• शनिबार-श्रावण-१२-२०८१

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच मतभेद बढ्दै : मन्त्रीहरूको फेरबदलमा बनेन सहमति

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका कारण समस्यामा परेका छन् । कांग्रेसका नेताहरुको दबाब र मन्त्रीहरुको काम नगर्ने शैली आजित भएका प्रचण्डमाथि अन्य केही राजनीतिक निर्णयका कारणहरु पनि समेटिएका छन् । कांग्रेसका मन्त्रीहरुले काम गरेनन् भनेर प्रचण्डले सार्वजनिक रुपमा पनि भन्न थालेका छन् । त्यसले कांग्रेसभित्र प्रचण्डप्रति असन्तुष्टि  बढाउन काम गरेको थियो । त्यसबाहेक नेपाली कांग्रेसका सभापतिको व्यवहारले पनि समस्या थपेको छ । प्रचण्डले मन्त्रीहरु फेर्न र बदल्न खोजेका थिए । 


प्रचण्डको मन्त्री फेरबदल गर्ने सोचमा कांग्रेसका मन्त्रीहरु पर्ने संभावना त थियो नै । असहयोग गर्ने मन्त्री फेर्न प्रचण्डको लाइनमा देउवा असहमत  देखिएको स्रोत बताउछ । कांग्रेसका सभापति शेर वहादुर देउवाले मन्त्री फेर्न अटेरी गरेपछि प्रचण्डलाई समस्या परेको माओवादी स्रोत बताउछ । स्रोतका अनुसार, कम्तीमा पनि २ वर्ष कांग्रेसका मन्त्री नफेर्ने देउवाको अडान रहेको छ । 


 कांग्रेसका मन्त्री फेर्दा शेखर कोइराला समूह, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरुले कांग्रेसभित्र उत्पन्न हुन सक्ने अप्ठ्यारो र किचलोका कारण समस्या परेको स्रोत बताउछ । दुईजना उपसभापतिलाई कांग्रेसले मन्त्री बनाएको छ । उनीहरुलाई फिर्ता बोलाउँदा कारबाही गरेको सन्देश जाने भएकोले पनि सभापति देउवा  समस्या छन् । त्यसमाथि  दुईवटा गुटका नेताहरु उपसभापतिहरु रहेका छन् । त्यसकारणले  गर्दा कांग्रेस र प्रचण्ड बिचको दूरी बढाउन काम भइरहेको छ ।

 

प्रचण्डलाई देउवाको २ बर्ष मन्त्री फेरबदल गर्न नसकिने जवाफले प्रचण्डलाई डर चाहिँ कांग्रेसले चाँडै सरकार ढाल्छ भन्ने देखिएको बताइन्छ । सोही कारण अहिले प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष दावी नछोड्ने मनसाय बनाएका छन् । राष्ट्रियसभाको अध्यक्ष र मन्त्रीहरुको हेरफेर एकअर्कासँग जोडिएका पनि छन् । माओवादीले मन्त्री नफेर्दा अध्यक्ष नछोड्ने त बताएको छ नै सभापति देउवालाई विवादित मन्त्रीलाई फिर्ता गर्न पनि सुुझाव दिएका छन् । मोहन बस्नेत, रमेश रिजाललाई फिर्ता गर्न प्रचण्डको भनाई छ । उनीहरुलाई अख्तियार दुररुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । उनीहरुलाई छानविन गरिरहेका कारण सरकार बद्नाम भएको प्रचण्डको भनाइ छ । सभापति देउवा भने उनीहरुलाई कारबाही गर्दा पार्टीभित्र रडाको पैदा हुने भन्दै स्वीकार्न मानिरहेका छैनन् ।


