• बुधबार-बैशाख-१२-२०८१

चिलको आँखामात्रै होइन, पञ्जा पनि बलियो हुन्छ   

 

धुलौटो खेल्दैमा वित्यो बाल्यकाल । खेतका गरा, बारीका काल्ला र फराकिलो चौर नै संसार थियो त्यो वेला । घरको नजिकमा विद्यालय थिएन । मैदान टोल हुँदै सुविधाको खोजीमा परिवार सेरा फाँटमा बसाइँ सर्‍यो । त्यहाँ नजिकै एउटा पुरानो दरवार थियो । जाडो छल्नका लागि राजपरिवारका सदस्य बसुन्धरा वीरविक्रम शाहको परिवार नुवाकोट पुग्थ्यो । उनीहरूको आवतजावत नियमित नभए पनि पातलो रूपमा सेरामा भइरहन्थ्यो ।


जुद्ध शमशेरकालीन दरवारमा राजपरिवारका सदस्यको अल्पकालीन बसाइ हुन्थ्यो । ग्रामीण परिवेशमा शिक्षाको महत्व खासै थिएन । उमेर पुगेकाहरू गोठालो जान्थें । ससाना नानीहरू बाटोमा धुलो खेलिरहेका भेटिन्थे । नानीहरू धुलोमा खेलेको देखेर तत्कालीन राजपरिवार सदस्य हेलेन शाहले सेरामा स्कुल स्थापना गरिदिइन । पढ्न चाहनेहरूका लागि विद्यालयको ढोका खुल्यो । त्यही स्कुलमा कक्षा तीनसम्मको अध्ययन गरे आर. एम. डंगोलले । 


त्यसपछि दरवार परिषरमा रहेको भैरवी माध्यमिक हुँदै माझीटारको च्वाडी माध्यमिक विद्यालयबाट २०४३ सालमा प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरे र उच्च शिक्षाका लागि काठमाडौं हानिए । 


त्रिचन्द्रबाट आइएसी, महेन्द्र रत्न ताहाचलबाट विएड र फेरि त्रिचन्द्रको बिहानी सत्रबाट स्नातकोत्तरको अध्ययन पूरा गरे । त्रिविबाट दर्शनाचार्यमा एमफिल गरे । स्नातकोत्तरको पढाइसँगै विभिन्न विद्यालयमा पढाउन थाले । जीवन निर्वाहका लागि यो क्रमले निरन्तरता पायो । २०६५ सालमा त्रिभुवन विश्व विद्यालयले लिएको उपप्राध्यापकको परीक्षामा छनोट भइ त्रिवि सेवा प्रवेश गरे । 


जीवनले अभिलाषा स्वच्छ, नदीको प्रवाह जस्तै निरन्तर । २०४५ सालदेखि रहरै रहरमा लेख्न थालेको साहित्यले मूर्त रूप लियो । विद्यालय तहबाट सिक्दै आएको ज्ञान तिखारिदै आयो । तत्कालीन समयमा कविका रूपमा स्थापित बनेका श्रवण मुकारुङ, भीष्म उप्रेती र विप्लव ढकालसँगको सामिप्यताले फैलिन र मौलाउन सहजता थपियो । त्यो आत्मियता निकटतामा मात्र सीमित रहेन । त्यसले एउटा उचाइ निर्धारण गर्नका लागि साहस र ऊर्जा बढायो ।


बिस्तारै साहित्यको क्षेत्रफल बढ्दै गयो । रासा, गोवद्र्धन पूजा, रोशन थापा ‘निरव’, गगनदीप सर्ग, कृसु क्षेत्री आदिसँगको सामिप्यता र छलफलले कविता लेखनमा उत्साह थप्यो र सक्रियता बढायो । आज बलियो भएको धरातल त्यसैको प्राप्ति हो । युवा पुस्तामा चिनिएका कविहरू आर.एम. डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टङ्क उप्रेती, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनी सात कवि मिलेर ‘यतैकतै’ कविता सङ्ग्रह प्रकाशित भयो । यसले कविताको वहाव र उचाइ नाप्नका लागि सहयोग ग¥यो ।


सिर्जना सौन्दर्यका हिसाबले डंगोलको मुख्य विधा कविता हो । धेरैले उनलाई कविको रूपमा चिन्छन् । उनी पनि कविकै रूपमा चिनिन चाहन्छन् । यसको अर्थ उनको निकटता अरु विधासँग छँदैछैन भन्ने होइन । समीक्षा र समालोचनाका क्षेत्रमा उनको लेखन आफैमा राजमार्ग हो । कहिलेकहीँ थाहै नदिइ त्यो राजमार्गबाट फुत्त निस्किने निबन्धले धेरैलाई आश्चर्यमा पार्छ । शब्द बुनोट र विषय छनोटका दृष्टिले लेखको स्वरूप फरक हुन्छ । मास्टरले बोर्डमा लेखेका शब्दहरू मेटेपनि कालो दाग बाँकी रहन्छ । पाठकको मनको अन्तर कुनामा उसैगरी बस्छन् उनका शब्दहरू । 


