• शनिबार-श्रावण-१२-२०८१

‘छोरी’को भरतपुर महानगरपालिका : कर्मचारीका लागि ‘मक्कामदिना’ !

 

चितवन । निजामती प्रशासन सेवामा कार्यरत कर्मचारीहरुका लागि चितवनको भरतपुर महानगरपालिका यतिखेर ‘मुस्लिम धर्मालम्बीहरुको तीर्थस्थल मक्कामदिना’ जस्तै बन्दै गएको चर्चा हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहालले ०७४ पछि भएका दुईवटै स्थानीय निर्वाचनमा बिजय हासिल गरेर महानगर हाँक्दै आएकी छिन ।


सोही महानगरमा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनीयर पदमा सरुवा भएर जान र काम गर्नका लागि यतिखेर कर्मचारीको बिचमा ठुलै होडवाजी चल्ने गरेको कर्मचारीहरुबीच व्यापक चर्चा छ ।


जुनसुकै कर्मचारीले सो महानगरमा कामकाज गरेर केन्द्रीय सरकारका मन्त्रालय वा निकायमा सरुवा हुनासाथ रोजेको महत्वपूर्ण बिभाग, कार्यालयमा जिम्मेवारीको अवसर प्राप्त गर्दै आएको जानकार स्रोतले बताएको छ । जसले ‘छोरी’ मेयर दाहाललाई रिझाएर चितवनको प्रमुख जिल्ला अधिकारी र महानगर र नगरपालिकाहरुको प्रमुख प्रशासकीय अधिकृतमा अवसर प्राप्त गर्नेछन्, उनीहरुले त्यसपछि राम्रै निकायको जिम्मेवारी पाउँदै आएका छन् ।


मेयर दाहालले हरेक पटक आफ्ना पिता प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेर भएपनि आफूलाई सहयोग गरेका कर्मचारीले रोजेको र आकर्षक निकायहरुमा सरुवा गरेर अवसर दिंदै आएकी छिन । यही कारण खासगरी सहसचिवस्तरका कर्मचारीहरु चितवनमा रहेका संघबाट खटाइने निकायका पदहरुमा सरुवाका लागि मरिहत्ते गर्ने गरेको स्रोतले बताएको छ । शक्तिशाली नेता, ठूला दलका शीर्ष नेता, तीनका परिवारका सदस्य, अति निकट व्यक्तिहरुसँग विशेष सम्बन्ध कायम गर्न मरिहत्ते गरेर लागेका छन ।


केही कर्मचारीहरुले आफूअनुकूल प्रयोग गरी स्वार्थपूर्तिका लागि फेरि अर्काे मालदार र  आकर्षक ठाउँमा सरूवा गरेर जाने प्रवृत्ति यतिखेर निकै बढेको स्रोतले बताएको छ । ठूला नेता र उनीहरूको परिवारले लगाएको काम जे जस्तो भए पनि सहज रुपमा गरेर उनीहरूलाई खुसी पार्दै आफूले भनेको ठाउँमा सरूवा मागेर जाने प्रबृत्तिमा बढोत्तरी हुँदा शक्तिकेन्द्रसँग पहुँच नभएका काविल कर्मचारीहरु भने निरीह बन्नु परेको गुनासो केही कर्मचारीहरु गर्दै आएका छन् । यी र यस्ता विषयमा सबै भन्दा बढी माहिर सहसचिवमा वीरेन्द्रदेव भारती अग्रसर देखिएका छन् । दैलेखका भारती स्थानीय तहको ‘किङ’ प्रमुख प्रशासकीय अधिकृत मानिन्छन् ।


उनी सुरूमा डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निकट हुनका लागि गोरखाको पालुङटार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर खटिएका थिए । त्यसपछि उनी भट्टराई र उनको पत्नी हिसिला यमी निकट बनेका थिए । तर, भट्टराईसँगको निकटताले उनलाई खासै फाइदा भएन । त्यसपछि उनी नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट हुनको लागि रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर राम्रो पकड बनाउन सफल भएका थिए ।


त्यसलगत्तै उनी बाँकेको नेपालगज्ज उपमहानगरपालिका सरूवा भएर कर्णाली प्रदेशका सांसद र मन्त्रीसँग राम्रो सम्बन्ध सुधार गरेर शक्ति आर्जन गर्न सफल भएको उनी निकट स्रोतले जानकारी दिएको छ । लगत्तै पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बन्ने अवसर पाएका थिए । पोखरामा रहँदा पनि उनले चाकडी गरेरै नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुसँग राम्रो सम्वन्ध बनाउन सफल भए । त्यसपछि उनको सरूवा ललितपुर महानगरपालिकामा भएको थियो । यहाँ पनि उनले नेपाली कांग्रेसका उदय शमसेर राणा, मदन अमात्य, महानगरका मेयर चिरिबाबु महर्जनसँग घनिष्ठ सम्बन्ध बनाउन सफल भएको बताइन्छ ।


अहिले फेरि उनी प्रधानमन्त्री प्रचण्डसँग राम्रो सम्बन्ध बनाउन उनकी छोरी रेनु मेयर रहेको भरतपुर महानगरपालिकामा अघिल्लो बैशाखमा सरूवा हुन सफल भएका छन् । स्रोत भन्छ ‘प्रधानमन्त्री पुत्री रेनुसँग मिलेर काम गर्ने अवसर पाएका प्रमुख प्रशासकीय अधिकृतहरूले प्रायगरी कमजोर र कम आकर्षक अड्डामा सरूवा हुनु परेको छैन ।’ छोरी रेनुले भनेको वा सिफारिस गरेको कुरा प्रधानमन्त्री प्रचण्डले हम्मेसी काट्ने गरेका छैनन् ।


भरखरै छोरीको नेतृत्वको महानगरको प्रशासकीय अधिकृतबाट सहसचिव नरेन्द्र कुमार रानाले  अर्थ मन्त्रालयमा भित्रिने मौका पाएका छन् । यसअघि उनलाई सहयोग गरेका सहसचिवहरु नेत्र प्रसाद सुवेदीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रामबन्धु सुवेदीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख, दाङको सिडिओ हुने अवसर प्राप्त गरिसकेका छन । सहसचिव प्रेम भट्टराईले ललितपुर महानगरपालिका, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक र मधेस प्रदेशको अर्थ तथा योजना मन्त्रालयको सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी पाइसकेका छन ।


सहसचिव भोजराज खतिवडाले पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जिम्मेवारी पाएका छन । यसरी निजामती कर्मचारीहरू सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा प्रदान गर्न होइन कि जसरी पनि शीर्ष नेता रिझाएर मालदार बिभाग र निकायहरुमा सरूवा भएर मोजमस्ती गर्न  लालायित हुँदै आएका छन् । सरकारले दिएको अथाह बजेट खर्च गर्न स्वीकृत दिएर कर्मचारीले मार्गप्रसस्त र सहयोग गरिदिए बापत मेयर रेनुले नै राम्रो र मालदार ठाउँमा सरूवा मिलाइदिने गरेको स्रोतले दावी गरेको छ । (साँघु साप्ताहिक, २०८१ जेठ ७) 

प्रतिकृया दिनुहोस