• बुधबार-कार्तिक-७-२०८१

सेनाका दुःखसुख र विगतका चिफले गरेका कामकाज  यी हुन्

 

श्रीमान् प्रधानसेनापतिज्यू,

नेपालको इतिहासमा सकल दर्जाको सम्बोधनमा संस्थाको पद्धतिलाई कायम राखी नियम विपरीत १ दिन पनि बढी जागिर थप्ने र सिस्टम बिगार्ने मेरो कुनै योजना छैन भनि गर्नुभएको जुन सम्बोधन छ, त्यो साँच्चिकै नेपाली सेनाको इतिहासमा गर्व गर्न लायक सम्बोधनप्रति उच्च सम्मान प्रकट गर्दछौं । 


प्रधानसेनापतिज्यू, म सुदूरपश्चिमको विकट गाउँमा जन्मिएको नेपाल आमाको छोरा हुँ र हाल सुदूरपूर्वमा कार्यरत नेपाली सेनाको मेजरको जिम्मेवारी इमान्दारी र बफादारीका साथ निर्वाह गरिरहेको छु । आज मेरो मनमा केही सकारात्मक सोचहरु उब्जिएका छन् । जुन आफूले जीवन भोगाई (सैनिक जीवनमा) तल्लो दर्जा र अधिकृतबिच हुने अन्तरलाई कसरी पुलको काम गर्न सकिन्छ र जवानहरुलाई कसरी हौसला प्रदान गरी उच्च मनोबल कायम राखी संस्था र राष्ट्रको हितमा समर्पित हुनलाई आफ्नो क्षमताले भ्याएसम्म हरप्रयास गर्ने भनेर प्रयास गरिरहेको छु । 


श्रीमान प्रधानसेनापतिज्यू, 


 देशमा संकट आइलाग्दा संकटकालको समाप्तमा सेक्सन कमाण्डर र सहायक प्लाटुन कमाण्डको हैसियतमा देशको कयौं दुर्गम भूभागमा रहेर आफ्नो जिम्मेवारीबाट कति पनि विचलित नभई करिब एक दशक अगाडि जमदार दर्जाबाट अधिकृतमा प्रवेश गरेको म सुदूरपश्चिमको भूमिपुत्र हुँ । आज विभिन्न जिम्मेवारीमा रही आफ्नो कर्तव्यमा कार्यरत रहँदा नेपाली सेनामा कार्यरत चिफसाब र विभागीय जर्साबहरुको ध्यान पुग्न नसकेको केही सुधार गर्नुपर्ने कुराहरु यसै साँघु पत्रिकामार्फत हजुरहरु समक्ष प्रेषित गर्न चाहन्छु । 


प्रधानसेनापतिज्यू, 


 नेपाली सेनामा सँधै पत्रपत्रिकामा र सकलदर्जामा उठिरहने आवाज हो । जागिर अवकाश पछि पाउने पहेंलो पट्टाबापत पाउने रकम दशकौंदेखि वृद्धि भएन भन्ने जुन दशकौं देखि ४ सयमा सीमित रहँदा समयानुकूल यसलाई वृद्धि गरी भूतपूर्व सैनिकको हक र हितमा लागू गर्नको लागि कुनैपनि सेनाको नेतृत्वको ध्यान पुगेन भन्ने गुनासो रहेको पाइन्छ । हुन पनि दशकौं अगाडि ४ सय रुपैयाँबाट वृद्धि नगरिनु र भूतपूर्व सैनिकहरुलाई उपेक्षा गर्नु भनेको हाल बहालमा रहेकाहरुमाथि पनि अन्याय हो । यसलाई समयानुकूल  वृद्धि गरी ४ सयलाई कम्तीमा पनि २ हजार रुपैयाँ पु¥याई प्रत्येक आर्थिक वर्षमा १० प्रतिशतले वृद्धि गर्ने नीति लागू गरेमा यस्ता नकारात्मक समाचारले प्रश्रय पाउने थिएन होला । 


अर्काेकुरा, नेपाली सेनामा आफ्नो उर्जाशील समयलाई देश र जनतामा समर्पित भई आफ्नो सैनिक जीवनको निश्चित समय पूरा गरी बुढ्यौली उमेरमा सरकारबाट पाउने सीमित पेन्सनमा जीवन चलाउनलाई तल्लो दर्जालाई पक्कै पनि सहज छैन नै । तर, विशिष्ट श्रेणीबाट अवकाश हुने जर्सा’बहरुलाई आवश्यक २,४ जना काम गर्ने सहयोगी बाचुञ्जेल मात्रै होइन मृत्यूपछिसम्म पनि आर्मी सुसारे उपलब्ध गराउने तर सामान्य अधिकृत र सो भन्दा तलका अवकाश प्राप्त सैनिकहरुलाई भने सीमित पेन्सनको भरमा मात्र आजको यो महंगीमा जीवन चलाउन सहज हुने कुरै भएन । तसर्थ कम्तीमा पनि ६५ वर्ष पूरा भएका भूतपूर्व सैनिकलाई स्याहार सम्भारको लागि सेनाको कल्याणकारी कोषबाट केही रकम प्रदान गरेमा बेवारिसे भएका र परिवारबाट तिरस्कारमा परेका अवकाशप्राप्त वृद्ध सैनिकहरुको जीवन सहज हुने थियो कि ? 


