• बिहीबार-बैशाख-२०-२०८१

अस्तित्व बचाउन ‘अस्तित्व’ कै सहारा 

 

नेपाली साहित्यमा छोटा विधाको प्रयोग बढ्दै गएको छ । जापानी भाषामा प्राकृतिक सौन्दर्यका लागि लेखिने हाइकु विधा नेपाली साहित्यमा अहिले स्थापित भइसकेको छ । सुरुमा हाइकु लेख्नेहरूलाई ‘अर्थ न बर्थका लेखक’ भन्नेहरूले अहिले आफै हाइकु लेख्न थालेका छन् । यो एउटा सकारात्मक पाटो हो, नेपाली साहित्यका लागि नौलो पनि । 


पछिल्लो समय उसैगरी थपिएको छ–बाछिटा । अमर त्यागीले यो विधाको प्रवद्र्धन गर्दैगर्दा कलानिधि दाहालले ‘यस्तो पनि साहित्य हुन्छ ?’ भनेर विरोध गरे । शालिन स्वभावका त्यागीले खरो स्वभावका दाहाललाई गाल्नका लागि अरु केही भनेनन्–सबैलाई समान आँखाले हेर्न सुझाए । त्यागीको त्यही विचारको प्रभाव र महत्वबारे ज्ञान लिए र दाहाल आफै ‘बाछिटा’ लेखनमा होमिए । 


अमर त्यागीको यो अभियानमा साथ दिए खगेन्द्र बस्यालले । त्यागीको चाहना थियो नयाँ विधामा केही योगदान गर्न सकियोस् । उनी लामो समयदेखि बाछिटाको लेखन र अनुसन्धानमा थिए । बाछिटाका तीन कृति प्रकाशित गरेपछि उनले अरुलाई पनि जोड्न खोजे । परिणाम एकै पटक ६ वटा बाछिटाका फरक लेखकका कृति सार्वजनिक भए । 


साहित्य प्रकृतिसँग नजिक हुन्छ । प्रतीकात्मक अभिव्यक्ति साहित्यको सौन्दर्य हो । बाछिटाले पनि यो मन्त्रलाई अंगालेको छ । यसको पहिलो पङ्क्तिले विषयको सूक्ष्म उठान गर्छ । दोस्रो पङ्क्तिले उठान गरिएको विषयको उत्कर्ष दिन्छ र अन्तिम पङ्क्तिले अर्थबोधलाई प्रष्ट पार्छ । यो बाछिटाको संरचनागत मान्यता हो । 


नवीन शैलीको निर्माण गर्न नवीन प्रयोशालाको आवश्यकता पर्छ । झट्ट हेर्दा हाइकु हो कि जस्तो लागेपनि यो विधा हाइकु भन्दा फरक छ । हाइकुमा लेखिएको पाँच सात पाँचको नियम भन्दा यो फरक छ । बाछिटा तीन पाँच तीन नियमको परिपालना गरेर लेखिन्छ । यो नेपाली साहित्यको नवीन उपविधा पनि हो । नवीन विधा भएपनि यसको लेखनमा कलाकारिता चाहिने त्यागीको धारणा छ ।


दाहाल मूलतः कवि हुन् । पूर्व प्राज्ञ डा. देवी नेपालको शब्द सापटी लिने हो भने– ‘दाहालका कविताले शिखर चुमेका छन् । आख्यानले पहाड फोरेको छ र निबन्धले तराईका फाँटमा तार्किक अनुभूतिको चित्र कोरेका छन् । उनै शिल्पी दाहालले बाछिटामा हात हालेर बगरमा बयरको स्वस्थ विरुवा रोपेको बताएका छन् ।’


एघार अक्षरमा संरचित विद्युतीय झट्का नै बाछिटाको शक्ति हो । यो विषयलाई आफूले बुझेपछि बाछिटा पनि साहित्यको विधा हुन्छ भन्ने प्रश्नको उत्तर आफैभित्र भेटेको दाहालले स्वीकारेका छन् । यही स्वीकारोक्तिको परिणाम ‘अस्तित्व’ बाछिटा सङ्ग्रह हो । 


यो सङग्रहमा दाहालका चार सय बाछिटा सङ्ग्रहित रहेका छन् । हरेक बाछिटामा एक महाकाव्यको शक्ति हुने भन्दै प्राज्ञ नेपालले भेद खोलेपछि बाछिटा केही हो भन्ने आभाष भएको छ । सानो स्वरूपको संरचनामा अनुभूतिको सघनता त्यतिनै प्रवल हुन्छ । यसले पाठकको मन र मस्तिष्कमा तरंग पैदा गर्छ । साहित्यको शक्ति र सामथ्र्य यही हो ।


प्रकृति, मानव र श्रमको मूल्य कसरी व्यवस्थापन गर्न लेखनमा तार्किक क्षमता र बौद्धिकता हुनुपर्छ । बोक्रे बौद्धिकताले पाठकको समयको मात्र नास गर्छ भन्ने मान्यता दाहालमा रहेको देखिन्छ । कोलाहल बन्दै गएको शहर र रित्तिदै गएको गाउँले मानसपटलमा दिएको चक्कर बाछिटा बनेको छ । भावसौन्दर्य र शब्दसौन्दर्यका हिसाबले बाछिटा प्रयुक्त र सशक्त देखिन्छ ।


सिर्जनामा कल्पना, विचार र शिल्प तीनवटा विषय महत्वपूर्ण हुन्छन् । यी तीनको संयोजन गर्नका लागि चेतना, आत्मविश्वास, परिवेशको ज्ञान र उच्च विषयबस्तुको आवश्यकता पर्दछ । यो संयोजन कला दाहालमा सशक्त छ । साहित्यलाई केलाएर, निफनेर वा चालेर कसरी शुद्ध पार्न सकिन्छ भन्ने चेतना यिनको लेखनमा छ । यो बौद्धिकतामात्र होइन्, साधनाले ल्याएको निखारता पनि हो । 


चैतन्यका हिसाबले समाज यिनको विषय नै हो । कक्षामा हरेक विद्यार्थीको मस्तिष्कको मापन गरेका उनले कसको स्मरणशक्ति र भारवहन क्षमता कति छ भन्ने नापेका थिए । यसले समाजलाई के चाहिन्छ र मैले के दिनुपर्छ भन्ने ज्ञान बढाएको देखिन्छ । यो आफैमा गुरुको पनि गुरु हो ।


भावनाका हिसाबले कुन विषयले कसरी प्रकाश दिन्छ भन्ने नवीनतम् सोच छ । यो सोचले आन्तरिक शक्तिलाई उजागर गर्दै सतहमा बगाउने काम गर्छ । पानीले सिंचित भएको जमिनको माटो नरममात्र होइन मलिलो पनि हुन्छ । यो ज्ञान र त्यसको प्रवाहको विशालता बोकेर दाहालका रचना मौलाएका छन् । 


‘अस्तित्व’ बाछिटा सम्बन्धि उनको नवीनतम् विधाको कृति हो । कविता र निबन्धको उचाइ बाछिटामा कायम रहन्छ रहँदैन, त्यो अहिले नै भन्न सकिंदैन । कि उपन्यास लेखनको रहर जस्तै हराएर जाने हो ? त्यसको जिम्मा पाठकको हुनेछ । एउटै फलामको पाता काटेर बनाएको हतियारमा पनि पाइन अनुसारको कटान क्षमता हुन्छ । 


‘अब्बल 
चेतना शक्ति
सबल’


कथन जस्तै कृति सफलहोस्, शुभकामना गुरु बा !

प्रतिकृया दिनुहोस