• शनिबार-श्रावण-१२-२०८१

मालपोत विभागको डीजीको नियुक्तिमा चलखेल

 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको भूमि व्यवस्थापन तथा अभिलेख बिभागको नयाँ महानिर्देशकक लागि ठुलै रकमको चलखेल भइरहेको छ । मन्त्री रन्जिता श्रेष्ठ चौधरीले मन्त्रालयमा आवश्यकता भन्दा बढी कर्मचारी थोपरेर गाईजात्रा मात्र देखाएकी छैनन् कि विभागमा जान चाहेका सहसचिवहरुसँग व्यक्तिगत लाभको लागि आफ्नो सचिवायका कर्मचारीलाई राम्रैसँग परिचालन गर्दै आएको चर्चा छ । नापी विभागमा नयाँ महानिर्देशक खटाउँदा  लेनदेन गरेर हौसिएकी मन्त्री चौधरीले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक नियुक्तिमा सोही किसिमको कदम चाल्ने रणनीति अख्तियार गरेको बुझिएको छ ।


हाल विभागमा कार्यरत महानिर्देश पद्मप्रसाद सोती ५८ वर्ष उमेर पूरा भएर यही २०८० असोज १२ गते अनिवार्य अवकास हुँदैछन । उनको ठाउँमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा मोलमोलाई हुँदै आएको खबर छ । विभागको महानिर्देशकको लागि भरखरै भूमि आयोगबाट सहसचिव विदुर खनाललाई सरूवा गरेर मन्त्रालय भित्र्याइएको छ ।


आयोगमा भने यसअघि ५८ जना सहसचिव सरूवा हुँदा वन तथा वातावरण मन्त्रालयबाट सरूवा भई आएका सहसचिव शिव प्रसाद रेग्मीलाई खटाइएको छ । मन्त्रालयमा प्रशासन महाशाखा लामो समय खाली राखेर पनि हाजिर गर्न नदिई लखेट्न खोजिएका सहसचिव ध्रुव पण्डितलाई गरिबी  निवारण महाशाखामा थन्क्याइएको छ । उनी आगामी कार्तिक अन्तिम साता ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जाँदैछन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सरूवा भएर सो मन्त्रालयमा पुगेका सहसचिव ज्ञानराज सुवेदी अझै रमाना गएका छैनन् । सो मन्त्रालयमा कुर्सी खाली नभएकाले पनि उनले जान ढिलासुस्ती गरेको बुझिएको छ ।


मन्त्रालयमा सहसचिव पद रिक्त नहुँदै कर्मचारी सरूवाका लागि मन्त्री श्रेष्ठले सहमति दिएको कारण भाँडभैलो मच्चिएको मन्त्रालयका एक उच्च  कर्मचारीहरूले टिप्पणी गरेका छन् । यतिखेर मन्त्रालयको नेतृत्व प्रमुख मालपोत अधिकृत, अधिकृत, प्रमुख नापी अधिकृत र नापी निरीक्षकको सरूवाको चटारो व्यस्त रहेको छ । सरूवामा दररेट तोकेरै मन्त्रीको सचिवालयले मालदार र आकर्षक मालपोत र नापी कार्यालयमा कर्मचारी सरूवाको तयारी गरिरहेको छ ।


  दैनिक जस्तो सचिव गोकर्णमणि दुवाडीलाई सरूवाको नामलिष्ट मन्त्री श्रेष्ठ र उनका पति रेशम चौधरी, सचिवालयका कर्मचारीले थमाउने गरेका छन । जुन नामलिष्ट पढेर सचिव दुवाडी र प्रशासन महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद सापकोटा पनि चकित पर्न थालेको स्रोत बताउँछ । (साँघु साप्ताहिक, २०८० असोज ८)

प्रतिकृया दिनुहोस