हरेकको आफ्नै लेखकीय दृष्टि, शैली हुन्छ । चिलको आँखामात्र होइन पञ्जा पनि कसिलो हुन्छ । तब न उसले समुन्द्रबाट माछा, जमिनबाट मुसा र जंगलबाट खरायोलाई सजिलै आफ्नो काबुमा राख्न सक्छ । साहित्यको दृष्टि पनि त्यस्तै हो । यो लेखकीय मन मात्र होइन, चिन्तन र साधना पनि हो । फरक के हो भने एउटै हाँगामा पनि कुनै फल अमिला र कुनै गुलिया हुन्छन् । कुन टिप्ने र कुन छोड्ने भन्ने रोजाइ लेखकमा भर पर्छ । 


पहिलो रचनालाई अहिलेका प्राज्ञ विमल निभाले गरिमामा छाप्न सिफारिस गरेका थिए । उनको ‘अन्तर’ शीर्षकको कविता २०४७ मा साहित्य आकाशको एउटा छुट्टै बिम्व बोकेको पत्रिका गरिमाले छापेको थियो । प्रकाशनको विधिवत सुरुवात यही हो । त्यही वर्ष मधुपर्कको आँकुरामा ‘मुटुको इज्जत जोगाउनै गाह्रो परिरहेछ’ले स्थान पायो । अहो ! साहित्यका अब्बल पत्रिकामा रचना छापिनुको खुसी आकासको उडानभन्दा धेरै माथि हुन्छ, नयाँ स्रष्टाहरूका लागि । 


साहित्य लेखनको साथसाथै सम्पादनमा पनि उनले योगदान गरे । क्याम्पस पढ्दादेखि नै सम्पादनमा लागे । साहित्य प्रधान पत्रिका ‘शब्द संयोजन’, महेन्द्र रत्न क्याम्पस ताहाचलबाट प्रकाशित हुने ‘संयोजन’मा सम्पादकको भूमिका निर्वाह गरे । कपन साहित्यले प्रकाशन गर्ने ‘कपन दर्पण’ र ‘कविता क्यालेण्डर’, त्रिवि केन्द्रीय विभागले प्रकाशन गर्ने ‘वाङ्मय’ र प्रगतिशील लेखक संघले प्रकाशन गर्ने ‘प्रलेस’को सम्पादन गरिरहेका छन् । यसको अलवा नव कविता पत्रिकाको प्रगतिशील कवि र कविताको विशेष अङ्कको सम्पादनको जिम्मा पनि उनकै काँधमा आयो । स्तम्भकारको रूपमा उनले दृष्टि, बुधबारलगायतका पत्रिकामा आफ्ना विचार लेखेका छन् । 


वीरगञ्ज साहित्य परिषद्द्वारा आयोजित राष्ट्रिय कवितामा प्रथम, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा तृतीय स्थान हासिल गरेका छन् । नागार्जुन वार्षिक रचना पुरस्कार, राष्ट्रिय युवा वर्ष मोती पुरस्कार, अलिमियाँ वाङ्मय प्रतिभा सम्मान, डागर स्मृति पुरस्कार आदि प्राप्त गरे । साहित्यिकलाई जीवनको मार्ग दर्शन मानेका उनले विभिन्न साहित्यिक संस्थाको जिम्मेवारी र नेतृत्व लिएका छन् ।  


‘राशिफल हेरिरहेको मान्छे’ कविता सङ्ग्रह २०५७, ‘दशगजावारि’ २०६३, ‘१४ वर्षपछि’ संयुक्त कविता सङ्ग्रह २०७१ र ‘यतैकतै’ संयुक्त कविता सङ्ग्रह प्रकाशित छन् । 
साहित्य नदीको प्रवाह जस्तै निरन्तर र वेगवान हुन्छ । यसैमा समाहित भएर बग्नु किनारा चुम्न आउने सबैको कर्तव्य हो । आफूले सिकेको ज्ञान किताबमा दिएका सूत्रहरूभन्दा धेरै लाभदायी हुन्छन् । ती आफै सिद्ध हुन्छन, प्रमाणित गर्नु पर्दैन । 

प्रतिकृया दिनुहोस