• मंगलबार-माघ-२९-२०८१

‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

 

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ ।

 

२४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ । यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार , माल्टामा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ । ‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्‍याप छ। गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ ।

 

कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ। सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ । बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो । ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीत भनेको छ ।

 

चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा’ बोलको गीत सार्वजनिक गरेको थियो । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

 

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन्। यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । ‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

 

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ। ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । बालेनको गीतले यो चलचित्रलाई थप प्रतिक्षित बनाएको छ ।

 

भिडियो ः

 

 

प्रतिकृया दिनुहोस