• शुक्रबार-जेठ-४-२०८१

जेष्ठ परिवार–बुढ्यौली समाज र साहित्य(१) 

 

मुलुकमा केही वर्षदेखि साहित्य, आत्मकथा, कविता, कथा, नियात्रा काब्य, आदि लेख्ने र विमोचन गर्ने बाढीनै आएको हो कि भन्ने अनुभूत भएको  छ । भर्खरै यो पंक्तिकार त्रिविमा आईएसबीएन नम्बर लिन जाँदा सुनियो अब त पढ्ने भन्दा लेख्ने बढी भए । यो समग्र नेपाली  साहित्य र नवीनतम् प्रविधिको समेत ठोस योगदान छ भन्नुमा अत्युक्ति नहोला ।

 

साहित्य प्रकाशनको बाढी
युवा लेखक भन्दा जेष्ठ नागरिकका कृतिहरु बजारमा आउनु राम्रो हो ।  भनिन्छ जेष्ठ नागरिक वा बुढाहरु पुरानो कुरा गर्छन् युवाहरु भविष्यका कुरा गर्छन् । साथै, पुरानो अनुभवले नै भावी रेखा कोर्ने कुरामा कुनै शंका छैन । त्यसो भएको हुनाले “कुरा सुन्नु बुढोको आगो ताप्नु मूढा”को भन्ने उक्ति त्यसै रहेको होइन । तर कृतिले मनोरंजन र केही संदेश दिनु पर्छ भन्नेमा कसैको  विमति नहोला ।


के हो साहित्य ?
खासमा भन्ने हो भने सिर्जनात्मक लेखनलाई साहित्य भनिन्छ । साहित्य सिर्जना सर्जकले सामाजिक, यथार्थ, कल्पना तथा स्वैरकल्पनाको प्रयोग गर्दछ ।  साहित्यअन्तर्गत विभिन्न विधागत रचनाहरू पर्दछन् । कविता, कथा, उपन्यास, नाटक र निबन्ध साहित्यका सिर्जनागत भेद हुन् भने साहित्य सिर्जना हो । 


 सरसरी हेर्दा , नेपाली साहित्यमा पनि विभिन्न विधागत साहित्य सिर्जना भएका छन् । नेपाली साहित्यको विकासक्रमलाई अध्ययन गर्दा प्राथमिक, माध्यमिक र आधुनिककालमा विभाजन गरिएको पाइन्छ । साहित्य सिर्जनाका कालगत विभाजनसँगै तत्कालीन समयमा रचनाका विषयवस्तुमा पनि विविधता पाउन सकिन्छ । 


नेपाली साहित्य 
नेपाली साहित्य नेपाली भाषामा  लेखिएका साहित्यिक  रचनाहरू हुन् । नेपाली भाषा नेपालको  राष्ट्रभाषा हो । साहित्य किन लेख्ने, केका लागि लेख्ने भन्ने प्रश्न र तिनका अनेकौं उत्तर सदा भइरहेका छन् । प्रश्न गर्ने र उत्तर दिनेको निरन्तरता टुटेको छैन । सदा बहस भइरहेको छ लेखनका हेतुबारे । 


लेखनका पछि कुनै न कुनै उद्देश्य हुनुपर्छ, पाठकले त्यसबाट केही विशेष कुरा प्राप्त गर्नुपर्छ भन्ने सामान्य मान्यता जहिले पनि रहन्छ । यस्तै मान्यतालाई आधार बनाई लेखिने गरेको पनि छ । अधिकांश लेखक आफ्नो लेखनको उद्देश्यका बारेमा केही न केही धारणा व्यक्त गरिरहेका पनि हुन्छन् । 


 भनिन्छ ,लेखक आफैंमा केही पनि होइन, लेखकका माध्यमबाट जीवन, प्रकृति, समाज र समय अभिव्यक्त हुन्छ । त्यो अभिव्यक्त हुन चाहने तत्त्व कुन रूपमा आउन खोजिरहेको छ, त्यसको जानकारी लेखकलाई हुँदैन । ऊ त लेख्दै जान्छ, पात्रहरू आफैँ बोल्दै, गफ गर्दै जान्छन् । कति ठाउँमा लेखक आफैँ छक्क पर्छ पात्रहरूको संवाद र असोच्य घटनाहरू देखेर । 


