• शनिबार-श्रावण-१२-२०८१

भण्डारी मन्त्री कि उपसचिव घिमिरे ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी

 

काठमाडौं । नेकपा एमालेको भागमा परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयभित्र यतिखेर केही कर्मचारीहरुका कारण बेतिथि मौलाउँदै गएको गुनासो कर्मचारीले गरेका छन् । मन्त्री दामोदर भण्डारीका निजी सचिव रहेका उपसचिव विवेक घिमिरेको फूर्तिफार्ती र कर्मचारी सरुवामा बढ्दो हस्तक्षेपका कारण सिङ्गो मन्त्रालय नै बद्नाम हुँदै गएको कर्मचारीहरु गुनासो गर्छन् । मन्त्री भण्डारी भन्दा विवेक घिमिरले एककदम अगाडि बढेर हरेक निर्णय र कर्मचारीको सरुवामा हैकम चलाउँदा मन्त्रालयका प्राय निर्णयहरु विवादमा पर्दै आएको बताइएको छ ।


मन्त्री भण्डारीले उद्योग विभागमा महानिर्देशक बनाउनका लागि मन्त्रालयमा भित्र्याएका सहसचिव लक्ष्मी निरौलालाई यतिखेर प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । बिभागमा कार्यरत महानिर्देशक यज्ञ कोइरालालाई मन्त्रालयमा तान्ने योजना मन्त्री भण्डारीले बनाएका थिए । त, मन्त्रीको उक्त योजनामा उपसचिव घिमिरे नै बाधक बनेको चर्चा सुनिन्छ । यतिखेर मन्त्रालयमा सहसचिव भित्र्याउने र बाहिर पठाउने श्रृंखला नै चलेको स्रोतले दावी गरेको छ ।

 

अघिल्लो महिना मात्र सहसचिवहरु बाबुराम गौतम, चन्द्रकला पौडेल, गजेन्द्र ठाकुरलगायत चारजनालाई मन्त्रालयबाट बाहिर पठाइएको थियो । सोही संख्यामा मन्त्री भण्डारीको रोजाईमा मन्त्रालयमा भित्र्याइएका सहसचिवहरुलाई आश्वासन दिए अनुसारको जिम्मेवारी नदिएको भन्दै उनीहरु असन्तुष्ट हुन पुगेको स्रोतले जानकारी दिएको छ । ०८१ बैशाख ३१ गते सोमवार सहसचिवद्वय रामचन्द्र तिवारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागमा कार्यरत महानिर्देशक तीर्थराज चिलुवाललाई मन्त्रालयबाट निकालिएको छ ।


मन्त्रालयमा भने सहसचिवहरु चण्डी प्रसाद घिमिरे, बिपिन आचार्य र धु्रव घिमिरेलाई भित्र्याइएको छ । यी र यस्ता हरेक निर्णयमा मन्त्री भण्डारी भन्दा पनि निजी सचिव घिमिरे बढी हावी भएको चर्चा मन्त्रालयमा चल्ने गरेको छ । जसका कारण मन्त्री भण्डारी कि घिमिरे भन्ने प्रश्न मन्त्रालयमा कार्यरत केही कर्मचारीले गर्दै आएका छन् । उपसचिव घिमिरेले आफूअनुकूलका नासु, अधिकृत, उपसचिव र सहसचिवहरुलाई रोजेको बिभाग, कार्यालय र निकायमा सरुवाका लागि मन्त्री भण्डारीलाई मनाएर त्यसको फाइदा भने आफूले उठाउँदै आएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


भरखरै मन्त्रालय भित्र्याइएका यिनै सहसचिवहरु मध्येबाट वाणिज्य र उद्योग विभागको महानिर्देशकमा खटाउने तयारी मन्त्री भण्डारीले गरेको बुझिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत रजिष्ट्रार दीपक पहाडी ५८ वर्षे उमेरहदका कारण यही जेठ महिनाको दोश्रो हप्तामा सेवा निबृत्त हुने भएका छन । त्यसकारण माथि उल्लेखित सहसचिवमध्येलाई नै बिभाग र कार्यालयको नेतृत्वमा खटाइने भएको छ । त्यसको लागि मन्त्री भण्डारीलाई भन्दा पनि उपसचिव घिमिरेलाई उनीहरुले खुशामत नगरेसम्म डीजी बन्ने संभावना न्यून रहेको चर्चा छ । (साँघु साप्ताहिक, २०८१ जेठ ७)


 

प्रतिकृया दिनुहोस