• बुधबार-माघ-३०-२०८१

कांग्रेसमा गगन थापा किन एक्लिँदै छन् ? 

 

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध आफ्नै समूहका नेताहरु संगठित हुन थालेका छन् । शेखर कोइराला समूहका रहेका महामन्त्री थापालाई सोही समूहका सांसद तथा युवा नेताहरुले अविश्वास गर्न थालेका हुन् । सोहीकारण उनीहरुले महामन्त्री थापालाई छलफलमा समेत सहभागी गराउन छोडेको खबर छ । 


कांग्रेसभित्र तेस्रो पुस्ताका रुपमा चिनिएका नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, भुपेन्द्रजंग शाहीलगायतक दुई दर्जनभन्दा धेरै नेताहरु यो गुटमा सक्रिय रहेका छन् । उनीहरु अहिले देश दौडाहामा निस्केका छन् । प्रदेशगत रुपमा उनीहरु छलफल गर्ने क्रममा रहेका बेला नै काठमाडौंमा महामन्त्री थापाले भने काउन्टर गर्नेगरी अभिव्यक्ति दिएको भन्दै विरोध पनि गर्न थालेका छन् । सुरुमा कांग्रेसभित्र जागरण अभियान चलाउने सोचसहित आन्तरिक छलफलमा रहेका बेला गग थापाले सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवाको गतिविधि अति भएको भन्दै लेखेका थिए । त्यसले पनि ती युवा नेताहरुलाई भड्काएको थियो । 


आफूहरुको छलफल र गतिविधिलाई प्रभावित बनाउन थापाले त्यस्तो भनेको उनीहरुको बुझाइ रहेको छ । तर, त्यसपछि कान्तिपुरमा अन्तर्वार्ता दिएर थापाले नेतृत्वविरुद्ध विषवमन गर्न थालेका छन् । घिमिरे, आचार्य, शाहीलगायतका दर्जनौ नेताहरु कांग्रेस जगाउने अभियानमा लागेका बेला काठमाडौंबाट महामन्त्री थापाले कार्यकर्ता भड्काउने प्रयास अनुसार उक्त अभिव्यक्ति दिएको पनि टिप्पणी गरिरहेका छन् । 


यता गगन थापाको टीम भने देउवाको विकल्पका लागि पहिला नीति महाधिवेशन गर्ने र विशेष महाधिवेशनको बाटो खुला गर्ने सोचमा रहेका छन् । पार्टीको जनवर्गीय संगठन र विभागहरुको गठन पुनर्गठन गर्न दबाब बढाउने अनि नीति महाधिवेशन गराउनै पर्ने दबाब सिर्जना गर्ने महामन्त्री थापाहरुको प्रयास भने सभापति देउवा सुन्ने पक्षमा देखिएका छैनन । 


 देउवालाई दबाब दिनका लागि महामन्त्री थापा पक्षले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई कारबाही गर्ने अडान राखेका छन् तर देउवाले त्यसको सुनवाई गरेका छैनन । त्यसैगरी, अप्रत्यक्ष रुपमा यो प्रकरणमा नाम जोडिएकी आरजु देउवालाई पनि थप विवादित र अप्ठ्यारोमा पर्ने महामन्त्री थापा समूहको रणनीति देखिन्छ । त्यस्तै आशयका अभिव्यक्ति थापाले सार्वजनिक रुपमा दिने गरेका छन् । त्यही अभिव्यक्तिका कारण पनि थापा एक्लो पर्दै गएका छन् ।

 

मन्त्री चयनमा थापा समूहको रणनीति कमजोर बनेको छ । नेता शेखर कोइरालाले पनि सभापति देउवालाई साथ दिएका कारण थापाको रणनीति अनुसारका सांसदहरु मन्त्री हुनबाट रोकिएका थिए । अहिले देउवा समूह कमजोर बन्न थालेको बेलामा कोइराला देउवा समूहबाट आउँदो महाधिवेशनमा सभापति हुन सक्ने आंकलन पनि गर्न थालिएको छ । सोही कारण गगन थापाले अर्को बाटो बनाउने खेल पनि खेल्न खोजेको देउवा निकट स्रोत बताउछ । कतिपय छलफलमा यी दुई नेता शेखर र गगनहरु नमिल्ने गरेको पनि बताइएको छ ।


 

प्रतिकृया दिनुहोस