साहित्य समाजको दर्पण 
वास्तवमा साहित्य सामाजिक इतिहासको दर्पण हो । विगत र आगतलाई जोड्ने पुल हो भन्न सकिन्छ । साहित्य रचनामा सर्जक वा स्रष्टाले विषयवस्तुको चयन गर्दछ ।     ती विषयवस्तु धार्मिक, सामाजिक, राजनीतिक, आर्थिक कुनैपनि हुन सक्छन् । साहित्य सिर्जनामा सर्जकले आफ्नो शैली शिल्पसँगै मौलिकपन वा मौलिकता, कलापूर्ण भाषा, मानवीय संवेग अनुभूति अन्तरविचारको प्रदर्शन र अनुभवको प्रयोग गर्दछ ।  


साहित्यमा प्रयुक्त विषयवस्तु सामाजिक, आर्थिक राजनीतिक, धार्मिक तथा ऐतिहासिक हुन सक्छन् । साहित्य सिर्जनाका उद्देश्य धर्म, अर्थ, काम र मोक्ष अन्तर्गतका कुनै पनि हुन सक्छन् । साहित्यका माध्यमबाट साहित्यकार वा सर्जकले समाजको चित्रण गर्दछ, समाजमा भएका राम्रा नराम्रा पक्षको उद्घाटन गर्दछ । सुधार गर्नुपर्ने कुरालाई प्रस्ट्याउँछ । 


 यस क्रममा, असल चरित्र, आदर्श र नैतिकताको  सकारात्मक सन्देश दिन्छ । नेपाली साहित्यमा धर्म र संस्कारको प्रत्यक्ष प्रभाव रहेको देखिन्छ । धार्मिक परम्परामा आधारित रहेर आदर्शोन्मुख समाजको निम्ति रचना गरिएका साहित्यहरू प्रशस्तै रहेका पाइन्छन् । नेपाली साहित्यको प्राथमिककालमा संस्कृत भाषाको प्रभाव, गुरुकूल शिक्षाको प्रचलन, धार्मिक आस्था र सनातन परम्पराबाट प्रभावित भएको पाइन्छ । 


समष्टीमा  भन्ने हो भने, वैदिक धर्म, संस्कृतिको प्रत्यक्ष प्रभावद्वारा समाजमा र सामाजिक व्यवहारबाट सिर्जना गरिएका साहित्यमा नैतिक, औपदेशिक, धार्मिक विषयवस्तु रहेका देखिन्छन् । अझ स्पष्ट भन्ने हो भने नेपाली साहित्यमा प्रत्यक्ष बुढ्यौली  प्रभावबाट नै सुरु भएको देखिन्छ । देवी, देवतालाई आदर्शपात्र मानेर तिनीहरूकै चरित्र, व्यवहार र जीवनचर्यालाई नै साहित्यको विषयवस्तुको रूपमा चयन गर्ने परम्परा देखिन्छ । संस्कृत भाषामा रचित रामायण, महाभारत, कृष्णचरित्र, स्वस्थानी, हितोपदेश, पञ्चतन्त्र, अङ्ग्रेजी भाषामा बाइबल जस्ता पुस्तकका अनुवाद  गरिएको पाइन्छ । अनुवाद पछिका समयमा रचना गरिएका साहित्यमा विषयवस्तुका आधार नै बुढ्यौलीपन रहेको ज्ञात हुन्छ । नेपाली साहित्यमा रचना गरिएका आख्यानात्मक तथा गैर आख्यानात्मक कृतिमा बुढ्यौली अनुभूति वा सिर्जनाले  महत्वपूर्ण  र अधिक स्थान ओगटेको छ । 


प्राथमिककालका त्यस्ता कृतिहरूमा शक्तिबल्लभ अज्र्यालको महाभारत विराटपर्व (१८२७) भानुदत्तको हितोपदेश मित्रलाभ (१८३३), रामभद्रापाध्याको लक्ष्मीधर्म संवाद (१८५५), शक्तिबल्लभ अर्याल हाँस्यकदम्ब (१८५५), गौरीशंकर पण्डितको वेताल पञ्चविंशती कथाहातम् (१८५५), तुलसी स्तवको दैवज्ञ ज्योतिनसिंह (१८५५), अज्ञातको दशकुमार चरित (१८७५), अज्ञातको महाभारत सभापर्व आदिपर्व (१८८०), अज्ञातको लंकाकाण्ड मित्रलाभ (१८०५), सिंहवीरको लंकाकाण्ड अध्यात्म रामायण (१८८८) हीनव्याकरणी विद्यापतिको गीत गोविन्द (१८८८), अज्ञातको किष्किन्धा काण्ड, वृहत कथा, स्वस्थानी कथा, विराट पर्व, मुद्राराक्षस कथा, गोपीका स्तुति–विभिन्न समयकाल) जस्ता अधिकांश धार्मिक कथाका विषयवस्तु भएका साहित्य मौलिक तथा अनुवाद कृतिमा लामो वा छोटो बुढ्यौली अवस्थाकै कथावस्तुको प्रयोग भएको देखिन्छ । 


