• बुधबार-बैशाख-१२-२०८१

घर फर्किने लालसामा सपनाको भोक

 

घर बासस्थान मात्र होइन, देश र माटो पनि हो । यसै कारण हरेका मानिससँग वतन जोडिएको हुन्छ । हामीले बुझ्ने घर भनेको सुरक्षाले भरिएको परिवार हो । मान्छे, चरा, जीवजन्तु हरेकले आफ्नो वासस्थान बनाउँछन् । मानिसहरू काम विशेषले अन्यत्र गएपनि साँझमा फर्किन्छन्् आफ्नै घर । चराहरू फर्किन्छन्् बचेरा संझिएर गुँडमा ।


‘घर फर्किने तिर्खा’मा विष्णु आचार्य परदेशमा भएका नेपालीले भोग्नु परेको पीडाको चित्रण गर्छन् कवितामार्फत । हरेक मानिस सहज जीवन यापनको लागि सुविधा खोज्छ । सुविधाको खोजीमा मान्छेले संघर्षका अनेक कठिनाइ भोग्नुपर्छ । धनको लोभमा परदेश गएको मान्छे हण्डर खाएर रित्तो हात फर्कन्छ । परदेश पुगेको मानिस एउटा गमलामा रोपिएको कागती जस्तै हो । ऊ कहिल्यै पनि स्वतन्त्र फैलिन र जमिनमा जरा फैलाउन सक्दैन । 


परदेशमा दुःख गर्दा निचोरिनु पर्छ कागती नै भएर । श्रमको अमिलो स्वाद चाखेका मालिकहरूले वचनको हतियारले चिरा पारेर काट्ने र निचोर्ने गर्छन् । यो सबै सहनु छ परदेशमा । र, त हतारो गर्छन् आफ्नै आँगन टेक्नका लागि सपना बेच्न परदेश गएको मान्छेहरू ।


समाजमा देखिएका अराजक मान्छेका कारण हराउँदै गएको विश्वास फर्काउन प्रयास गर्नुपर्ने छ । तर, अराजकताले मातिएको मान्छेलाई नथ्थी लगाएर खैँचन सक्ने कुनै युगपुरुष नेताको जन्म नभएको देखेर उनी आत्तिएका छन् । मान्छेमा शालीनता र बौद्धिकता हरायो भने त्यो राष्ट्र अराजक हुन सक्छ । यो चिन्ता आजको समय र समाजका लागि एउटा चुनौती पनि हो ।
नदीको वेग रोकियो भने मृत्यु मिल्छ, मोती मिल्दैन । तसर्थ समय र नदीलाई बगिरहन दिनुपर्छ । घडीलाई होइन हातमा समयलाई बाँध्नु पर्छ । पीडाहरू मूर्ति जस्तै हुन्, उनीहरूले केही गर्दैनन् चुपचाप मूर्ति बन्न अभिप्रेरित गरिरहन्छन् । खेलौना बन्दुक समाएर रमाउने हातमा वास्तविक बन्दुक समाएर कमाउने जमात बढिरहेको छ । 


मान्छे सघर्ष गरेर पनि पानी, गोडमेल र औषधि समयमा नपाए झैं बैँसमा मुर्झाएको छ । सहर पस्ने चेतनाले अधमरो भएको छ । अहिले द्रोणाचलबाट सञ्जीवनी ल्याउन सक्ने हनुमान छैनन् । यी सबै तिरबाट वाक्क भएर आफ्नै मृत्युको श्रद्धाञ्जली दिन उदत्त भएको छ मान्छे । नदीले निरन्तर आफैंसँग ढुंगो, माटोलाई बगाएर लगेपनि ठुला ढुंगा जस्तै अडिक राखेको छ दुःखलाई । हरेक अभाव सहनु पनि ढुंगो हुनु नै हो ।


एउटा पुरुषले चौडा बनाएको छातीमा छोराले खेल मैदान बनाउँछ । श्रीमतीले बिस्कुन सुकाउँछिन् । तर उसको दुःख घटेर जाँदैन ।


दलको कार्यक्रममा एक निम्तोमा आएका व्यक्तिले एकै पटक श्रम गर्ने हो भने फेरिन्थ्यो देशको मुहार । भाषणमा मात्र रमाएका हामीले आफ्नो देशको श्रमलाई कहिल्यै मुल्यवान बनाउन सकेनौँ । यही गुनासो छ कविको । देशको मूल नीति राजनीति विकृत बन्दै गएको छ । भोट माग्न आउने नेतालाई सक्छौ भने मलाई भुल्याउनु । नत्र दान दक्षिणाको कुरा गर्नु । सोल्मारी पियाउनु र सुकुटी टोकाउनु ।


यति गर्न सकेनौँ भने अर्कैलाई भोट हालिन्छ । सक्छौं भने मेरो गिदी भुट्नतिर लाग, आऊ मसँग भोट माग । भन्दै व्यवस्था सुधारमा ध्यान नदिएका कारण देश समस्यामा पर्दै गएको देखाइएको छ । हामी वीरबाट बिस्तारै तल झर्दैछौँ । हामीलाई जसरी पढाइयो इतिहासको गाथा । अव हामीले छोरा नातीलाई सुनाउनका लागि बाँकी नरहने भइसकेको छ, बहादुरीको किस्सा ।
यस कृतिमा मध्यम खाले ४९ कविता रहेका छन्् । सबै कविताको अभिप्राय भनेको संघर्षको मैदानमा सिकेको अनुभव उजागर गर्ने रहेको छ । आफ्नो घरको सबै कुरा अर्काको भयो भने सुनको बालाको के अर्थ रहन्छन् र भनेर माटो र देश प्रेमको चिन्ता व्यक्त गरिएको छ । चन्द्रमा टेक्दैमा धर्तीलाई नबिर्सनु । आकास छोएर पनि वृक्षका हाँगाहरूले भुइँमा नै जरा फैलाइरहेका हुन्छन् । 


बाँच्नका लागि आशा जरुरी छ । हुरीले बल्दै गरेको दियो निभाइदिन्छ । हावाले निभ्न लागेको राँको जगाइदिन्छ । कविताले ऊर्जा र सचेतना दुवै छर्छ । सलेदो बल्न तेल चाहिन्छ । अझ धेरै समय बाल्नका लागि निरन्तर तेल थपिरहनु पर्छ, आचार्यले यो अभ्यास निरन्तर गरिरहेका छन् । 

 

गफ चुट्न छोड ‘शहीद सप्ताहको’
म कुनै बेला बुद्धु भएर मरे होला
अव बुद्धिमान भएर बाँच्न चाहन्छु ।
(एक शहीदको विज्ञप्ती)

 

काँडा कहिले सोला बनेर पैताला चस्काउँछ
कहिले काँडै भएर गढेको काँडा निकाल्छ ।  
तसर्थ काँडा रक्षक हो 
काँडा भक्षक हो ।
 (काँडादेखि सावधान)
 

प्रतिकृया दिनुहोस