• शनिबार-श्रावण-१२-२०८१

निगमको व्यवस्थापन करारमा दिन चलखेल : मन्त्रालयको नेतृत्व कसरी अगाडि बढ्ला ?

 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन करारमा दिन तयारी गरेका छन । विदेशी कम्पनीलाई निगमको व्यवस्थापन करारमा दिएर ठुलै कमिशन हात पार्न मन्त्री किराँती र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको योजनामा भारतीय उद्योगी एवम व्यवसायीहरूलाई पोस्ने चलखेल गरेको आरोप मन्त्रालयका कर्मचारीले लगाएका छन् ।


जहाज खरिद गर्ने योजना के होला ?
मन्त्री किराँतीले निगमले आन्तरिकतर्फका दुर्गम क्षेत्रका विमानस्थल उडानका लागि तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन । आन्तरिक उडानका लागि तीन वटा एटीआर–७२ र अन्तर्राष्ट्रिय उडानका तीन वटा न्यारोबडी जहाज लिज प्रक्रियाबाट खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको निगम स्रोतले बताएको छ । जहाज खरिदका लागि भित्रभित्रै जहाज निर्माता कम्पनीसँग कुराकानी भैरहेको निगम स्रोतले बताएको छ । निगमसँग हाल आन्तरिक उडानका लागि दुई वटा न्यारोबडी ए ३२० र दुई वटा वाइडबडी ए ३३० जहाज रहेका छन् ।


निगम र विमानस्थल सुधारका लागि निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगम र विमानस्थल सुधारबारे हालसम्म भएका अध्ययन र प्रयाससहितको प्रतिवेदन पेश गर्न सम्बन्धित मन्त्रालय र निगम नेतृत्वलाई निर्देशन दिएको छ ।


समितिका सभापति राजकिशोर यादवले निगम तथा विमानस्थलको सुधारलगायत समग्र विषयमा के कस्ता अध्ययन÷अनुसन्धान भएका छन् तिनको प्रतिवेदन समितिमा पेश गर्न मन्त्रालय र वायुसेवा निगमलाई निर्देशन दिने निर्णय भएको जानकारी दिएका छन ।


बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखा परेका समस्या तथा प्राविधिक विषयका सम्बन्धमा पर्यटन मन्त्री किराती, सचिव डा. दीपक काफ्ले र निगमका कार्यकारी अध्यक्षसँग छलफल गरे लगतै यस्तो निर्देशन दिएको बताइएको छ ।


निजगढ विमानस्थल निर्माणमा ढिलाई
समिति बैठकमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माणमा विलम्ब भइरहेकोमा ध्यानाकर्षन गराएका छन । उनले बिमानस्थल निर्माण प्रक्रिया चाँडो  अगाडि बढाउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।


समिति सदस्यसमेत रहेका अध्यक्ष नेपालले भैरहवा र पोखरा विमानस्थलको प्रभावकारिता नदेखिएको बताउदै निजगढ विमानस्थल उपयुक्त भएकाले निर्माण प्रक्रिया अगाडि बढाउनुको विकल्प नरहेको बैठकमा धारणा राखेका थिए । अध्यक्ष नेपालले धेरै पहिलादेखि निजगढ विमानस्थलको कुरा उठिरहेको र विकास र समृद्धिको यात्रामा अघि बढाउन पनि निजगढ विमानस्थल बनाउनुको विकल्प नरहेको धारणा उनको रहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले धेरै पटक छलफल र स्थलगत अध्ययन गरेर निजगढमा विमानस्थल निर्माण गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको स्मरणसमेत उनले गराएका छन ।


समितिमा मन्त्री किराँती
मन्त्री किरातीले निगमको पुनः संरचनाका निम्ति व्यवस्थापन करार दिने प्रक्रिया अगाडि बढाइएको बताएका छन । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले मन्त्रालयको तर्फबाट यस्तो धारणना राखेका छन । उनले समितिमा निगमको पुनः संरचनाका निम्ति अब करार व्यवस्थापनमा जानैपर्ने उदघोषसमेत गरेका छन ।


उनको भनाई छ ‘हामी अव यो प्रणालीमा जाने तयारीमा छौं, करार व्यवस्थापनका निम्ति मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ ।’ छिट्टै यस विषयमा निर्णय हुने उनले जानकारी दिएका छन । मन्त्री किराँतीले आवश्यक अध्ययन र सरोकारवालाको सुझावका आधारमा वायुसेवा निगमलाई करार व्यवस्थापन प्रणालीमा लगेर निगमको सुधार गर्नुपर्ने अपरिहार्यता भएको जिकिर गर्दै आएका छन । उनले समिति मै विभिन्न देशमा व्यवस्थापन करार प्रणाली प्रभावकारी देखिएकाले नेपालले पनि यो अभ्यास अवलम्बन गर्दा उपयुक्त हुने धारणा राखेर व्यवस्थापन करारमा दिने तयारी भित्रभित्रै पुरा गरेको संकेत गरेका छन ।


भारतीयलाई भित्र्याउने भित्री खेल
मन्त्री किरातीले अहिलेकै अवस्थामा निगम सञ्चालन हुन नसक्ने निष्कर्षका साथ नयाँ ढङ्गले संरचनागत सुधार गरेर लैजाने योजना बनाएर मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको संकेत गरेका हुन । योसँगै निगमको व्यवस्थापन भारतीय कम्पनीलाई सुम्पिएर कमिशन खाने षडयन्त्र रचिएको आरोप जानकार स्रोतले लगाएको छ ।


अर्काेतिर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थलसहित अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थल पनि विदेशी कम्पनीलाई दिने सुरसारमा रहेको स्रोतले जानकारी दिएको छ । भारतीय व्यवसायीलाई व्यवस्थापन करारमा भित्र्याउन खोजिएको स्रोतको भनाई रहेको छ । 


यता, समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले निगमको व्यवस्थापन करारमा दिन नहुने, विद्यमान अवस्थालाई सुधार गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने र निगममा भएका जहाजको प्रभावकारी सञ्चालन गर्नुपर्ने माग गरेका छन ।


नयाँ जहाज थपेर अन्तर्राष्ट्रिय बजारमा दरिलो उपस्थिति जनाउनुपर्ने, करार व्यवस्थापनमा लगेर वायुसेवा निगम सुधार्ने योजना उपयुक्त भएपनि यसको औचित्यता र सान्दर्भिकतालाई ध्यान दिएर मात्र अघि बढ्नुपर्ने सुझाव सांसदहरुले दिएका छन । निगमको विद्यमान स्रोत साधनको भरपुर उपयोग गर्दै हालको अवस्थालाई सुधारेर सेवालाई प्रभावकारी बनाउनुपर्ने, निगमको जहाज बारम्बार ग्राउण्डेड हुने गरेकाले प्राविधिक मर्मत गर्दै उडान सेवालाई प्रभावकारी बनाउन समिति सदस्यहरुले जोड दिएका छन् ।


निगमलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उर्तानुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारमासमेत आवश्यक अध्ययन गरेर मात्रै निर्माण गरिनुपर्ने लगायतका सुझावहरु समेत समिति सदस्यहरु दिएका छन । बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले जहाज थपेर अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तार गर्नेतर्फ लागिरहेको जानकारी दिएका थिए । (साँघु साप्ताहिक, २०८० माघ २९)
 

प्रतिकृया दिनुहोस