साथै ,परिपक्व अवस्थाका अग्रज मान्यजन देवी, देवताका चरित्रलाई आधार मानेर उनैका कथा वा व्यवहारलाई साहित्यमा उतार्ने कार्य भएको छ । हिन्दू धर्मग्रन्थमा आधारित चरित्र, आख्यान तथा उपदेशलाई मूल आधार मान्ने प्रवृत्ति प्राथमिक कालमा देखिएकोले नेपाली साहित्यको प्राथमिककालीन अधिकांश कृतिमा बुढ्यौली अवस्थाका विविध पक्षको अधिक प्रयोग भएको देखिन्छ । रामायणमा गुरु बशिष्ठ, दशरथका कथा, महाभारतमा शान्तनु, धृतराष्ट, भीष्मपितामहका प्रसङ्ग कृष्णचरित्रमा वासुदेवजस्ता वृद्ध पात्रका आख्यानात्मक कथन देखिन्छन् । 


जेष्ठ परिवार वा बुढ्यौली समाज र साहित्य 
वर्तमान परिप्रेक्षमा, आधुनिक समाजमा वृद्धवृद्धा भइसकेका आमाबाबुलाई वृद्वाश्रममा राख्ने क्रम बढ्दैछ । अहिलेको समाजमा सानो तथा एकल परिवारमा रम्ने परिपाटी छ । तर,  केही जिल्ला खस गरि मकवानपुरका अग्रज साहित्यकारहरुले आफूलाई वृद्धावस्थामा पनि व्यस्त राख्दै साहित्य सृजनाका साथै अन्य क्रियाकलापमा पनि सक्रिय रहन बुढ्यौली साहित्य समाज गठन गरेका छन् । बुढ्यौलीपनलाई आधार वा विषय बनाएर लेखिएका सबै साहित्य बुढ्यौली साहित्य हुन् । बुढ्यौली साहित्य बुढाबुढीका आत्मकथा र व्यथामात्र हैन, यो त विगतलाई आगतसँग जोड्ने सेतु पनि हो । बुढ्यौली उमेर र त्यसले पारेको प्रभाव, अनुभव, अनुभूतिलाई साहित्यले प्रतिनिधित्व गर्छ । 


    त्यसर्थ , बुढ्यौलीपनलाई आधार बनाएर सिर्जना गरिएका साहित्य नै बुढ्यौली साहित्य हो । साधारणतः जेष्ठ नागरिक वा बुढ्यौली उमेर र त्यसले पारेको प्रभाव अनुभव, अनुभूतिलाई साहित्यका विभिन्न विधागत रूपमा लेखिने साहित्य नै बुढ्यौली साहित्य हो । सामान्यतया मानिसको सृष्टि, त्यसको गतिशीलता, जन्म, मृत्यु, पुनर्जन्म, प्राकृतिकपन, दैवीशक्ति चमत्कार, विश्वास, आस्था, धारणा पाइन्छ । बुढ्यौलीको सार्वभौम यथार्थ हो । यो आदिम सभ्यताका सामूहिक अनुभूतिहरूको समग्र पक्ष हो, जसमा मानव र प्रकृतिका घटना रहेका हुन्छन् । 


साहित्य र धर्म 
धर्मप्रतिको आस्था र भक्ति संसारका सबै धर्मग्रन्थमा पाइन्छ । जुनसुकै धर्मले पनि सृष्टिको, संसारको उत्पत्ति र विकासका बारेमा आ–आफ्नो कथाको वर्णन गरेको छ ।  विश्वको बुढ्यौली साहित्य परम्परालाई अध्ययन गर्दा बुढ्यौली र धर्म सँगसँगै आएको पाइन्छ । प्राचीन समयदेखि नै बुढ्यौलीमा धार्मिक भावना मिश्रित भएर आएको हो । बुढ्यौली साहित्यलाई आदिम विज्ञान, आदिम चिन्तन र धर्मका रूपमा लिन सकिन्छ । हिन्दू धर्मलाई वेद, आख्यान र पुराणबाट अलग गर्न सकिँदैन यी सबैभित्र बुढ्यौलीका कथा समाविष्ट छन् । (साँघु साप्ताहिक, २०८१ वैशाख १७)
 

प्रतिकृया दिनुहोस