• शनिबार-श्रावण-१२-२०८१

अपानिले माधव नेपालको दलमा विद्रोह चर्किंदै 

 

काठमाडौं । माधव नेपालको पार्टीको कन्तबिजोग परिदृश्य देखिन थालेको छ । २०८० माघमा हुने महाधिवेशनसम्मका उनको पार्टी क्षतविक्षत हुने अवस्था देखिन थालेको हो । पार्टीका नेताहरुलाई जिम्मेवारी दिने कुरामा पक्षपात गरेपछि विद्रोह सुरु भएको छ । केही नेताहरुलाई सरुवा र केहीलाई घटुवासमेत गरेको भन्दै आक्रोशित हुन थालेका छन् । २०८० भदौ २८ गते माधव नेपालले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेपछि विवाद छताछुल्ल भएको छ । यो विवाद मिलाउनका लागि असोज १ गते सचिवालय बैठक बस्ने तयारी रहेको छ ।

 

अपानि जारी भएलगत्तै देशभर नेताहरुले विद्रोह गर्न थालेका थिए । पार्टीले निर्णय गरेको विषयभन्दा बाहिर गएर अपानि जारी भएको भन्दै नेताहरु विद्रोह गर्न थालेपछि त्यो विद्रोहका नेतृत्व झलनाथ खनालले गरेका छन् । अपानि जारी भएको भोलिपल्ट नेता खनालले ‘माधव नेपालले षडयन्त्र गरेर जारी गरेको’ आरोप लगाएका थिए । अघिल्लै दिनदेखि विद्रोह सुरु भएको थियो । माधव नेपालले खनालनिकट नेताहरुलाई सरुवा र घटुवा गरेको आरोप लागेको छ । भदौ पहिलो हप्ताको केन्द्रीय कमिटी बैठकमा बोल्नेमध्ये ८० जनाभन्दा बढी नेताहरुले झलनाथ खनालको लाइन अनुसार बोलेका थिए । त्यतिबेला माधव नेपाल र झलनाथ खनालको लाइन प्रष्ट देखिने गरी राजनीति लाइन बनेको थियो ।  त्यही लाइनमा धार बन्ने नेताहरुलाई अपानि जारी गर्दा थाहै नदिई कारबाहीको रुपमा सरुवा र घटुवा गरेको आरोप लागेको छ । 

 


 सरुवा भएका नेतादेखि घटुवामा परेकासम्म माधव नेपालले रिसईबी साँधेकाहरु परेका छन् । त्यसैले अहिले यो पार्टीमा विद्रोह देखिएको छ । त्यसो त, घनश्याम भुसालसँग आएका नेताहरु भन्दै केही व्यक्तिलाई केन्द्रीय सदस्य बनाएको विषय पनि विवादमा परेको छ । भुसालसँग आएका गौतम राई जो निकै जुनियर भएको र भुसालको नेपाल अध्ययन केन्द्रको जागिरेलाई केन्द्रीय सदस्य बनाएको भन्दै विरोध भएको छ । राईलाई केन्द्रीय सदस्य बनाउँदा जनवर्गीय संगठनमा बलियोसँग काम गरेका दीपक जीएम, वसिम आलमलगायतका युवा नेताहरु छुटाइएको भन्दै अर्को विरोध भएको छ ।  उनीहरुले पार्टी छोडेको घोषणा समेत गरका छन् । मनाङका दीपक मनाङ्गेले पनि केन्द्रीय सदस्यको आश गरेका थिए । 

 


त्यसअनुसार माधव नेपालको चाकडी गरेका थिए । गण्डकी प्रदेशमा मन्त्रीसमेत हुन नपाएका दीपक मनाङ्गे केन्द्रीय सदस्य हुनकै लागि युवा संघले समानान्तर बैठक गर्दा माधव नेपाल समूहमा लागेर अर्याल होटलमा प्रमुख अतिथि नै भएका थिए । माधव नेपालका पिए नितेश पौडेलको समूहले बोलाएको त्यो बैठकमा प्रमुख अतिथि भएर नेपाल पक्षमा खरो देखिएका दीपक मनाङ्गे केन्द्रीय सदस्य मनोनित हुने २१ जनाको सूचीमा परेनन् । उनलाई केन्द्रीय परिषद् सदस्यमात्रै बनाएपछि विद्रोह गरेका छन् । त्यसपछि उनी असन्तुष्ट भएका छन् ।

 

 

त्यसैगरी, कुनै बेला युवा संघमा महेश बस्नेतविरुद्ध लडेका राजु गुरुङ लुम्बिनी प्रदेशको सचिवमा रहेका थिए तर अहिले उनी पनि पार्टी छोडेको घोषणा गरेका छन् । अपानि जारी भएपछि नै मनाङ्गेले पनि पार्टी छोड्ने निर्णय लिएका बताएका छन् । यही पार्टीको पर्यटन क्षेत्रका नेता कुमार थापा पनि पर्यटन विभाग नबस्ने बताएका छन् । उनले पार्टी नै छोडेका चाहिँ भनेका छैनन् तर प्रेम आले विभागको नेतृत्वमा आएको र उनको इञ्चार्जसीपमा नबस्ने बताएका छन् । आले प्रवृत्तिको हिजो विरोध गरेको तर आज उनकै मातहतमा नबस्ने बताएका हुन् । यता, दैलेख जिल्लाकी इञ्चार्ज सावित्री मल्ललाई भने इञ्चार्जबाट घटुवा गरेर सहइञ्चार्ज बनाइएको छ । यसले माधव नेपालमाथि गम्भीर प्रश्न उठेको छ । उनले महाधिवेशन केन्द्रित हुने गरी नेताहरुको सरुवा बढुवा र घटुवा गरेर पार्टी संगठनलाई नियन्त्रण गर्न खोजेको टिप्पणी हुन थालेको छ । 

 


 माधव नेपालको पार्टीमा पछिल्ला दिनमा पकड कमजोर भइरहेको थियो  । उनले पत्रकार सम्मेलन गर्दा वा महत्वपूर्ण भेटघाटमा आफ्नो साथमा हुने नेताहरु तथा विभागीय प्रमुख समेत पाउन छोडिसकेका थिए । केही दिनअघि सम्पादकहरुसँग भेटमा माधव नेपालको साथमा प्रचार विभागका केही नेता पनि थिएनन् किनभने उक्त विभागका नेताहरु नेपालभन्दा अन्य नेताहरुसँग निकट देखिन थालेका थिए । त्यसैले, निरीह बन्दै गएका नेपालले अपानिमार्फत शक्ति प्रदर्शन गरेको एस दलभित्र चर्चा हुन थालेको छ । तर, त्यसको प्रतिरोध सुरु भएकोले अपानि फिर्ता गर्नुपर्ने दबाब बढेको छ । यो दबाब बढ्दै गएमा माधव नेपाल र उनको दल नेकपा एकीकृत समाजवादी थप संकटमा पर्ने संभावना देखिन थालेको छ । (साँघु साप्ताहिक, २०८० असोज १)

प्रतिकृया दिनुहोस