 कांग्रेससँग दूरी बढ्ने संभावना देखिएका कारणले नै प्रचण्डले राष्ट्रियसभाको अध्यक्षमा दावी गरेर आफ्नो पोजिसन बलियो बनाउन खोजिरहेको स्रोत बताउछ । राष्ट्रियसभाको अध्यक्ष कृष्ण सिटौलालाई दिने अनौपचारिक सहमति निर्वाचन अघि नै भएको हो । माओवादीसँग कांग्रेसले लिखित सहमति भने गरेको छैन । त्यसैले, यो वचनबाट बाहिर निस्किनलाई सजिलो भने छैन । त्यहीकारण प्रचण्डले अध्यक्षमा स्वभाविक दावी रहने बताइरहेका छन् । त्यसले गर्दा समस्या गठबन्धनभित्र थप बढ्ने संकेत देखिएको छ । त्यसबाहेक कांग्रेसकै जोडबलमा मधेश प्रदेशको सरकार हेरफेरमा पनि माओवादी सक्रिय हुन खोजेको छ ।

 

मुख्यमन्त्री सरोज यादवसँग आलोपालोको माग राखेर कांग्रेसले गठबन्धनभित्र खेल्ने मौका पाएको छ । त्यो खेलाइका कारणले अहिले गठबन्धनभित्र मधेशमा पनि समस्या उत्पन्न भएको छ । यो कुरा २०८० माघ २६ गते शुक्रबारको बालुवाटार बैठकमा पनि उठेको थियो । बालुवाटारमा मुख्यमन्त्रीहरुसँग सत्ता गठबन्धनका नेताहरुसमेतको बैठकमा मधेशको सरकारमा आलोपालो गर्नुपर्ने कुरा उठाएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव नभएको त्यो बैठकमा उसको पार्टीकै मुख्यमन्त्री हटाउने गरी कुरा उठेपछि समस्या जटिल  बनेको स्रोत बताउछ । मुख्यमन्त्री यादवले विश्वासको मत लिने बेलामा यो कुरा  उठाएपछि कांग्रेसले के चाहिरहेको छ ? भन्ने प्रश्न पनि उठेको छ । 

 


केन्द्रमा मन्त्री फेर्न नमानेर देउवाले प्रचण्डलाई अप्ठ्यारोमा पारेका छन् अनि मधेश प्रदेशमा जसपाको मुख्यमन्त्री हटाउने खेलमा पनि कांग्रेस लागेको छ । त्यसले गर्दा माओवादी र जसपासँग एकसाथ कांग्रेसले विवाद निकालेको देखिन्छ । त्यसले कतै प्रचण्ड गठबन्धनको विकल्पमा निस्किने त होइन भन्ने चर्चा पनि हुन थालेको छ । यो चर्चाले गर्दा नेपालको पछिल्लो राजनीतिमा तरंग आएको छ । त्यो तरंगलाई पश्चिमा र दक्षिणले पनि नियाल्न थालेका छन् । उनीहरु सकेसम्म कांग्रेस र प्रचण्डलाई मिलाएर आफ्नो स्वार्थ पूरा गराउने खेलमा अडिग रहेका छन् ।

 

सरकारका हरेक कदममा कांग्रेसका मन्त्रीहरु मुछिन थालेका कारणले पनि समस्या भएको छ । अनि कांग्रेसका नेताहरु पनि सरकारका कदममा मुछिएका छन् । कांग्रेस नेता मात्रै नभएर कांग्रेस निकटका व्यापारीहरु समेत ती विवादमा तानिने गरेका छन् । कांग्रेस नेता बालकृष्ण खाणदेखि उद्योगी अरुण चौधरी र विनोद चौधरीसम्मका घटनामा कांग्रेस जोडिएका कारण अहिले कांग्रेसभित्र प्रचण्डलाई जसरी पनि फाल्नुपर्ने पक्षमा केही नेता र सांसदहरु सक्रिय देखिएका छन् ।

 

त्यसमा बढी सक्रिय रुपमा अर्थ मन्त्री डा. प्रकाशशरण महतहरुको टोली र डा. शेखर कोइरालाहरुको टोली रहेको स्रोतको दावी छ । त्यसले गर्दा सभापति देउवा अहिले निकै सकसमा रहेको पनि कांग्रेसकै नेताहरु भन्न थालेका छन् । (साँघु साप्ताहिक, २०८० माघ २९)
 

प्रतिकृया दिनुहोस