• शनिबार-श्रावण-१२-२०८१

माधव र जेएनको विकल्पमा भुसाल ?

 

काठमाडौं । आउँदोमा माघमा हुन लागेको एकीकृत समाजवादीको महाधिवेशन निकै पेचिलो हुने देखिएको छ । महाधिवेशनमा अध्यक्षका लागि माधव नेपाल र झलनाथ  खनाल बिच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यो संकेत बुुझेकै कारण अध्यक्ष माधव नेपालले आफूखुसी मनोनित गर्ने र कार्याविभाजन गर्न थालेका छन् । त्यहीकारण अहिले एकीकृत समाजवादीभित्र नयाँ छलफलले पनि प्रवेश पाएको छ । खनाल र  नेपालको विकल्प तयार पार्नुपर्ने पक्षमा अभिव्यक्ति आउन थालेका छन् । एसका विभिन्न नेताहरु नेपाल र खनालको विकल्प खोज्नुपर्ने पक्षमा भएपनि उपयुक्त पात्र को हो ? भन्नेमा चाहिँ प्रष्ट भइसकेका छैनन् ।  केही नेता महासचिव घनश्याम भुसाललाई अध्यक्षमा अगाडि  सार्नुपर्ने पक्षमा देखिन थालेका छन् । 

 


तर, खनाल चुनावमै जाने चाहिँ तयारीमा रहेका छैनन् । एसभित्र चलेको चर्चा अनुसार अहिले चुनाव भएमा  नेपाल र खनालको  प्रतिस्पर्धा हुने संभावना रहेको छ । पार्टी सत्ता र सरकारसँग असन्तुुष्टलाई खनालले आफ्नो साथमा लिएका छन् । २२ वटा जनवर्गीय संगठनमध्ये अधिकांश खनालको पक्षमा लागेका छन् ।

 

जिल्ला कमिटीको अवस्था पनि त्यस्तै रहेको बताइन्छ । एसका नेताहरुको भनाइमा चुनाव हुँदा खनाल निर्वाचित हुने अवस्था आउन सक्ने परिस्थिति बन्न थालेको छ, त्यसैले नेपाल अचेल खनाललाई गाली गर्न थालेका छन् । तर, दुवै नेताबाट पार्टी नचल्ने भन्दै युवा पुस्ताको टोली भुसालको पक्षमा देखिन थालेका हुन् तर भुसालले  भने हिम्मत जुटाएका छैनन् । भुसाललाई नेपाल र खनालको विकल्पमा अध्यक्षको दावेदारी गर्न नैतिक समस्या देखिएको टिप्पणी भइरहेको छ । 

 


१० बुँदे सहमतिको पक्षधर भनेर एसभित्र भुसालको आलोचना हुने गरेको छ । चुनावपछि  आएका कारण पनि भुसालसँग एसका धेरै कार्यकर्ता खुसी छ्रैनन् । चुनावअघि एमाले छोडेलगत्तै एसमा आईदिएको भए पार्टी थ्रेसहोल्ड कटाउने थियो भन्दै भुसाललाई रोक्नुपर्ने पक्षमा पनि मत भने रहेको छ । भुसालले हिम्मत गर्ने हो भने माहोल चाहिँ अहिले  भुसालको पक्षमा  रहेको  एसका नेताहरु बताउँछन् । यद्यपि, खनाल र नेपाल बिच प्रतिस्पर्धा हुने स्थितिमा विकल्पमा भुसालको नाम महाधिवेशन हलमै आउन सक्ने पनि बताइन्छ । (साँघु साप्ताहिक, २०८० असोज ८)
 

प्रतिकृया दिनुहोस