• शनिबार-श्रावण-१२-२०८१

हवाई यात्रा गर्दा जान्नैपर्ने कुरा

 

हरेक देशको उड्डयन नीति नियम, सुविधा, व्यवधानहरु फरक फरक हुन्छन् । यस्ता विविध कुराहरुले गर्दा पहिलो पटक यात्रा गर्ने यात्रुले असहजता र कठिनाई भोग्नुपर्ने हुन्छ । त्यसैले नेपालको आन्तरिक उडानका बारेमा विमान यात्रुले केही कुराहरु जान्नुपर्ने नै हुन्छ । विमान यात्रुले असहजता सिर्जना हुने कुराहरुमा ध्यान दिन सकेमा नेपालको आन्तरिक उडानमा केही कठिनाई भोग्नुपर्दैन । साथसाथै अन्य सहजता र सुविधाबारे पनि जानकारी पाउन सकिन्छ । 


जानौं नेपालमा पहिलो पटक हवाई यात्रा गर्नेले थाहा पाउनुपर्ने केही कुराहरु :

 
अग्रिम टिकट बुक :
 अग्रिम टिकट बुकिङ गरेमा सस्तो दरमा टिकट खरिद गर्न सकिन्छ । उडानको मिति नजिकिँदै गर्दा टिकटको मूल्य बढ्ने हुन्छ र आफूले चाहेको सिट पनि पाउन सकिँदैन । 


एपको प्रयोगबाट अनेक सुविधा : यो समय प्रविधिको समय हो । त्यसैले एयरलाइन्स्हरु तथा अन्य वित्तीय एपहरुको प्रयोगबाट टिकट बुकिङ गर्दा विभिन्न छुट तथा जन्मदिनलगायतका शुभ अवसरहरुमा छुट पाउन सकिन्छ । 


ई–टिकटको सुविधा : प्रविधिको समयमा अब टिकट किनेर र अन्य कागजात बोकेर हिड्ने झन्झट्बाट मुक्त हुन सकिन्छ । आफ्नो मोबाइल तथा डिजिटल प्रविधिबाट ई–टिकट डाउनलोड गरेर त्यसको सहायता लिन सकिन्छ । यसले समय बचत गर्नुका साथसाथै साथसाथै अन्य कागजात बोकेर हिड्ने झन्झटबाट मुक्त गराउँछ । 


विमानस्थल एक घण्टा अगावै पुग्ने : ट्राफिक समस्या, कागजात छुट्नेलगायत विविध कारणले गर्दा विमानस्थलमा पुग्न अनेक समस्या सिर्जना हुन सक्दछ । त्यसैले विमानस्थल एक घण्टा अगावै पुग्न सकेमा यस्ता समस्याहरुबाट बच्न सकिन्छ र विमान छुट्ने अवस्था हुँदैन । 


परिचयपत्र साथमै राख्नुपर्छ : हवाई यात्रा गर्दा आफ्नो सरकारी परिचयपत्र नागरिकता वा पासपोर्ट साथमै राख्नुपर्ने हुन्छ । आन्तरिक यात्रा गर्दा विमानस्थलमा सरकारी परिचयको आवश्यकता पर्दछ । 


तोकेको लगेज बोक्ने : टिकटमा उल्लेखित तौल बराबरको लगेज मात्रै बोक्नुपर्दछ । नत्र अतिरिक्त तौलको रकम तिर्नुपर्ने वा अतिरिक्त तौल लैजान नपाउने अवस्था आउन सक्छ । 


निषेध सामान नबोक्ने : विमान यात्रामा निषेधित गरिएका वस्तु बोक्नु हुँदैन । विमान यात्रामा निषेधित गरिएका सामान बोक्दा सामान लैजान नपाउने, समय र पैसाको खेर जाने र सजाय पनि भोग्नुपर्ने अवस्था आउनसक्छ । 


विशेष सहायताका लागि एयरलाइन्सलाई जानकारी दिने : विशेष सहायता आवश्यक परेको खण्डमा एयरलाइन्स्लाई अग्रिम जानकारी दिनु उपयुक्त हुन्छ । ह्वीलचेयरजस्ता विशेष सहायताका लागि अग्रिम जानकारी भएमा सहायता समयमा नै उपलब्ध हुन सक्छ । 


उडान तालिकाबारे सूचित हुने : आफ्नो उडान कतिखेर हुन्छ, त्यो समयबारे जानकारी हुने वा सहयोग आवश्यक परेमा स्टाफहरुसँग जानकारी लिन सकिन्छ । विविध कारणले गर्दा हवाई उडानहरु ढिला पनि हुन सक्छन् । 


ढिला उडान हुनसक्ने बारे सूचित रहने : नेपालको भौगोलिक अवस्था र मौसमका कारण कहिलेकाहीं उडान समयमा नहुन सक्छ । आफुले योजना बनाए अनुरुपको उडान नहुन सक्छ । त्यसैले उडान ढिला हुनसक्ने बारे आफू पूर्वतयारी अवस्थामा बस्नुपर्दछ । विमान डिलेबारे सचेत भएर नै आफूले पूर्वयोजना बनाउनुपर्दछ । (साँघु साप्ताहिक, २०८० मंसिर ११)
 

प्रतिकृया दिनुहोस