काठमाडौं । राजस्व अनुसन्धान विभागले ०८० साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ब्रेक सुमा लुकाइ छिपाई ल्याइएको ६० किलो तस्करीको सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसपछि छानबिनका क्रममा पक्राउ परेका व्यक्ति, छापा मारिएका होटल, सुन पगाल्ने कारखानाबाट पत्ता लगाएपछि विभागको साख ह्वात्तै बढेको थियो । यस्तै अन्य तस्करी र राजस्व चुहावट नियन्त्रणमा विभागले सकृय भूमिका निर्वाह गर्नुपर्नेमा हाल त्यसो हुन सकिरहेको छैन । विभागले सुन तस्करीको मुख्य योजनाकार भनेर दावी गरेको राकेश अकुडियालाई भने नेपाल प्रहरीको अनुसन्धान व्यूरो (सीआइवी)ले अनुसन्धानको दायरामा नै नल्याई नेपाली र केही चिनियाँ नागरिकलाई मात्र मुद्दा दायर गरेपछि विभिन्न किसिमका आशंका जन्मिएको स्रोतले जानकारी दिएको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाले ०८० साउन २८ गते विभागका सात वटा अनुसन्धान शाखाका प्रमुखहरूलाई राजश्व चुहावट नियन्त्रणका लागि कडा उर्दी जारी गरेका थिए । अनुसन्धान शाखा प्रमुख उपसचिव र शाखा अधिकृतसहितका कर्मचारीहरूलाई राजस्व चुहावट नियन्त्रणमा विभागलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कडा निर्देशन दिएका थिए । महानिर्देशक ढुंगानाले विभागको कार्यसम्पादनमा प्रधानमन्त्रीको नाम जोडिने भएकाले राम्रो काम सरकारको लोकप्रियता बढ्नुका साथै राजस्व असुलीमा प्रभावसमेत पर्ने बताएका थिए । राजस्व चुहावट र छली नियन्त्रणमा विभागले प्रभावकारी काम गरेर देखाउनु पर्नेसमेत बताएका थिए ।
उक्त क्रममा महानिर्देशक ढुंगानाले विभागको बद्नाम हुनेगरी कोही कोहीले परिचयपत्र देखाउदै व्यापारिक फर्मको कार्यालयमा जाने गरेको सुनिएको भन्दै त्यसो नगर्न सचेत समेत गराएका थिए । छानबिनका क्रममा नातावाद, कृपावाद, तस्करीको संरक्षण, मोलाहिजा नगर्न, र इमानदार, कर्तव्यनिष्ठ र जिम्मेवार भएर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए । त्रिभुवन विमानस्थलबाट ब्रेक सु भित्र लुकाएर ल्याएको अवैध ६०.७६ किलो सुन प्रक्राउ गर्दै विभागले हङकङ, दुबई, बैंकक, सिंगापुरबाट हुँदै आएको सुन तस्करीको भण्डाफोर गर्न सफल भएको थियो । तस्करीमा चिनियाँ नागरिक, नेपालका माडवारी व्यापारी, अकुडियाहरुलगायतको मुख्य संलग्नता रहेको जानकारी बाहिर ल्याएको थियो ।
महानिर्देशक ढुंगानाले यसरी विभाग मातहतका कर्मचारीलाई निर्देशन दिएको भए पनि कार्यान्वयन हुन नसकेको पाइएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्य, पथलैयाका प्रमुख प्रेम देवकोटा र बुटवलका प्रमुख पशुपति पुरीले राजस्व चुहावट र छलि नियन्त्रण गर्नमा खासै चासो नदिएको र मालबस्तु तस्करीले निरन्तरता पाएको स्रोत बताउछ । साथै, चाडपर्व शुरु भएसँगै भन्सार नाका भन्दा बाहिरबाट आयात भइरेहेको तस्करीलाई संरक्षण गरिरहेको गुनासो बढेको छ ।
विभागबाट केही अनुसन्धान शाखा प्रमुखहरु कार्यालय अनुगमन र निरीक्षणको बहानाबाजी गर्दै पूर्व र पश्चिममका बिभिन्न जिल्लाहरुको गुनासो बाहिर आएको छ । क्षेत्रीय कार्यालयहरुको भूमिकालाई माइनस गर्नेगरी केही व्यावसायीको कारोवारबारे जानकारी लिने बहानामा धम्क्याउने र आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्न खोजेको समाचारहरु बाहिर आएका छन । जसका कारण विभागमा मात्र नभएर प्रधानमन्त्री कार्यालयसम्म यस्ता गुनासो पुगेको स्रोतले बताएको छ । जसले गर्दा महानिर्देशक ढुंगानाको निर्देशन फुस्स भएको र कार्यान्वयनमा फरकपन देखिएको विभाग स्रोतले बताएको छ । उनले ०८० असार १३ गतेदेखि विभागको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए । (साँघु साप्ताहिक, २०८० असोज ८)
प्रतिकृया दिनुहोस