्रोल’ केन्द्रका प्रबन्धक उमेश खड्का भन्छन् । सामान्य मानिसका लागि पाइलटले जहाज उडाउँछन् । तर, पाइलटका पछाडि ठूलो समूहले विभिन्न व्यवस्थापन गरेर मात्र सुरक्षित रुपमा जहाज उडान सम्भव भइरहेको हुन्छ । (साँघु साप्ताहिक, २०८१ जेठ ७)
 

प्रतिकृया दिनुहोस