• मंगलबार-बैशाख-१८-२०८१

विवादस्पद कर्णेललाई बढुवा सिफारिस किन गरियो ?

 

 
नेपाली सेना एकदमै अनुशासित संस्था आफ्नो छुट्टै सैनिक ऐन भएकोले गर्दा पनि यस संस्थालाई जनताले बढी विश्वास गर्ने गर्दछन् । सैनिक अनुशासनमा चुकेका विभिन्न अपराधमा संलग्न साथै भ्रष्टाचार तथा आर्थिक हिनामिनामा संलग्न सैनिक व्यक्तिहरुलाई सेनाले गरेको संस्थागत कारबाहीले कुनै बेला वाहवाही कमाए पनि बेलाबखत आर्थिक हिनामिनामा जोडिएका आफ्ना व्यक्तिहरुलाई कारबाहीको सट्टा पुरस्कार स्वरुप दिने गरेको बढुवा र विदेश तालिमको अवसरले सेनाभित्रका अन्य ईमान्दार व्यक्तिहरुको मनोबलमा असर त परेको छ नै त्यति मात्र नभएर सेना बाहिर पनि सेनाको अनुशासन र आर्थिक पारदर्शिता (भ्रष्टाचार)को बारेमा प्रश्न चिन्ह खडा हुने गरेको छ ।


  तत्कालीन प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा अनुशासन र भ्रष्टाचारलाई शून्य सहनशिलता नीति अपनाएर सेनालाई एउटा सही बाटोमा हिडाउन कोसिस गरे पनि उनको कार्यकाल सकिना साथ फेरि सेना पुरानै बाटोमा हिंड्ने चिन्ताले पिरोलेको छ ।  भ्रष्टाचार तथा आर्थिक हिनामिनामा संलग्नको आरोप खेपेका आफ्नो नजिकको मान्छेलाई जस्तोसुकै आर्थिक हिनामिनामा जोडिए पनि उनीहरुलाई कारबाहीको सट्टा बढुवा दिने गरेको पाईन्छ । हालका प्रधान सेनापति प्रभुराम शर्माले भ्रष्टाचारीहरुलाई कारबाही गरि सेनालाई स्वस्थ, स्वच्छ बाटोमा हिंडाउन सक्नु भएको हामीले पाएका छैनौ । 


यो कुरा कसरी पनि पुष्टि हुन्छ भने भर्खरै यही मिति २०८० चैत २३  गते नेपाली सेनाले प्रमुख सेनानी तथा महासेनानी दर्जामा बढुवा सिफारिसको लागि ७ (सात) दिने सूचना जारी गरेको छ । त्यसमा प्रमुख सेनानीबाट महासेनानी दर्जामा बढुवाको लागि सिफारिस गरिएका मध्य पूर्वी पृतना हेड क्वार्टरका ब्य. नं. ३३६२ भएका प्रमुख सेनानी सुरेन्द्र प्रताप रावल आर्थिक हिनामिनामा जोडिएका विवादस्पद प्रमुख सेनानी हुन् । 


उनी जाजरकोटमा ज्वाला दल गणका गणपति भएको बखत गणका सकल दर्जाहरु नलगार्ड हाईड्रो पावरको एक्सप्लोसिभ जस्तो संवेदनशील ठाउँमा सुरक्षार्थ खटिए वापत हाईड्रोपावर  कम्पनीले नेपाली सेनाबाट सुरक्षामा खटिएका ब्यक्तिहरुलाई दिएको भत्ता रकम पनि सम्बन्धितलाई नदिएर रकम हिनामिना गरेको तथा सोही गणमा भएको सैनिक कल्याणकारी फण्ड र आपतकालीन फण्डको ब्याजको रकम हिनामिना गरेको आरोप लागेको छ । 


 यो विषयको फाईल सैनिक सचिब अफिसमा पनि रहेको हामीले थाहा पाएका छौं ।  सेनाको मुद्दा हेर्ने लिगल फाँटमा पनि रहेको र सोही ज्वालादलको गणको रेकर्डमा पनि रहेको हामीलाई थाहा छ । सेनाले जहाँबाट पनि सत्यतथ्य छानबिन र कारवाही गर्न सक्छ । यसरी गण कमाण्ड गर्दा सिपाही जवानहरुको भत्ता तथा युनिटको रकम समेत हिनामिनामा संलग्न प्रमुख सेनानीलाई उचित छानविन गरि कारबाहीको दायरामा ल्याउनुको सट्टा उनैलाई फास्ट ट्रयाकमा बढुवाको लागि सिफारिस गरि हामी जस्ता स्वच्छ छवि भएका कुनै कुरामा पनि दाग नलगाई काम गर्दै आएका अधिकृतहरुलाई बढुवामा पछाडि पार्ने हो भने सेनाका अधिकृतहरुको मनोबल बल र भविष्य के हुन्छ ? हामी जस्ता अधिकृतहरुको मनोबलमा कस्तो असर पर्छ सैनिक नेतृत्वले बुझ्नु पर्छ कि पर्दैन ? 


 यसरी विवादमा परेको अधिकृतलाई बढुबा दिंदै जाने हो भने के सेना विवाद मुक्त रहन्छ ? त्यसैले  यही मिति २०८० चैत २३ गते नेपाली सेनाले प्रमुख सेनानी तथा महासेनानी दर्जामा बढुवा सिफारिसको लागि जारी गरेको ७ (सात) दिने सूचनामा प्रमुख सेनानीबाट महासेनानी दर्जामा बढुवाको लागि सिफारिस भएका मध्य पूर्वी पृतना हेड. क्वार्टर. का ब्य. नं. ३३६२ भएका प्रमुख सेनानी सुरेन्द्र प्रताप रावलको नाम हटाएर उनको बारेमा उचित छानबिन गरियोस् र दोषी भएमा सैनिक ऐन अनुसार कारबाही होस् ।

 

साथै उनको ठाउँमा हालसम्म कुनै पनि कसुर तथा दाग नलागेका प्रमुख सेनानीलाई खोजेर बढुवाको लागि सिफारिस गरियोस् भनि  प्रधान सेनापतिज्यूलाई हार्दिक निवेदन गर्दछौं । प्रधान सेनापतिबाट अवकास हुने बेलामा संस्थागत अनियमितताको आरोप खेप्दै आएका व्यक्तिलाई बढुवा दिएर आफू पनि विवादमा पर्ने काम अवकास हुने बेलामा नपरेकै उत्तम हुने छ । 
–सेनाको भलो चाहने प्रमुख सेनानीहरु, नेपाली सेना  (साँघु साप्ताहिक, २०८० चैत २६)
 

प्रतिकृया दिनुहोस