• आइतबार-भदौ-२३-२०८१

नेपाल : बढ्दो बसाई सराई र घट्दो जनसंख्या वृद्धि !

 

हालै राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ)ले सार्बजनिक गरे अनुसार नेपालको राष्ट्रिय औसत आयु ७१.३ वर्ष पुग्यो, पुरुषको आयु ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष  रहेको छ । विगत एक दशकमा वार्षिक ०.९२ प्रतिशत जनसंख्या बृद्धि रहेको छ, जुन ८० वर्षयताकै न्यून हो । राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ)ले हालै जनसांख्यिकीय सूचक प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा अवधिमा वार्षिक एक प्रतिशतभन्दा कम जनसंख्या वृद्धिदर भएको देखाएको छ ।     
  
सर्सरी हेर्दा पछिल्लो आठ दशकको तथ्याङ्कको तुलनामा जनसंख्या वृद्धि न्यून रहेको देखिन्छ । एनएसओका अनुसार हाल मुलुकको जनसंख्या करिब २ करोड ९२  लाख रहेको छ ।  २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको थियो ।


नेपालमा ६० प्रतिशत एकल परिवार
विश्व एकल परिवारमा रहने प्रवृत्ति बढेको छ । नेपालमा जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । परिवारको संरचनाले पनि हरेक कुराहरु आर्थिक तथा सामाजिक संरचनाहरुमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्ने समेत सो प्रतिवेदनमा उल्लेख छ ।


एक वर्षमा नेपालमा शिशुहरुको 
कोरा जन्मदर १४.२ प्रतिशत

एक वर्षमा शिशुहरुको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्म भएको देखिन्छ । जन्मिने हिसावको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ । 


जन्मदर घट्दो क्रममा छ । २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ । ०६८ मा २२.४ थियो भने ८ जनाको दरले यो अवधिमा घटेको छ । एउटा (१५–४९) वर्षका महिलाहरुले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरुको संख्या १ जना महिलाले नेपालमा प्वाइन्ट ७३ छोरीहरु जन्माउँछन् । सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो । कर्णालीमा सय जनामा ७९ जना महिलाहरुले छोरीहरु जन्माएको देखिन्छ ।

 

सबैभन्दा कम छोरीहरुको जन्म बागमती प्रदेशमा भएको छ । छोरीहरुको संख्या जति घट्छ जन्मदर द्रुतगतिमा घट्दै जाने खतरा हुन्छ । सोही अनुसार नेपालमा पनि खतरा देखिएको सम्बन्धित बताउछन्  ।  प्रतिहजार महिलाहरुमा २२२ जना बच्चाहरु वागमती प्रदेशमा जन्मिने गरेका छन् भने मधेस प्रदेशमा सबैभन्दा बढी हजार जना महिलामा ४०१ जना जन्मिने गरेका छन् ।


एउटा महिलाले आफ्नो जीवनकालमा
 १.९४ जना बच्चा जन्माउँछन्

१५ देखि ४९ वर्षका उमेरका महिलाहरुले औषतमा बच्चा जन्माउने औषत उमेर कर्णाली प्रदेशमा करिब करिब २७ वर्ष (२६.९) रहेको छ । त्यस्तै वागमती प्रदेशमा २८.४ छ । उमेर जति घट्दै गयो, त्यति नै बच्चा जन्माउने दर घट्दै जान्छ । अहिलेको प्रजनन दर एउटा महिलाले १५ देखि ४९ वर्षका महिलाले सरदर उसको जीवनकालमा कति जना बच्चा जन्माउँछन् भनेर हेर्दा १.९४ जना बच्चा जन्माएको देखिन्छ ।


शिशु मृत्युदरमा सुधार
२०३८ को जनगणनादेखि २०७८ सालसम्मको ट्रेन हेर्ने हो भने यो मृत्युदरमा सुधार भएको छ । २०६८ मा एक हजार जना शिशुहरुमध्येमा जन्मिएका शिशुहरुमा ४० जना मरेको देखिन्छ । अहिले १७ मा पुगेको अवस्था छ । शिशु मृत्युदरमा सुधार भएको छ ।


गण्डकी प्रदेशमा आन्तरिक 
बसाईं सर्नेहरु सबैभन्दा बढी

गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाईं सरेका छन् । यो पाँच वर्षको तथ्यांक हो । बागमती प्रदेशमा करिब १ लाखमा ५४ जना बसाईं सरेको तथ्यांकले देखाएको छ । कर्णाली प्रदेशमा प्रति लाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ ।


५ वर्षमा वाह्य बसाईं सर्ने नेपालीहरु 
प्रति एक लाखमा ३७ सय ५२ जना

५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना वाह्य बसाईं सराई भएका छन् । प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाईं सरेका छन् । दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ । लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराई भएकाहरुको प्रदेश मधेस प्रदेश रहेको छ ।


नेपाल अहिले जनसङ्ख्या खास गरि बढ्दो उमेरको  वृद्धिको प्रक्रियामा छ । बढ्दो जनसंख्याले सामाजिक, आर्थिक र स्वास्थ्य सेवा प्रणालीमा धेरै चुनौतीहरू उत्पन्न गर्दछ । यी समस्याहरूलाई सम्बोधन गर्न र उनीहरूको आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै नीति तथा सुरक्षा कार्यक्रम तर्जुमा गरेको छ र देशका ज्येष्ठ नागरिकको हितलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महासन्धिहरू गर्न प्रतिबद्ध समेत छ ।


नेपालको सरकारी निकायमा सेवा निवृत्त उमेर ५८ वर्ष छ । अर्थात् सरकारी सेवामा बुढ्यौली ५८ वर्षबाट प्रारम्भ हुन्छ । तर शिक्षा सेवा मा निवृत्ति उमेर ६३ तथा कानूनी सेवामा यो उमेर ७५ वर्ष छ । तसर्थ विभिन्न क्षेत्रमा बुढ्यौलकिो समयसीमा पनि फरक छ ।    


विगतमा अठार वर्षमा विवाह भएकी महिला ३५ वर्षको युवा उमेरमा हजुरआमा बन्न सक्छिन् । नाति र नातिनीहरु खेलाउँदा र उनीहरूले हजुरआमा भनेर बोलाउँदा ३५ वर्षको युवा उमेरमा पनि उनको सामाजिक भूमिका वृद्ध हजुर आमाको जस्तै हुनुपर्छ । किनभने समाजले तन्नेरी हजुरआमाको भूमिका बनाएको छैन ।     


जेष्ठ नागरिकहरूले आफूले प्राप्त गरेको अनुभव, ज्ञान र सिपहरु पछिल्लो पुस्तामा हस्तान्तरण गर्नु पर्दछ । यदि कोही मानिस ८० वर्षमा पनि सक्रिय रहन्छ भने त्यसमा युवावस्थाको विशेषता भएको मानिन्छ । 


प्रौढतालाई उमेर, अनुभव, दायित्व, शारीरिक र मानसिक सक्रियता, सामाजिक र मनोवैज्ञानिक प्रभाव आदिको मिश्रण मान्न सकिन्छ । त्यसैले कोही छिटो बुढो हुन्छ भने कोही ढिलो बुढो हुन्छ । (साँघु साप्ताहिक, २०८१ असार ३) 
 

प्रतिकृया दिनुहोस