प्रधानसेनापतिज्यू, 


  नेपाली सेनामा मुख्यतया तल्लो दर्जामा कार्यरत सैनिकहरु (राइस टु राइस) अर्थात बिहान भात र बेलुका भातको भरमा बाँच्नुपर्ने अवस्थालाई प्रधानसेनापति कटुवालले बिस्कुट र अण्डाको सुरुवात गरी जवानको भोको पेटलाई केही आहारा थप गर्नुको साथै भान्छाको सुधारको लागि अनेकौं प्रयास गर्नु भनेको त्यो समयको लागि भगवान नै सो सरह सम्झेका छन् । त्यसपश्चात प्रधानसेनापति छत्रमान गुरुङबाट अपुग ब्याटल ड्रेस, चुस्ता र बुटलाई पाउने समय घटाई समय अनुकूल जुत्ता र कपडाहरुको वृद्धि गर्नुभयो ।

 

प्रधानसेनापति गौरवशमशेर राणाबाट राशनमा डाल्डा घ्यू कटौती गरी तेलको सुरुवात गर्नुभयो । त्यसपश्चात प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट जवानको भान्सामा पाक्ने मन्सुली चामलबाट बास्मती चामलको रुपान्तरण गर्नुका साथै कल्याणकारीमार्फत प्रत्येक सैनिकलाई दर्जाअनुसार कम्तीमा पनि रु ८ सयदेखि १ हजार÷१५ सय रुपैयाँ स्याहारसम्भारमा सहजताका लागि प्रदान गर्नु पनि जवानको लागि एकदमै महत्वपूर्ण र सम्झनलायक कदम थियो । 


   त्यसपश्चात तत्कालीन सेनापति पूर्णचन्द्र थापा चिफसा’बको कार्यकालमा भएका सुधार र आवश्यक सुविधाहरु भने नेपालको इतिहासमै बिरलै हुने गर्दछन् । जस्तै विभिन्न जर्सा’ब र विभागीय प्रमुखहरुमा यी राशनलगायत विभिन्न भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई बर्खास्त गर्ने हिम्मत गर्नाले राजनीतिक वृत्तमा सेनालाई हल्का टिकाटिप्पणी गर्ने आँट पनि गर्नसक्ने कुरै भएन ।

 

अर्काे कुरा नक्कली सर्टिफिकेटधारी सैनिकलाई प्रमोशनको लागि सक्कली सर्टिफिकेट उपलब्ध गराउन नसक्नु र सेनाबाट विदाई हुनुले पनि हाम्रालाई भन्दा पनि राम्रालाई प्रोत्साहन र पुरस्कारको कार्य गर्नु र नराम्रा छवि भएका सैनिकलाई कारबाहीको दायरामा ल्याउने कदम सम्भवतः नेपाली सेनाको इतिहासमा विरलै भएको थियो । जुन कार्यले गर्दा संस्था र राष्ट्रको लागि समर्पित हरेक सैनिकको शिर उच्च भएको छ । यसमा राम्रो आचरण भएका हरेक सैनिकले तत्कालीन सेनापति पूर्णचन्द्र थापाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

 

अर्काेकुरा सेनाको अधिकांश तल्लो दर्जाको सेवाअवधि आफ्नो स्वार्थको लागि चारवर्ष थप गर्ने प्रधानसेनापति गौरव शमशेर जबरा र रथी पवनबहादुर पाण्डेका कारण हजारौं सैनिकहरुको आशा र अपेक्षा भनेको जागिरको अवधि २० वर्षबाट घटेमा राजीनामा पछि देश तथा विदेशमा गई आफ्नो परिवारको पालनपोषणको लागि सहज हुने थियो भनि गरेको अनुनय र विनयलाई सेनापति पूर्णचन्द्र चिफसा’बबाट जुन हृदयदेखि नै लिई पटक पटक सरकारको विभिन्न निकायमा आफ्नो सैनिकको हितको लागि बढाएको कदम स्वीकृत भए पश्चात आज हजारौं सैनिक उमेर छँदै सेनाबाट पेन्सनलाई लिई आफ्नो आय आर्जन वृद्धिका लागि ढोकाहरु खुला गरी कार्य गरेका छन् । 

 


यस कदमलाई आज हजारौं तल्लो दर्जाका सैनिकहरुले मुक्तकण्ठले पूर्णचन्द्र चिफसा’बको प्रशंसा गरेका छन् । त्यसपछि शान्ति सेना जानको लागि जो व्यक्ति जर्सा’बको घर काजमा अर्दली बस्छ उसले पटक पटक जाने र आफ्नो युनिटमा बस्नेले भने १ पटक जान भनि कठिन हुने पद्धतिलाई पूर्णचन्द्र चिफसा’बले जर्साबहरुले आफ्नो काम गर्ने अर्दलीलाई शान्ति सेना पठाउने कोटा कटौती गरी जेष्ठताका आधारमा आफू कार्यरत रहेको युनिटबाट शान्ति सेना लागि पठाउने कार्यले आज सबै सैनिकहरु रोलक्रमअनुसार ढुक्कसँग शान्ति मिशनमा भाग लिन पाएका छन् ।

 


  त्यस्तै समयसापेक्ष खानाको स्तर वृद्धि गर्नको लागि र गुनासा सुनुवाईको लागि सेनाको तल्लो तहसम्म सैनिक टिम बनाई हरेक युनिटमा गई सल्लाह सुझाव र सुधारका कपि गर्ने र राशनमा आवश्यक सुधार र परिमाण वृद्धि गर्ने कार्यले पूर्णचन्द्र चिफसा’बको हरेक सैनिकले प्रशंसा र हृदयदेखि नै सलाम गरेका छन् । 

–सेनानी, हाल सुदूरपश्चिम पूर्वमा कार्यरत 
(साँघु साप्ताहिक, २०८० असोज १५) 
 

प्रतिकृया दिनुहोस